नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गर्यो। तर निर्णय नमान्ने प्रधानमन्त्री केपीशर्मा ओलीको अभिव्यक्तिले नेकपाका केन्द्रदेखि स्थानीय तहसम्मका कार्यकर्ता अन्यौलमा परेका छन्।
पोखरामा आयोजित कार्यक्रममा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री ओलीलाई साथ दिने अभिव्यक्ति दिएका छन्।
गुरुङ र भट्टराई दुबै नेकपा स्थायी कमिटी सदस्य हुन्। भट्टराई वरिष्ठ नेता माधव नेपाल गुटका हुन् भने गुरुङ ओली गुटका। पोखरामा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको पहिलो स्मृति सभामा बोल्दै दुबै जनाले पार्टीभित्रका आन्तरिक किचलोबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे। उनीहरुले ५ वर्ष यही सरकार चल्ने भन्दै यसका विरुद्ध जान नदिने समेत बताए।
मुख्यमन्त्री गुरुङ भन्दा अगाडि बोलेका भट्टराईले नेकपाका पछिल्लो विवादले काठमाडौंमा सानातिना भुइँचालो गएको बताए। यो भुइँचालोले नेकपाको घर नभत्किने भन्दै उनले चर्किएछ भने पनि रेट्रोफिटिङ गर्ने बताए।
नेकपाका नेताहरुले पार्टीभित्र देखिएको बेमेल समाधान गर्ने सामथ्र्य राख्ने उनले दाबी गरे। ‘नेकपाका नेताहरुले संयमता र धैर्य अपनाउनुपर्छ, भट्टराइले भने, ‘नेकपाको नेतृत्वसँग ३ करोड नेपालीको भविष्य र १० लाख कार्यकर्ताको जीवन जोडिएको छ, समृद्धि र विकासको सपना जोडिएको छ।’
नेकपाले अझै ५० वर्ष शासन चलाउने भट्टराईले दाबी गरे। ‘अबको ५ वर्षपछि पनि नेकपा सडकमा आउँदैन, सिंहदरबारमै बस्छ’ उनले भने, ‘पार्टी भित्रको संक्रमण महाधिवेशनले टुङ्ग्याउँछ।’
पार्टी नेताहरुले देखाएको उत्तेजना र आवेगले मात्रै अघि बढ्न नहुने उनले बताए। ‘पार्टी रहे न नेता बन्ने हो, नभए कसरी नेतृत्व रहन्छ’ भट्राईले भने, ‘सबै नेताको पालो आउँछ, तपाईं हाम्रो पनि आउला।’
यता, मुख्यमन्त्री गुरुङले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन कुनै आपत्ति नरहेको बताए। ‘कस्ता–कस्ता मान्छे त राष्ट्रिय सभामा छन्’ बामदेव किन नहुने, मज्जाले हुन्छ’ उनले भने, ‘पार्टीले निर्णय गरेपछि आनाकानी गरेर हुँदैन।’
नेकपा गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले राष्ट्रिय सभा भइसकेपछि समस्या सिर्जना गर्न भने नपाइने बताए। ‘जुन रुपमा शंका छ, समस्या सिर्जना भयो, भने यो सरकारलाई निर्वाध रुपमा अघि बढ्न हामीले साथ दिन्छौँ, प्रधानमन्त्रीलाई काँध थाप्न हामी तयार छौं।’
सबै समस्याको सामना गर्न पार्टी नेतृत्व र सरकार सक्षम रहेको उनले बताए। उनले सचिवालयले गलत निर्णय गर्यो भने स्थायी कमिटी र केन्द्रीय कमिटीले सच्याउने दाबी समेत गरे। ‘तपाईंहरु नौ जनाले गलत निर्णय गर्नुभयो भने, गलत बाटोमा हिँड्यो भने हामी जस्तो दोस्रो, तेस्रो तहमा भएकाले ठिक ठाउँमा ल्याउँछौं।’
जनमतको विरुद्ध जाने कुनै पार्टी र नेतालाई अधिकार नभएको भन्दै उनले यही सरकार ५ वर्ष चल्ने बताए।