पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि 'डिल' गरेको भनिएको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रविरूद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन्।
उनले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा मिश्रले सार्वजनिक गरेको अडिओमा भएको स्वर आफ्नो भए/नभएको विषयमा कुनै जिकिर गरेका छैनन्। तर उनले अडिओ टेपलाई 'कथित र सृजित' भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राजधानीमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षणमा ‘बाँस्कोटाले आफूसँग उक्त अडिओ आफ्नो नभएको’ बताएको उल्लेख गरेका थिए। तर अदालतमा मुद्दा दायर गर्दा बाँस्कोटाले उक्त अडिओबारे मौनता देखाएका छन्।
बाँस्कोटाले दायर गरेको मुद्दामा विजय प्रकाश मिश्रसँग आफ्नो भेट भएको र कुराकानीमा उनले ‘नाजायज प्रस्ताव राखेको’ स्वीकार गरेका छन्।
सार्वजनिक भएको बाँस्कोटा र मिश्रको भनिएको अडिओमा समेत लेनदेनको प्रस्ताव भएको देखिन्छ।
यद्यपी उनले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने सरकारको निर्णयपछि कमिसन एजेन्टहरूसँग भेट भएको उल्लेख गरेका छन्।
‘सुरक्षण मुद्रण समिति गठन आदेश तथा नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम काम प्रारम्भ भएपछि मलाई विभिन्न निजी कम्पनीबाट सुरक्षणसम्बन्धी जानकारी दिने भनि विभिन्न व्यक्तिहरू भेट्न आउन गर्दथे’, बाँस्कोटाले दायर गरेको मुद्दामा भनिएको छ, ‘मैले यस्तो जानकारी दिन आउने व्यक्तिहरूसँग सुरक्षण मुद्रणको सम्भावित लागत गुणस्तर नेपालका लागि आवश्यक छ वा छैन सुरक्षण मुद्रण चाहिने हो वा हैन समयावधि, मुलुकलाई हुने तुलनात्मक लाभ, प्रविधि हस्तान्तरण विधि तथा सम्पूर्ण डाटा प्रणालीको सुरक्षा जस्ता विषयमा जानकारी लिने गरेको थिए। ती व्यक्तिहरूबाट प्राप्त हुने सूचना र जानकारीहरू कति विश्वसनीय छन् तथा यसमा कस्ता प्रकारका नाजायज काम हुन सक्छन् भन्ने तथ्य पत्ता लगाउनु पनि मेरो कर्तव्य हो।’
उनले आफ्नो विजयप्रकाश मिश्रसँग भेट भएको र त्यतिबेला मिश्रले लगानी बोर्डबाट सुरक्षण मुद्रण सम्भाव्यता अध्ययन गर्ने अनुमति प्राप्त भएको व्यक्तिका रूपमा परिचय गराएको उल्लेख गरेका छन्।
यो पनि:
झुठो लान्छना र गालीबेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटाले हाले जिल्ला अदालतमा मुद्दा
‘उनले भेट गर्ने क्रममा नाजायज प्रस्ताव राखेपछि नेपाल राज्यविरूद्धमा कुनै कार्य गर्नु मेरो इमान, राजनीतिक नैतिकता तथा मन्त्री हुँदा लिएको शपथविरूद्धमा हुने भएकोले प्रतिवादी तथा निजले प्रतिनिधित्व गरेको कम्पनीको हितमा कुनै कार्य मन्त्रालयबाट गरिएन र गर्न दिइएन’, बाँस्कोटाले मुद्दामा उल्लेख गरेका छन्।
उनले आफूलाई यस्तो प्रस्ताव आएपछि सार्वजनिक रूपमा टिप्पणी गरेको विषयलाई प्रमाणका रूपमा अदालतमा पेश गरेका छन्।
‘मिति २०७५ वैशाख २३ गते समाचारपत्रमा दिएको अन्तरवार्तामा "हो, मान्छे आउँछन् यति करोड कमिसन आउँछ सही गर्दिन पर्यो भनेर" भन्ने उल्लेख गरेको थिएँ', बाँस्कोटाले दायर गरेको मुद्दामा भनिएको छ, ' मैले मिति २०७६ पुस २३ गते बुधबारका दिन नेपाल पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसका दिन "..म मन्त्री भएदेखि कसले कमिसन दिन आए भन्ने कुराको डायरी लेख्दै छु..." भनी सार्वजनिक रूपमा नै व्यक्त गरेबाट समेत स्पष्ट हुन्छ।'
बाँस्कोटाले मिश्र जस्ता विभिन्न कम्पनीका 'एजेन्टहरूले बदनियत साथ आफ्नो निहित तुच्छ स्वार्थ पूरा गराउन लागेको' देखेकै कारण सरकार-सरकारबीच मात्र खरिदको निर्णय गरेको दाबी गरेका छन्।
'मैले सुरक्षण मुद्रणसम्बन्धी कार्य सरकार-सरकारबीच मात्र खरिद गर्ने विधि अवलम्बन गर्न राष्ट्रको हितमा हुने भएकोले सोही प्रक्रिया अगाडि बढाएको थिएँ। यस क्रममा सुरक्षण मुद्रण सम्बन्धमा अनुभव र क्षमता भएका मुलुकहरूसँग परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गर्न निर्देशन दिएको थिएँ। यस पश्चात मैले प्रतिवादी जस्ता विभिन्न कम्पनीका कथित एजेण्ट भनिनेहरूसँग भेटघाट बन्द गरी उक्त कार्यका लागि नेपाललाई सहयोग र सहकार्य गर्न इच्छा व्यक्त गर्ने मित्रराष्ट्रका महामहिम राजदूत, सम्बन्धित मुलुकले परराष्ट्र मन्त्रालयमार्फत् तोकी पठाएका प्रतिनिधिहरूसँग नेपालको परराष्ट्र मन्त्रालय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूलाई साथै राखी सामूहिक बैठक तथा छलफल गर्ने गरेको थिएँ। सो कुरा परराष्ट्र मन्त्रालयको अभिलेखबाट समेत बुझन सकिन्छ’, बाँस्कोटाले दायर गरिएको मुद्दामा भनिएको छ।
उनले अडिओ टेपमा कुनै सत्यता नभएको जिकिर गरेका छन्।
'प्रतिवादीबाट सृजित कथित अडिओ टेपमा कुनै सत्यता छैन। रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन। मलाई फसाउने उद्देश्यले रचिएको प्रपञ्च हो भन्ने कुरा यस सम्बन्धमा मैले लिएको निर्णय र कार्यबाट नै स्पष्ट भैसकेको छ', बाँस्कोटाले दायर गरेको मुद्दामा भनिएको छ, 'कथित अडिओ टेपको हवला दिइ सञ्चार माध्यममार्फत् प्रतिवादीले प्रकाशन र प्रशारण गराए जसरी मैले प्रतिवादीबाट कमिसन लिने वा निज जस्ता कमिसन एजेण्टको हितमा काम गर्ने भए सरकार-सरकार (जिटुजि) विधिबाट खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने कार्य गर्ने थिइनँ।'
उनले आफ्नो निर्णयले भ्रष्टाचार सिद्ध नहुने तर्क गरेका छन्।
'कुनैपनि भ्रष्टाचार हुनको लागी मनसाय, तयारी तथा कार्यको विद्यमानता हुनुपर्छ। मबाट भ्रष्टाचारजन्य काम गर्ने मनसाय देखाउने, सोही मनसायलाई कार्यान्वयन गर्ने गरी योजना बनाउने, तयारी गर्ने वा त्यसलाई कार्यान्वयन तहमा पुर्याउने कार्य भएको छैन। प्रतिवादीको हवाला दिई सञ्चार माध्यममा आएको कुराको ठीकविपरीत प्रतिवादीले कथित अडिओ टेपमा उल्लेख गरेको कार्यमा मैले सहयोग नगरेको, निज प्रतिवादीले प्रतिनिधित्व गर्ने कम्पनीसँग मन्त्रालयले कुनै पत्राचार नगरेको र त्यसलाई वेवास्ता गरेबाट नै उक्त अडियो टेप मलाई राजनीतिक, चारित्रिक तथा सामाजिक रूपमा वा बदनाम गर्ने उद्देश्यले बदनियत तथा योजनाबद्ध रूपमा सृजना गरिएको भन्ने कुरा स्पष्ट छ।'
बाँस्कोटाले आफूलाई बदनाम गरिएको र झूटा लाञ्छना लगाइएकाले गाली बेइज्जती गरेकोमा मिश्रलाई कारबाही माग गरेका छन्।
सम्बन्धित समाचार :
प्रधानमन्त्री ओलीले गरे गोकुल बाँस्कोटाको बचाउ
सञ्चार मन्त्री बाँस्कोटाले दिए राजीनामा
मन्त्री बाँस्कोटा मुछिएको सेक्युरिटी प्रेस प्रकरण के हो?
खाएको विष लाग्छ, नखाएको लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्: गोकुल बाँस्कोटा
महराको जस्तो नहोस् मन्त्री बाँस्कोटाको अडियोको नियति!