गण्डकी प्रदेश सरकार स्थापना भएको २ वर्ष पूरा हुँदैछ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन ४ गते सपथ ग्रहणपश्चात प्रदेश सरकार गठन भएको थियो।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धि भनेर शुक्रबार ३० वटा बुँदा सार्वजनिक गरेका छन्।
मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको बुँदामा अघिल्लो आर्थिक वर्षमा निर्णय भएको प्रदेशको राजधानी र नाम तोक्न सफल भएको विषय एक नम्बरमा राखेको छ।
प्रदेश सभाले २०७५ असार १८ गते प्रदेशको राजधानी पोखरा तोकेको थियो भने सोही वर्ष असार २२ गते प्रदेशको नाम गण्डकी राखेको थियो।
उपलब्धिको दोस्रो बुँदामा प्रदेशले दुई वर्षको अवधिमा ३२ वटा कानुन बनाएको, ६ वटा नियमावली र २ वटा गठन आदेश स्वीकृत भएको उल्लेख छ।
उपलब्धिको दसौं बुँदामा प्रदेशले खानी तथा खनिज, पर्वतारोहण, विद्युत, वन र जलस्रोत बापत २८ करोड ५८ लाख ८९ हजार रोयल्टी प्राप्त गरेको उल्लेख छ।
उपलब्धिका अन्तिम बुँदामा भने नवलपुरको धौबादीमा फलाम कम्पनी सञ्चालन गर्न प्रदेशलाई ३ प्रतिशत शेयर बापत १२ करोड लगानी गरेको र संघीय सरकारलाई गण्डकी प्रदेशको शेयर १५ प्रतिशत पुर्याएर ६० करोड शेयर लगानीका लागि नेपाल सरकारलाई अनुरोध गरेको उल्लेख छ।
हेर्नुस्, गण्डकी प्रदेशले सार्वजनिक गरेको ३० बुँदे उपलब्धि