नेपाली कांग्रेसले समायोजन टुंग्याउन नसकेका जिल्लामा केन्द्रबाटै प्रतिनिधि खटाउने भएको छ।
साविककै कार्यसमितिलाई संघीय ढाँचाअनुसार विभिन्न तहमा समायोजन गर्ने भनिए पनि ५२ जिल्लामा समायोजन सकिएको छैन।
कांग्रेसले गत साउनमा केन्द्रीय समितिबाट समायोजन निर्देशिका ल्याएको थियो। उक्त निर्देशिकाले कात्तिकभित्र सबै तहमा समायोजन गरिसक्न निर्देशन दिएको थियो।
समायोजन सक्न दिएको निर्देशनअनुसार जिल्लाहरूमा काम नभएपछि केन्द्रबाटै प्रतिनिधि खटाउन लागिएको हो।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेसम्म २५ जिल्लामा समायोजनका काम सकिएको जानकारी दिए।
‘अब केन्द्रबाटै प्रतिनिधि पठाएर समायोजनका काम टुंग्याउँछौं,’ शर्माले सेतोपाटीसँग भने, ‘केन्द्रीय समितिले फागुन १५ भित्र समायोजनका सबै काम सक्न निर्देशन दिइसकेको छ।’
कांग्रेस विधानअनुसार पार्टीमा बुथदेखि केन्द्रसम्म आठ तहमा संरचना छ। केन्द्र, जिल्ला, क्षेत्र र नगर/गाविसमा कार्यसमिति छन्। ती कार्यसमितिलाई संघीय संरचनाअनुसार संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका र वडाहरूमा समायोजन गर्नुपर्नेछ।
देश संघीय संरचनामा गएको लामो समय भइसक्दा पनि कांग्रेसमा पुरानै संरचनाअनुसार कार्यसमिति छ। कांग्रेसले अझै सात प्रदेशमा कार्यसमिति गठन गरेको छैन। सात सय ५३ स्थानीय तह र तीन सय ३० प्रदेशसभा क्षेत्रमध्ये अधिकांशमा कांग्रेसको कार्यसमिति छैन।
समायोजन निर्देशिका पारित गर्दै कांग्रेसले भदौ २० गतेभित्र प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय कार्यसमिति बनाइसक्ने बताएको थियो। यस्तै कात्तिकभित्र सबै कार्यसमिति समायोजन सक्ने निर्णय भए पनि त्यसपछि थपिएका तीन महिनामा समायोजनका काम सकिएका छैनन्।
कांग्रेसले निर्वाचनमार्फत् सबै कार्यसमिति बनाउन समस्या हुने निष्कर्ष निकालेर समायोजनका लागि छुट्टै निर्देशिका बनाएर पुरानै कार्यसमितिबाट नयाँ संरचनाअनुसार कार्यसमिति बनाउने बताएको थियो।
समायोजनका काम पूरा नहुँदा १४ औं महाधिवेशनको तयारीका लागि पार्टीले गर्नुपर्ने काम पनि पछि धकलिएको छ। अधिवेशन सुरू गर्नुअघि क्रियाशील सदस्यता वितरण कार्य सकिसक्नुपर्ने हुन्छ।
‘अब ढिला नगरी समायोजनको काम फटाफट गर्छौं,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीसँग भने, ‘समायोजन नसक्ने जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट आवश्यक सहयोग गरिन्छ।’
पौडेलका अनुसार समायोजनका काम नसकिँदा १४ औं अधिवेशन र मातहत निकायमा अधिवेशन गर्न माघ १३ गते केन्द्रीय समितिबाट पारित कार्यतालिकासमेत परिमार्जन गर्नुपरेको छ।
बुधबार बसेको केन्द्रीय समितिले समायोजन र क्रियाशील सदस्य सम्बन्धी कार्यतालिका परिमार्जन गरेको उनले बताए। ‘अब १५ दिनभित्र समायोजन सक्ने गरी काम गर्छौं,’ पौडेलले भने, ‘समायोजन जति ढिला हुन्छ त्यसले अधिवेशन र महाधिवेशन समयमै गर्न समस्या निम्त्याउँछ।’
कांग्रेसले गत पुस ११ गते १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको थियो। दशैंलगत्तै जिल्लाहरूको अधिवेशन गरेर अर्को वर्ष फागुन ७ देखि १० सम्म १४ औं महाधिवेशन गर्ने कांग्रेसको तयारी छ।
उपसभापति विजयकुमार गच्छदार समुहका नेता/कार्यकर्ता समायोजन गर्ने चुनौती पनि कांग्रेसमा बाँकी नै छ। गच्छदार समुहलाई ११ केन्द्रीय समिति सदस्य दिने भने पनि अहिलेसम्म गच्छदारले नाम दिन सकेका छैनन्।