प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाबीच पहिलेदेखि नै सुमधुर सम्बन्ध छ। बेलाबेला ओली-कोइराला भेटघाट र ठट्यौली कुरा भइरहन्छ।
प्रधानमन्त्री ओली र कांग्रेसको भावी सभापतिमा दाबी गरिरहेका कोइरालाको दैनिकी अचेल व्यस्ततामा बित्छ।
कांग्रेसको महाधिवेशन आउन एक वर्ष बाँकी छ।
महाधिवेशनकै तयारीको सिलसिलामा कोइरालाले ७७ जिल्ला एकपटक घुमिसके। दोहोर्याएर जिल्ला पुग्ने र कार्यकर्ताका कुरा सुन्ने सिलसिलामा उनी व्यस्त छन्।
गत साता उनी प्रदेश पाँचका विभिन्न जिल्लामा व्यस्त थिए। बुधबार साँझ उनी भैरहवाबाट काठमाडौं आए।
पछिल्लो समय पार्टीभित्रको आन्तरिक कलहले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चैन छैन।
बुधबारमात्रै सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारिस गर्ने निर्णय गरेपछि तनाव झन् बढेको छ।
यही तनावका बीच प्रधानमन्त्री ओलीले कोइरालालाई फोन गरे। भेट्न बालुवाटार बोलाए। कोइराला बिहीबार बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगे।
ओली र कोइरालाबीच समसामयिक राजनीति, सरकारका काम र आ-आफ्ना पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धाबारे झन्डै दुई घन्टा कुराकानी भयो।
कुराकानी सुरू गर्दै कोइरालाले प्रधानमन्त्री ओलीको राजीनामा मागे। पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडिओ टेपबारे प्रधानमन्त्रीलाई पहिला नै जानकारी भएको कुरा आएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने कोइरालाको भनाइ थियो।
यसअघि सार्वजनिक रूपमा पनि कोइरालाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए।
‘शेखर दाइ त खरो मान्छे, सुरूमै प्रधानमन्त्रीज्यू म त हजुरले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर मागिराखेको छु भन्नुभयो,’ भेटवार्तामा भएका कुराकानीबारे उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीज्यूले यो त प्रतिपक्षको भूमिका हो। म पनि राजनीति गर्ने मान्छे हो, यस्ता कुरा बुझिहाल्छु नि! भन्ने जवाफ दिनुभयो।’
प्रधानमन्त्री ओली यतिमै रोकिएनन्।
‘तपाईंहरू (प्रतिपक्षी) भन्दा पनि आफ्नै साथीभाइ, आफ्नै पार्टीका नेताहरू नचाहिने, जथाभाबी भन्ने गरिरहेका छन्। त्यसले मलाई दु:ख लागिरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भने।
कोइरालाले यो सरकार एकपछि अर्को काण्डमा मुछिँदै गएको र सरकारका काण्डले त राजनीतिक पार्टीहरूमै जनतामा वितृष्णा उठ्न सक्ने खतरा भएको बताएका थिए।
भेटमा कोइरालाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नहुने बताएका थिए।
‘व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा गलत नजिर बस्छ। यसले मुलुकलाई कुनै पनि बेला दुर्घटनामा पुर्याउन सक्छ। लोकतन्त्रका लागि लडेका व्यक्तिले यस्ता कुरामा विचार पुर्याउनुपर्छ भन्ने शेखर दाइको भनाइ थियो,’ थपलियाले भने।
भेटपछि कोइरालाले यसपटक भने प्रधानमन्त्री ओलीमा मुलुकप्रति अलि धेरै चिन्ता देखिएको पाएको बताएका छन्।
‘सहकार्य गर्नुपर्यो, सँगै जानुपर्यो, मुलुक बचाउनुपर्यो भन्ने खालका कुरा प्रधानमन्त्रीले भेटमा राख्नुभएको हो,’ थपलियाले भने।
करिब दुई घन्टा कुराकानीपछि कोइराला आजै गृहनगर विराटनगर गएका छन्।