नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ (अजयसिंह बिष्ट) सँग भेटेका छन्।
समृद्धिका लागि दोस्रो नेपाल–भारत द्विपक्षीय सम्मेलनमा भाग लिन पुगेका कोइराला र रिजाललाई उत्तरप्रदेशस्थित एक होटलमा मुख्यमन्त्री आदित्यनाथले बिहीबार भेटेका हुन्।
इन्डिया फाउन्डेशन दिल्ली, नेपाल–भारत चेम्बर अफ कमर्स तथा इन्डष्ट्री काठमाडौं र नीति अनुसन्धान प्रतिष्ठान नेपालले संयुक्त रूपमा बुधबार र बिहीबार सम्मेलन गरेको थियो। उक्त सम्मेलनमा नेपालबाट कोइराला र रिजाललगायत पुगेका थिए।
आयोजकले सम्मेलन समापन समारोहमा नेपालबाट महामन्त्री कोइराला र उत्तरप्रदेशबाट मुख्यमन्त्री आदित्यनाथलाई बोल्न समय दिएको थियो। सम्मेलन समापन समारोह सुरू हुनु पहिले आदित्यनाथले कोइराला र रिजालसँग भेटेर कुराकानी गरेका हुन्।
मुख्यमन्त्री आदित्यनाथसँग आफूहरूको कुराकानी भएको रिजालले सेतोपाटीलाई बताए। आदित्यनाथले कोइराला र रिजाललाई दोसल्ला लगाएर स्वागत गरे। रिजालका अनुसार मुख्यमन्त्री आदित्यनाथले ‘प्रयाक’ कुम्भ मेलाबारे लेखिएको पुस्तक पनि उपहार दिएका छन्।
‘उपहारमा पाएको कितावभित्र के छ, खोलेर हेरेको पनि छैन,’ रिजालले शुक्रबार सेतोपाटीसँग भने। कोइराला र रिजाल आज नेपालगञ्ज हुँदै काठमाडौं आउँदै छन्।
मुख्यमन्त्री आदित्यनाथसँग राजनीतिकलगायत अन्य कुराकानी के भएको थियो भन्नेबारे रिजालले खुलाउन चाहेनन्।
आदित्यनाथ भारतीय जनता पार्टी (भाजपा)का नेता हुन्। उनी राजनीतिमा लाग्नुअघि उत्तरप्रदेशकै गोरखनाथ मन्दिरका पुजारी थिए। आदित्यनाथले उपहार पनि धर्मसँगै जोडिएको प्रयाकमेलाकै दिएका छन्।
महामन्त्री कोइराला बेलाबेला धर्म निरपेक्षताका लागि जनमत संग्रह गर्नुपर्ने बताएर विवादमा पर्ने गरेका छन्। विवादमा परेपछि आफूले धार्मिक स्वतन्त्रताका कुरा उठाउने गरेको कोइरालाले प्रष्टिकरण दिने गरेका छन्।