सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारी बिहीबार बिहानैदेखि बेचैन थिए।
मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न हरेक बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्थे। उक्त पत्रकार सम्मेलनमा सबै मन्त्रालयका प्रवक्ता आउनै पर्थ्यो। तिवारीको मन्त्रालयभित्रै पत्रकार सम्मेलन हुने भएपछि उनको व्यस्तता बढ्ने नै भयो।
अरू दिन मन्त्री बाँस्कोटाले बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै दिउँसो हुने पत्रकार सम्मेलनको निम्तो दिन्थे।
पत्रकार सम्मेलनमा उनी मन्त्रिपरिषद्का निर्णयमात्र सुनाउँदैनथे, समसामयिक विषयवस्तुबारे सवालजवाफ पनि गर्थे। सरकारको बचाउमा उनले गर्ने तीखा र चोटिला टिप्पणीको सामाजिक सञ्जाल चर्चा हुन्थ्यो। उनले प्रयोग गरेको ‘हेप्नी’ शब्द पछिल्लो समय लगभग सबैका मुखमा झुन्डिएको छ।
बिहीबार कार्यालय समय सुरू भइसक्दा पनि मन्त्री बाँस्कोटा मन्त्रालयमा झुल्किएका थिएनन्।
बरू सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा उनले ७० करोड रुपैयाँ कमिसन मागेको अडिओ टेप अनलाइन पत्रिका र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति थियो। कतिले उनको राजीनामा मागेका थिए। केही उनले भ्रष्टाचार नगरेको भन्दै बचाउ गरिरहेका थिए।
पश्चिमी वायुको प्रभावले केही दिनदेखि राम्ररी घाम लाग्न नसकेको चिसो काठमाडौंमा राजनीतिक माहौल तातेका बेला मन्त्री बाँस्कोटा भने सुदूरपश्चिमको कञ्चनपुरमा नेता तथा कार्यकर्तालाई सम्बोधन गरिरहेका थिए।
बिहानसम्म आफूमाथि लागेको आरोपलाई उनले हल्काफुल्का रूपमा लिएको देखिन्थ्यो।
सेतोपाटीसँग कुरा गर्दै बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको र नखाएको विष नलाग्ने प्रतिक्रिया दिए। उनले भने, ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्।’
उनले बाँकी कुरा दिउँसो तीन बजे हुने पत्रकार सम्मेलनमै भन्ने बताए।
बेलडाँडी गाउँपालिकामा नेकपा कार्यकर्तालाई सम्बोधन गर्दै बाँस्कोटाले आफूविरूद्ध राजनीतिक रङ हालेर अफवाह फैलाएको आरोप लगाए।
त्यहाँ भने उनको बोली फेरिएको थियो।
‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,’ उनले भने।
कञ्चनपुरको कार्यक्रम सकेर मन्त्री बाँस्कोटा गाडी चढेर कैलालीको गेटा विमानस्थलमा आए।
त्यतिञ्जेल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा बाँस्कोटाबारे छलफल भइसकेको थियो। स्रोतका अनुसार उक्त छलफलमा प्रचण्डले बाँस्कोटालाई राजीनामा दिन लगाउनु पर्ने बताएका थिए। ओलीले बाँस्कोटालाई सोझै बालुवाटार डाके।
बाँस्कोटा काठमाडौं आइनपुग्दै दिउँसोको तीन बज्यो।
नियमित पत्रकार सम्मेलनबारे सेतोपाटीको जिज्ञासामा सहसचिव तिवारीले भने- पत्रकार सम्मेलन साढे ४ बजेका लागि सारिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेबित्तिकै बाँस्कोटा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे।
साढे चार नबज्दै मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा दिए।
अपरान्ह ४ बजेर ८ मिनेटमा ट्वीट गर्दै बाँस्कोटाले नैतिकताका आधारमा राजिनामा दिएको बताए।
उनले लेखे-मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।
उनको राजीनामासँगै नियमित पत्रकार सम्मेलन स्थगित भयो।
‘आजका लागि पत्रकार सम्मेलन स्थगित गरियो,’ प्रवक्ता तिवारीले सेतोपाटीसँग भने, ‘मन्त्रीज्यू मन्त्रालय नै आउनुभएन।’
अब कसले मन्त्रिपरिषदका निर्णय सुनाउँछ भन्नेबारे उनले खुलाउन सकेनन्।
तिवारीका अनुसार मन्त्री बाँस्कोटा मंगलबारदेखि मन्त्रालय बाहिर थिए। उनी गोरखापत्रको कोहलपुर संस्करण शुभारम्भलगायत कार्यक्रमका लागि राजधानीबाहिर गएका थिए।
राज्यमन्त्रीबाट ओली सरकारका ‘फेस’ बनेका थिए बाँस्कोटा
ओली प्रधानमन्त्री भएपछि २०७४ चैत २ मा बाँस्कोटालाई सञ्चार राज्यमन्त्री नियुक्त गरेका थिए। त्यतिबेलासम्म बाँस्कोटालाई चिन्ने मान्छे निकै कम थिए।
दुई महिनापछि ओलीले आफ्ना विश्वासपात्र बाँस्कोटालाई सञ्चार मन्त्रालय हाँक्ने जिम्मेवारी दिए। २०७५ जेठ १८ गते सञ्चार मन्त्री भएका बाँस्कोटाले सरकारका प्रवक्ताका रूपमा पनि जिम्मेवारी पाए।
पहिला मन्त्रिपरिषद्का बैठक तत्काल सार्वजनिक हुन्थे। बाँस्कोटाले हप्तामा एकदिन पत्रकार सम्मेलन गरेर त्यस्ता निर्णय सार्वजनिक गर्न थाले। २०७५ कात्तिकदेखि हरेक बिहीबार उनले पत्रकारका जवाफ दिन्थे।
साप्ताहिक पत्रकार सम्मेलनलाई उनले अन्तर्क्रियामा ढालेका थिए। पत्रकारिताबाट राजनीतिमा आएका बाँस्कोटा बेलाबेलामा पत्रकार र सञ्चारमाध्यमविरूद्ध खनिन्थे। उनी सरकारको यसरी बचाउ गर्थे कि केही दिनअघि बाँस्कोटाको गृहजिल्ला काभ्रेमा प्रधानमन्त्री ओलीले भनेका थिए- सरकारको विरोध गर्नेहरु गोकुल बाँस्कोटातिर हेर्नेबित्तिकै चुप लाग्ने गरेका छन्।
२०७४ सालमा भएको निर्वाचनमा काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बाँस्कोटा विजयी भएका थिए। उनी केपी शर्मा ओलीपछि सबैभन्दा बढी मत ल्याएर सांसद बने।
राज्यमन्त्री नियुक्त हुँदादेखि नै बाँस्कोटालाई नेपाली सेनाले व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) उपलब्ध गराएको थियो। बाँस्कोटा र प्रधानमन्त्री ओलीबीच लामो समयदेखि सुमधुर सम्बन्ध भएकै कारण मन्त्री भएपछि उनी ओलीको बालकोटस्थित घरमा बसे।
बिहीबारदेखि बाँस्कोटा सिंहदरबारबाट बाहिरिएका छन् तर अघिल्लो साता मन्त्रिपरिषद्ले के-के निर्णय गर्यो नागरिकले थाहा पाएका छैनन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब अर्को सातामात्र मन्त्रिपरिषदका निर्णय सार्वजनिक हुने बताए।
‘अब जसले सञ्चार मन्त्रालय र प्रवक्ताको जिम्मेवारी पाउँछ। उसैले आउने बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्छ,’ थापाले सेतोपाटीसँग भने।