प्रधानमन्त्री केपीशर्मा ओलीले पूर्व पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सारथी गुमाएको बताएका छन्।
भिडियो मार्फत ६ मिनेट लामो सम्वोधनमा मन्त्री अधिकारीले छोटो समयमै धेरै काम गरेको समेत दाबी गरे। रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको पहिलो स्मृति सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकारीले बहुआयामिक पक्षबाट छोटो समयमै उल्लेख्य सुधार र प्रगति गरेर देखाएको बताए।
‘सांसद र जनप्रतिनिधीको हैसियतमा अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो’ ओलीले भने, ‘उहाँले जुनसुकै भूमिका पनि कुशलतापूर्वक गर्नुभयो, उहाँको भूमिकामा खोट देख्न सक्दैनौँ।’
अधिकारीको कामकै शिलशिलामा देहवसान भएको भन्दै प्रधानमन्त्री ओलीले अधिकारीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरे।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र भएका द्वन्द्वमा कहिल्यै पनि रविन्द्र जोडिन नचाहेको बताए।
रविन्द्र अधिकारीलाई गुटका आधारमा नभई राम्रो काम गर्ने नेता भएकाले पार्टीले मन्त्री बनाएको दाबी गर्दै प्रधानमन्त्रीले भने, ‘उहाँको पनि गुट थियो तर गुटका लागि भनेर काम गर्नुभएन।’
पार्टीका नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरु गुटको साधना गर्ने थलो बनेको उनले दाबी गरे। नेकपा गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले गुटका आधारमा काम नगरेको भन्दै खुशी व्यक्त गरे। उनले रविन्द्र अधिकारीका राम्रा कामहरू अनुशरण गर्न आग्रह गरे।
यस्तै, पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीको राम्रो सम्भावना बोकेको नेता गुमाउनुपरेको बताए। अहिले आफूले पर्यटन मन्त्रालय सम्हाल्दा पनि रविन्द्र अधिकारीले थालेकै कामका आधारमा आफू अघि बढेको उनको भनाइ छ।
मन्त्रालयमा बिहानै अधिकारीको स्मृति सभा आयोजना गरी अधिकारी पर्यटन पुरस्कार घोषणा गरेको उनले जानकारी दिए। यस वर्ष उक्त पुरस्कार रविन्द्र अधिकारीको जन्मदिन वैशाख २२ गते प्रदान गर्ने र आगामी वर्ष स्मृति दिवसमा प्रदान गर्ने उनले बताए।
विद्यार्थीलाई सार्वजनिक सवारीमा छुट दिने र तत्कालीन राजतन्त्र विरुद्ध गायक प्रविण गुरुङ हत्याकाण्डमा हस्ताक्षर संकलन गरेको भन्दै भट्टराईले अधिकारीको स्मरण गरे।
कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले स्व. अधिकारी काम गर्ने नेता भएको बताए। स्मृति दिवसका अवसरमा रविन्द्र अधिकारीको पोखरा १८ जामुनबोटमा निर्माण गरिएको शालिक अनावरण गरिएको छ।
यस्तै, क्यानभासमा रविन्द्र शिर्षकमा पोखराका कलाकारले कोरेका चित्रकला समेत प्रदर्शन गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष एवं अधिकारीकी श्रीमती विद्या भट्टराईले १ करोड बराबरको रविन्द्र अधिकारी स्मृति छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको जानकारी दिइन्।