सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले पार्टीभित्र कतिपय विषय विवादास्पद बनाइएका बताएका छन्।
‘विवादभन्दा पनि कतिपय विषय विवादास्पद बनाइएको जस्तो लाग्छ,’ थापाले शनिबार पोखरामा पत्रकारहरूसँग भने, ‘यसले केही निम्त्याउने देखेका छैनौं।' कसले पार्टीभित्र विषय विवादास्पद बनाइरहेको छ भन्ने उनले खुलाएनन्।
पार्टीमा बहस हुनु स्वभाविक भएको थापाले बताए। पार्टी सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको उनले बताए। मन्त्रीपरिषदले सिफारिस गरेर राष्ट्रपतिले गौतमलाई मनोनित गर्ने उनले बताए।
पार्टी भित्रको विवादले सरकार मध्यावधी चुनाब गराउन जाने होकी भन्ने कतिपयले अनुमान गरेको भन्दै उनले त्यो अनुमान मात्रै भएको बताए ।
सुरक्षा सम्मेलनलाई संवोधन गर्दै गृहमन्त्री थापाले नेपालका तर्फबाट नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको बताए।
सरकारले नेपाली भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गरिराखेको बताए।
‘हामी हाम्रो भूमि फिर्ताका लागि कुटनीतिक लविङ जारी राखेका छौं। सचिवस्तरीय टोलीले त्यो काम गरिरहेको छ,’ उनले भने, ‘हाम्रो तर्फबाट नक्सा छाप्ने प्राविधिक काम पूरा भएको छ। नक्सा निकाल्ने अन्तिम तयारी छ। छिट्टै हाम्रो भूमि समेटेर नक्सा सार्वजनिक गर्छौ।’
नेपालको तर्फबाट सिमामा सुरक्षा चेक पोष्ट बढाउने काम भइरहेको उनले जानकारी दिए।
गत वर्षमात्र ८७ वटा चेक पोष्टबाट बढाएर १०४ पुर्याइएको र यस वर्ष यसलाई दोब्बर पार्ने उनले जानकारी दिए। दक्षिण र उत्तर दुवै तर्फ चेकपोष्ट स्थापना गरिने उनले बताए ।
वर्तमान सरकार बनेपछि देशमा पहिलेको तुलनामा सुरक्षा र सुशासन कायम भएको उनले दाबी गरे। ‘पहिलेको तुलनामा सुशान कायम भएको छ। अन्तिराष्ट्रिय संघसस्थाहरुले पनि त्यही भनेका छन्। मैले दाबी गरेको या सरकारले मात्र यसो भनेको होइन,’ उनले भने।