चितवनको माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णप्रसाद पौडेल हिजोआज चर्चामा छन्। किन भन्नुहोला, आमरण अनसन बसेर।
छ दिनदेखि अनसनरत पौडेलको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार भरतपुर अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार पौडेलको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ।
अस्पतालका प्रमुख श्रीराम तिवारीले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था स्थिर र जोखिमपूर्ण उल्लेख गरेका छन्।
वडाध्यक्ष पौडेल विकास निर्माणका काम हुनुपर्यो भन्ने दबाब दिन अनसन बसेका हुन्। माडीबासी जनताका तर्फबाट आमरण अनसन बसेको उल्लेख गरेका उनले सात बुँदे माग राखेका छन्।
उनले राखेका माग महत्वकांक्षी पनि छैनन्।
‘माडी नगरपालिकालाई कृषि, पर्यटनको हबको रूपमा विकास गर्न विशेष योजना हुनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णत स्थानीय तहको अधिकार हुनुपर्ने, कसरादेखि बनकट्टा र बगहीँदेखि बाँदरझुलासम्म सडक स्तरोन्नति गर्नुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्ति हुनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारण गर्न ठोस योजना हुनुपर्ने, सुकुम्बासीको व्यवस्थापन र राष्ट्रिय निकुञ्जसम्बन्धी २०२९ को विनियम संशोधन गर्नुपर्ने’ माग उनले राखेका छन्।
अधिकांश माग वडाबासीको हितका लागि भएकोले उनले जनताको साथ पनि पाएका छन्। पौडेललाई चुनावमा टिकट दिएको नेपाली कांग्रेसले पनि साथ दिएको छ।
कांग्रेस संसदीय दल र पार्टीले आइतबार विज्ञप्ति नै निकालेर वडाध्यक्ष पौडेलले उठाएका मागप्रति ऐक्यवद्धता जनाएको छ।
यतिमात्र होइन कांग्रेस चितवनले आफ्ना वडाध्यक्षले उठाएका माग सम्बन्धित निकायले सुनुवाइ नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
कांग्रेसले फागुन १२ देखि १५ गतेसम्म चरणवद्ध आन्दोलन घोषणा गरेको हो। जसअन्तर्गत जिल्ला प्रशासन कार्यालय अगाडि धर्नादेखि चितवन बन्द गर्नेसम्मका कार्यक्रम छ।
वडाध्यक्ष अनसन बसेपछि नगरपालिकाका मेयर ठाकुर ढकालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहजिल्ला चितवन नै भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर समस्या सुनाएका छन्।
मेयर ढकाल नेतृत्वको टोलीले सोमबार बिहान प्रधानमन्त्री र प्रचण्डसँग छलफल गरेका हुन्। समय अभावका कारण निष्कर्षमा पुग्ने गरी छलफल गर्न नसकिएको मेयर ढकालले सेतोपाटीलाई जानकारी दिए।
‘वडाध्यक्षका माग र म पनि अनसन बस्ने जानकारी प्रधानमन्त्रीलाई सुनाएको छु,’ उनले भने, ‘हाम्रो नगर विकास निर्माणमा पछाडि परेको छ। प्रधानमन्त्रीसँग फेरि पनि भेट्छौं।’
आफूले प्रधानमन्त्रीलाई यसअघि नै ११ बुँदे मागपत्र पेश गरेको उनले बताए।
‘फागुन ७ गतेदेखि नै अनसन बस्छु भनेर प्रधानमन्त्रीलाई मागपत्र नै पठाएको थिएँ। प्रधानमन्त्रीले अहिले अनसन नबस्नुस् भन्नुभयो,’ उनले सेतोपाटीसँग भने।
उनले प्रधानमन्त्री ओलीसँग भेटका लागि मंगलबार पनि समय लिइएको बताए।
‘वडाध्यक्षका मागभन्दा पनि मेरा पनि माग छन् भनेर प्रधानमन्त्रीलाई भेटेको हुँ,’ ढकालले भने।
मेयर ढकाल अनसन नबसेपछि वडाध्यक्ष पौडेलले अनसन सुरू गरेका थिए।
‘मैले अनसन स्थगित गरेको बेलुकी आठ बजेतिर उहाँ अनसन बस्नुभएको हो,’ उनले भने, ‘उहाँले अकस्मात् अनसन थाल्नुभएछ। पहिले कुरै गर्नुभएको थिएन।’
मेयर ढकाल तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका हुन् भने वडाध्यक्ष पौडेल कांग्रेसका हुन्।
विकास निर्माणका काममा केन्द्रको ध्यानाकर्षण गराउन र बजेट ल्याउन यहाँ जनप्रतिनिधिबीच अनसन बस्ने हानथाप देखिएको छ।
मेयर ढकालले मंगलबार प्रधानमन्त्री ओलीसहित मन्त्रालयका पदाधिकारीहरूसँग पनि छलफल हुने जानकारी दिए। ‘हुलाकी बाटोसँग सम्बन्धित, राष्ट्रिय निकुञ्जकालगायत विषयमा भोलि छलफल गर्छौं,’ उनले भने, ‘वार्ताबाटै समस्याको समाधान खोज्दै छौं।’
वडाध्यक्ष पौडेलले पनि आफूले लामो समयदेखि उठाएकै विषय उठान गरेकोले प्रधानमन्त्रीसँग छलफलपछि अनसन तोड्न सक्ने मेयर ढकाल बताउँछन्।
‘वडाध्यक्षसँग मेरो कुराकानी त भएको छैन। उहाँले अनसन तोडेर वार्तामा आउनुपर्छ। उहाँका परिवारसँग यो विषयमा पनि छलफल भइरहेकै छ,’ उनले भने।