सन् १९४७ मा अंग्रेजबाट स्वतन्त्र भएसँगै हिन्दुस्तान धार्मिक आधारमा विभाजित भयो- भारत र पाकिस्तान।
विभाजन बेला भड्किएको साम्प्रदायिक हिंसाले १० लाखभन्दा बढीको मृत्यु भयो। डेढ करोडभन्दा बढी हिन्दु र मुसलमान विस्थापित भए।
भारतीय इतिहासकै सबभन्दा ठूलो यो दंगालाई अहिलेसम्म कसैले पनि 'स्कुले झगडा' भन्न सकेका छैनन्। तर, अमेरिकी-भारतीय लेखक सुकेतु मेहताले हालै 'टाइम' पत्रिकामा छापिएको आफ्नो लेखमा यो शब्द प्रयोग गर्ने हिम्मत गरेका छन्।
राजधानी दिल्लीमा जारी दंगा र नरेन्द्र मोदीको शासनकालमा मुसलमानहरूमाथि भइरहेको भेदभावको सन्दर्भ उठाउँदै सुकेतु लेख्छन्, 'भारतको मुस्लिम जनसंख्या संसारकै दोस्रो ठूलो हो। अहिलेसम्म समग्रमा भारतीय मुसलमानहरू अतिवादी भइसकेका छैनन्। दिल्लीको शाहिन बागमा सरकारी नीति र कानुनविरूद्ध प्रदर्शन गरिरहेका मुस्लिम महिलाले पनि तिरंगा फरफराइरहेकै छन्। तर, भारतका मुसलमानलाई अहिलेजस्तै किनारा लगाइयो र बारम्बार 'तिमीहरू यहाँका होइनौ, सच्चा भारतीय होइनौ' भनियो भने उनीहरूमध्ये केही पक्कै अतिवादी हुनेछन्।'
उनी अगाडि भन्छन्, 'यसले भारतलाई अहिलेसम्मकै ठूलो गृहयुद्धमा झोँस्न सक्छ, जसले १९४७ को विभाजन बेला जे भयो, त्यो स्कुले झगडा सावित हुनेछ।'
भारतको गुजरातमा जन्मेर अमेरिका पुगेका र पुलिट्जर पुरस्कार निम्ति अन्तिम मनोनयनमा परेकाे 'म्याक्सिमम सिटी' (मुम्बईबारे लेखिएको किताब) का लेखक सुकेतुको यो भनाइ अलि बढी नै अतिरञ्जित सुनिए पनि पछिल्लो एक सातादेखि दिल्लीमा जे भइरहेको छ, त्यो हेर्दा कतै साँच्चै भारत सुकेतुले भनेकै दिशातर्फ उन्मुख त छैन भन्ने देखिन्छ।
नागरिकता कानुनको विरोधमा दुई महिनादेखि जारी आन्दोलनमाथि सरकार-समर्थक हिन्दुवादी समूहहरू सांघातिक आक्रमणमा ओर्लिएपछि उत्तरपूर्वी दिल्लीका विभिन्न ठाउँमा हिंसात्मक दंगा भड्किएको छ। दंगामा अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ भने सयौं घाइते छन्।
सरकार समर्थक भीडले मुस्लिम समुदायलाई निशाना बनाएका छन्। मुस्लिमहरूका घर, पसलदेखि मस्जिद, मदरसा र स्कुलमा समेत तोडफोड र आगजानी गरिएको छ। व्यक्तिगत रूपमा सांघातिक हमला पनि भएका छन्। बाटोमा हिँडिरहेका मान्छेलाई उनीहरूको धर्म सोधेर मुसलमान भए नांगेझार पार्दै कुटपिट गरिएका भिडिओ भाइरल छन्।
हिंसा भड्किँदै गएपछि दिल्लीका हिन्दु र मुसलमानबीच विभाजनको प्रस्ट रेखा देखिन थालेको छ। उनीहरूले आ-आफ्नो बस्तीलाई अर्को धार्मिक समूहको आक्रमणबाट बचाउन तारबार लगाउन सुरू गरेको भारतीय अनलाइन अखबार 'स्क्रोल डटइन' ले लेखेको छ।
स्क्रोलका अनुसार, केही दिनदेखि उत्तरपूर्वी दिल्लीका हिन्दु र मुस्लिम बहुल बस्तीका मुख्य प्रवेश विन्दुहरूमा फलामे बार, बाँसको खम्बा, काठको बोर्ड लगायत प्रयोग गरेर छेकबार लगाइएका छन्।
'यो छेकबार हाम्रो सुरक्षानिम्ति हो,' ब्रह्मपुरीको गल्ली नम्बर १० का हिन्दु बसोबासी भन्छन्, 'बाहिरका मान्छे अनावश्यक रूपले बस्तीमा प्रवेश गर्न नसकून् भनेर जे भेट्यो त्यसैले बार लगाएका छौं।'
त्यही गल्लीको अर्कोपट्टि मुस्लिमहरूले आफ्नो क्षेत्र छुट्टयाएर छेकबार लगाउँदै 'हिफाजत' शब्द प्रयोग गरेका छन्।
वल्लो सडक, पल्लो सडक बस्ने यी दुई समुदायका मान्छे आ-आफ्नो बस्ती, परिवार र व्यवसायको सुरक्षानिम्ति यस्तो उपाय अपनाउनुपरेको बताउँछन्।
ब्रह्मपुरीमा गत मंगलबार आक्रोशित भीड प्रवेश गरेर तोडफोड र आगजनी गर्न थालेपछि यहाँका स्थानीयले त्यसै दिनबाट छेकबार लगाएका हुन्। यो बाटो मौजपुर-जाफराबादको मुख्य सडकसँग समानान्तर छ, जहाँ गत सोमबार नागरिकता कानुनका विरोधी र पक्षधर समूहबीच हिंसात्मक झडप भएको थियो। उत्तरपूर्वी दिल्लीमा हिंसा भड्किएका प्रमुख ठाउँमध्ये यो एक हो।
यो सडक शाहदरा क्षेत्रको बीचमा पर्छ। यसको एकापट्टि ब्रह्मपुरी र गोन्डा छन् भने अर्कापट्टि चौहान बेंगर र मोहनपुरी।
यहाँका धेरै ठाउँमा मुख्य सडकले हिन्दु र मुस्लिम समुदायबीच अदृश्य विभाजन रेखाको काम गरेको छ। उदाहरणका लागि, ब्रह्मपुरीको गल्ली नम्बर १० मा धेरैजसो हिन्दुहरू बसोबास गर्छन् भने यसैको अर्कोपट्टि चौहान बेंगरमा मुसलमानहरूको बाहुल्य छ।
जबदेखि यी ठाउँमा हिंसा भड्कियो, यही अदृश्य रेखाले प्रस्ट विभाजन कोरेको छ। दुवै समुदायले आ-आफ्ना गल्लीका प्रवेश विन्दुमा छेकबार लगाउन थालेपछि त झन् यो विभाजनले भौतिक स्वरूपसमेत पाएको छ।
यी दुवै समुदायका मान्छे मुख्य सडकमा निस्कँदा आफूलाई असुरक्षित महशुस गर्छन्। आफ्नो गल्लीमा आफ्ना सहधर्मी, छरछिमेक र परिवारको बीचमा पुगेपछि बल्ल उनीहरू चैनको सास फेर्छन्।
स्क्रोल डटइनका संवाददाता बिहीबार त्यहाँ पुग्दा मुख्य सडकमा हिंसाको झलक अझै बाँकी थियो। सडक किनारका घर र पसलमा आगजानीपछि धुँवाले छाडेको कालो दाग देखिन्थ्यो। सडकमा तोडफोड गरिएका र आगो लगाइएका सवारी साधन यत्रतत्र थिए। घर-पसलबाट फालिएका सामान भुइँमा असरल्ल देखिन्थे।
यहाँ मुख्य सडकमा खुल्ने गल्लीको मोहडामा कम्तिमा दुई जनाको ज्यान गएको छ।
ब्रह्मपुरी गल्ली नम्बर १ को प्रवेश विन्दुमा गत सोमबार ५१ वर्षीय विनोद कुमारलाई ढुंगा हानेर मारिएको थियो। त्यसैको अर्को साँझ मंगलबार गोन्डाको सुभाष मोहल्ला, गल्ली नम्बर ९ को चोकमा ५० वर्षीय परवेज आलमको गोली लागेर मृत्यु भयो। अस्पताल लैजाँदा लैजाँदै उनको ज्यान गएको थियो।
यी घटनापछि मुख्य सडकमा अर्धसैनिक दस्ताले गस्ती गर्न थालेको छ। आक्रोशित भीडको प्रवेश मत्थर भएको छ। झडप साम्य हुँदै गएका छन्। तर, गल्लीभित्रका बस्तीमा, जहाँबाट अदृश्य विभाजन रेखा सुरू हुन्छ, त्यहाँ द्वन्द्व जारी छ।
मंगलबार राति गोन्डाको औलिया मस्जिद वरिपरि बसोबास गर्ने मुस्लिम परिवारलाई उनीहरूकै हिन्दु छिमेकीले घेरा हाले र गोली चलाए। यो घटनामा ३४ वर्षीय मोहम्मद मरूफको आँखानिर गोली लागेर ज्यान गयो।
बुधबार राति ८ बजेतिर गोन्डाकै सिलाइबुनाइ व्यवसायी मोहम्मद इरफान आफ्नो घरबाट सय मिटर मात्र टाढा दूध किन्न गएका बेला उनलाई एउटा समूहले घेरेर कुटपिट गर्यो। उनको घटनास्थलमै ज्यान गयो। उनकी आमा कुरेशा यो घटनानिम्ति सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेता कपिल मिश्रलाई दोष दिन्छन्, जसले जाफराबादमा जारी नागरिकता कानुनविरोधी प्रदर्शनलाई जर्बजस्ती रोक्ने चेतावनी दिएका थिए। प्रहरीले यो विरोध प्रदर्शन रोकेर सडक खाली नगराए आफूहरू नै कारबाहीमा ओर्लिने उनको घोषणापछि हिन्दुवादी समूहहरू सडकमा आएका हुन्।
'कपिल मिश्रको भाषणले मेरो छोराको ज्यान लियो,' कुरेशा भन्छिन्।
यस क्षेत्रका हिन्दु बसोबासी हिंसा भड्किनुमा मुसलमानलाई दोष दिन्छन्। 'उनीहरू महिनौंदेखि विरोध प्रदर्शन गरिरहेका छन्, हामीलाई कुनै समस्या थिएन,' एक हिन्दु व्यवसायीले भने, 'उनीहरूको लडाइँ सरकारसँग थियो। तर उनीहरूले सडक किन बन्द गरे?'
जाफराबाद र ब्रह्मपुरी मुख्य सडकको प्रदर्शन स्थलप्रति इंगित गर्दै उनले भने, 'सोमबार बोर्ड परीक्षा थियो। हामीले जाँच दिन जानुपर्ने केटाकेटीलाई असुविधा हुन्छ भनेर सडक बन्द नगर्न भनेका थियौं। उनीहरूले हाम्रो कुरा सुनेनन्। यसको सुरूआत उनीहरूबाटै भएको हो।'
यसरी भड्कियो हिंसा
ब्रह्मपुरीका विनोद कुमार बिहे भोजहरूमा म्युजिक सिस्टम भाडामा दिने व्यवसाय गर्छन्।
सोमबार राति साढे १० बजेतिर उनी आफ्ना छ वर्षे नातिका लागि औषधि किन्न छोरा मोनु कुमारसँग बाहिर निस्के। मोटरसाइकल २५ वर्षीय मोनु कुमारले हाँकेका थिए। उनीहरू जसै आफ्नो गल्ली नाघेर अघि बढे र गल्ली नम्बर १ को घुम्तीतिर मोडिए, भीडले ढुंगा हान्न थाल्यो।
दुवै मोटरसाइकलबाट पछारिए।
ढुंगा हान्नेहरूले 'अल्लाह हु अकबर' भन्दै नारा लगाएको मोनु कुमार बताउँछन्। मोटरसाइकलबाट पछारिएपछि उनी बेहोस भए। उनको टाउकोमा लठ्ठी बजारिएको थियो।
'उनीहरूले बुबालाई टाउको, ढाड, पेट र जीउभरि जतासुकै पिटपाट पारे,' उनले भने, 'मलाई त्यति बेला बुबाले सास फेर्दै हुनुहुन्छ भन्ने लागेको थियो।'
त्यही बेला छरछिमेकले आएर भीड हटाउँदै घाइतेलाई अस्पताल लैजाने बाटो दिन आग्रह गरे। विनोद कुमारकी पत्नी मधुले उक्त घटनापछि प्रहरीलाई बारम्बार फोन गर्दा पनि सुनुवाइ नभएको बताइन्। 'हिन्दुहरू हिंसा भड्काउन चाहन्थेनन्, समस्याको सुरूआत मुसलमानहरूले गरेका हुन्,' उनले भनिन्।
त्यसैको भोलिपल्ट मंगलबार साँझ वकर अज्मी नजिकको मस्जिदमा प्रार्थना गरेर भर्खरै घर फर्केका थिए। गोन्डाको गल्ली नम्बर ९ मा होहल्ला सुनेर उनले झ्यालबाट चियाए। त्यहाँ उनले आफ्ना साथी र छिमेकी परवेज आलमलाई देखे।
परवेज गल्लीभित्र छिरेर घर जाँदै थिए। परबाट हल्लाखल्ला सुनिँदै थियो। एक्कासि बन्दुक पड्केको आवाज आयो। परवेज दस पाइला पनि हिँडेका थिएनन्, उनी गोली लागेर भुइँमा ढले।
'उनको हात हावामा लहराइरहेको थियो,' आज्मीले भने, 'उनी गल्लीबाहिर ढुंगा हान्नेहरूको भीडलाई शान्त रहन आग्रह गर्दै थिए। भन्दै थिए- हामी सबै दाजुभाइ हौं, छिमेकी हौं, आपसमा कुराकानी गरौं, यसरी एकअर्कालाई आक्रमण गरेर हिंसा नभड्काऊँ।'
आज्मीका अनुसार अघिल्लो दिन पनि परवेज यसैगरी भीड साम्य पार्न अघि सरेका थिए। उनको कुरा कसैले सुनेनन्। आखिर हिंसा रोक्न अघि सरेका उनी स्वयं गोलीको शिकार भए।
५० वर्ष हाराहारीका परवेज आलम यही बस्तीमा सानो गैरसरकारी संस्था चलाउँछन्। उनी साना केटाकेटीलाई नि:शुल्क किताब बाँड्छन् र प्रौढहरूका निम्ति नि:शुल्क आँखा शल्यक्रियाको शिविर सञ्चालन गर्छन्। छरछिमेकीहरू उनलाई 'सामाजिक मान्छे' भन्छन्।
गोली लागेर भुइँमा ढलेपछि आलमलाई उनका छोराले अस्पताल दाैडाए। बाटोमै उनको सास थामियो।
यो हिंसा एक्कासि भड्किएको हो कि सुनियोजित हो भन्ने प्रश्नमा आज्मीले भने, 'अहिले मुसलमानहरूको हिम्मत छैन, उनीहरू केही बोल्न सक्दैनन्। सत्य बोल्ने मजिस्ट्रेटलाई त सरकारले निष्कासित गर्छ भने हामी सामान्य मुसलमानको कुरा यहाँ कसले सुन्छ?'
उनको भनाइ दिल्ली उच्च न्यायालयका न्यायाधीशको सरूवाप्रति लक्षित थियो, जसले दंगामा प्रहरीको निस्क्रियतामाथि प्रश्न उठाएका थिए।
मुसलमान समुदायहरूमा राज्य र सुरक्षा निकायले आधिकारिक रूपमै हिंसा भड्काउन भूमिका खेलेका हुन् कि भन्ने शंका छ।
परवेज आलमका छिमेकीले स्क्रोलका संवाददातालाई गल्लीको त्यो ठाउँ देखाए, जहाँ उनी गोली लागेर ढलेका थिए। गल्लीको चोकमा जलेका मोटरसाइकल र पसलहरू देखिन्थे। यहाँका हिन्दुहरू भने आफ्नो बस्तीमा ढुंगा र पेट्रोल बम प्रहार भएको आरोप लगाउँछन्। छिमेकमै गोली हानेर आलमको हत्या गरिएको घटनाबारे सोध्दा उनीहरू मौन रहन्छन्।
यो क्षेत्रको सबभन्दा ठूलो अस्पताल जगप्रवेश अस्पताल हो, जुन दिल्ली सरकारले सञ्चालन गर्छ। द्वन्द्व क्रममा बुधबार बिहानसम्म घाइते ९१ प्रतिशतलाई यही अस्पताल ल्याइएको थियो। घाइतेहरूको सूची हेर्दा हिन्दु र मुसलमान बराबर देखिन्छन्। गोली लागेका घाइतेहरूको सूची हेर्ने हो भने अधिकांश मुसलमान छन्।
सबभन्दा ठूलो गोलीबारी उत्तरी गोन्डाको औलिया मस्जिद नजिक भएको थियो। स्थानीयका अनुसार बुधबार राति ९ बजेतिर आक्रोशित भीड 'जय श्रीराम' नारा लगाउँदै बस्तीमा जम्मा भए। उनीहरूले सडकबत्ती र सिसिटिभी क्यामरा फुटाइदिए। ताला फोडेर घरभित्र छिरे र आगो लगाइदिए।
राति साढे ११ बजेतिर दैनिक ज्यालादारी काम गर्ने २४ वर्षीय शमशाद खान र उनका छिमेकी ३४ वर्षीय मोहम्मद मारूफ घरबाट बाहिर निस्के। उनीहरू दुवैलाई गोली लाग्यो। शमशादका बुबा यसिन खानका अनुसार, पेटमा गोली लागेका उनको अस्पतालमा उपचार भइरहेको छ। आँखानजिकै गोली लागेको मारूफको भने मृत्यु भयो।
बिहीबार बिहान पोस्टमार्टमपछि जब उनको शव अस्पतालबाट ल्याइयो, उनको दुईतले घरमा शोकाकूल महिलाहरू जम्मा भएका थिए। दोस्रो तलाको सानो कोठामा मारूफकी ३२ वर्षीया पत्नी इमराना आफ्ना बहिनी र आफन्तहरूले घेरिएर बसेकी थिइन्।
'मेरा छोराछोरीहरू बाबा खोई भनेर सोध्दै छन्,' इमरानाले भनिन्, 'हामीले उनीहरूलाई केही बताएका छैनौं।'
उनका केटाकेटीहरूलाई भने घटनाको जानकारी छ।
'बाबा हामीसँग कुरै नगरी जानुभयो, उहाँ संसारकै राम्रो बाबा हो। हामीले जे भन्यो, उहाँले त्यही ल्याइदिनुहुन्थ्यो। उनीहरूले हाम्रा बाबाको ज्यान लिए,' मारूफकी ११ वर्षीया छोरी फिजाले भनिन्। उनका आँखाबाट आँशुका धारा बगिरहेका थिए।
स्क्रोल संवाददाताले कुरा गरिरहँदा उनका ७ वर्षे भाइ फरहान छिमेकका काखमा बसेका थिए। उनी रूँदै गरेका आफ्नी आमा र दिदीको मुख टुलुटुलु हेर्दै थिए।
बस्तीका स्थानीयहरू आक्रमणकारी पहिचान गर्न नसक्ने बताउँछन्। उनीहरूका अनुसार, भीडमा सबैजसोले अनुहार ढाक्ने गरी हेलमेट लगाएका थिए।
तयारी पाेसाक कारखाना चलाउने ४४ वर्षीय बाबरले धेरैका हातमा पिस्तोल, फलामे छड र राइफल भएको दाबी गरे। यो घटनालगत्तै बारम्बार १०० मा डायल गर्दा पनि प्रहरीले फोन नउठाएको उनले जानकारी दिए।
'घटना सकिएपछि बल्ल प्रहरी आए, हामीलाई आश्वासन दिए र उजुरी दर्ता गरे,' मारूफका भाइ हरून अलिले भने।
उनका अनुसार, प्रहरीले आफ्नो रिपोर्टमा गल्लीमा नागरिकता कानुनविरुद्ध प्रदर्शन भइरहेको लेखेको छ। जबकि, त्यो बेला कुनै विरोध प्रदर्शन नभएको उनले दाबी गरे।
यहाँका स्थानीय २४ वर्षीय मोहम्मद रिहान अर्का यस्ता व्यक्ति हुन्, जो तिघ्रामा गोली लागेर घाइते छन्। उनका २६ वर्षीय भाइ मोहम्मद इरफानका अनुसार, राति १० बजेतिर औलिया मस्जिदनिर उनीहरूलाई भीडले घेरा हालेको थियो। भीडले 'जय श्रीराम' नारा लगाउँदै थियो।
'हेलमेट लगाएर आएका उनीहरूले हामीमाथि थुप्रै बोतल बर्साए,' उनले भने।
रिहान अस्पतालमा उपचार गरेर घर फर्किएका छन्।
बस्तीका स्थानीयहरू त्यस रात चौथाे व्यक्तिलाई पनि गोली लागेको बताउँछन्। उनको परिचय खुलेको छैन। उनी यो बस्ती बाहिरको भएको मोहम्मद जाहिदको भनाइ छ।
यो पनि हेर्नुहोस्: