राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलले अहिले संविधान संशोधन गर्न खोजिरहेको सन्दर्भमा आपत्ति जनाएका छन्। उनले नेकपाले संविधानको मर्मविपरित संशोधन गरी आफ्ना नेताहरुलाई अवसर दिन खोजेको आरोप लगाए।
‘संविधान संशोधन नै गर्ने भए ८० प्रतिशत हिन्दु धर्मावलम्वी भएको नेपाललाई हिन्दु राष्ट्र बनाई राजसंस्थाको पुर्नस्थापना गर्नुपर्यो, संविधान निर्माताको परिकल्पना र मर्म निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउने होइन’ उनले भने।
त्यस्तै प्राविधिक विषयहरुलाई संशोधन गरेर मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित गर्नुपर्ने उनले बताएका छन्।
पार्टीको निर्वाचन अभिमुखीकरणका लागि सुर्खेत आएका थापाले सत्तारुढ दलभित्रका आपसी झगडा र विवादका कारण विभिन्न भ्रमपूर्ण अभिव्यक्ति आएको भन्दै एमसिसीको विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।
एमसिसी सम्झौताका लागि राप्रपाको पनि भूमिका रहेको बताउँदै अध्यक्ष थापाले अहिलेका सत्तारुढ र प्रतिपक्ष दलका जिम्मेवार व्यक्तिहरु आफूले गरेको सम्झौतामा अडिग हुन नसकेको टिप्पणी गरे।
पार्टी एकताको सन्दर्भमा उनले आफूहरु एकताको लागि सदैव तयार रहेको बताए। ‘हामीबीच पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको छ, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीजीले केही समय माग गरेका कारण रोकिएको छ’ उनले भने। थापाले आफूहरु अहिले संगठन निर्माणमा जुटेको बताए।
संविधानको रक्षा र संसदको नियन्त्रणमा रही जनता केन्द्रित शासन प्रणालीसहितको राजसंस्था ल्याउन आफूहरु लागेको उनको भनाइ छ।
राजसंस्थालाई नयाँ र लोकतान्त्रिक तरिकाले स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
सार्वभौम सत्तालाई बचाउन बलियो राष्ट्रवादी संस्था आवश्यक रहेको उनको भनाइ छ। ‘संसद र संविधानको रक्षा गर्ने व्यक्तिलाई नै राजा बनाउने व्यवस्थालाई हामीले परिकल्पना गरेका छौं,’ उनले भने, ‘संसद र संविधानले अयोग्य ठहर्याएमा राजा फेर्न सकिनेगरी हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको पक्षमा आवाज उठाइरहेका छौं।’