नेपाली कांग्रेसमा फेरि गुट झगडा बल्झिएको छ।
भागबन्डा गरी नेविसंघ तदर्थ समिति बनाउन पाएपछि तत्काल मत्थर विवाद विभागका संयोजक मनोनित गरेपछि फेरि बल्झिएको छ।
सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव वीरगञ्ज भएका बेला शनिबार साँझ १३ विभाग संयोजक तोकेका थिए।
बरिष्ठ नेता पौडेलले विभाग संयोजकको नाम दिन नमानेपछि देउवाले बेग्लै गुट चलाइआएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको साथ लिएर महत्वपूर्ण मानिएका विभाग गठन गरेका हुन्।
देउवाले संगठन, प्रचार, विदेशस्थित जनसम्पर्कजस्ता महत्वपूर्ण विभाग आफूले राखेका छन्। संगठन हेर्ने जिम्मेवारी उनले पूर्वउपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठलाई दिए। प्रचारमा प्रवक्ता विश्वप्रकाश शर्मा र जनसम्पर्कमा गोविन्द भट्टराई संयोजक छन्।
एक विभाग र दुई जना नेता आमन्त्रित केन्द्रीय सदस्य बनाउन पाएपछि सिटौलाले देउवालाई साथ दिएको स्रोतको दाबी छ। झापाका गोपालबहादुर बस्नेत र सुधीरकुमार शिवाकोटी सिटौला पक्षका हुन्। उनीहरूलाई देउवाले शनिबार आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरिदिए।
१३ विभागका संयोजक तोकिँदा सिटौला पक्षका शिवप्रसाद हुमागाईं श्रमिक तथा ट्रेड युनियन विभागका संयोजक भएका हुन्। ‘शुक्रबार सभापति देउवाले बरिष्ठ नेतासँग टेलिफोनमा कुराकानी गरेर विभागमा रहने साथीहरूको नाम माग्नुभएको हो। बरिष्ठ नेताले नाम दिनुभएन,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने।
बरिष्ठ नेताले नाम उपलब्ध गराउन नमानेपछि देउवाले सिटौला समुहका हुमागाईंलाई एक विभागको जिम्मा लगाएर १२ विभाग आफूले राखेको ती केन्द्रीय सदस्यले जानकारी दिए।
देउवाले पार्टी विधानअनुसार १३ औं महाधिवेशन भएको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने थियो। यसबीचमा कांग्रेस संघीय संरचनामा गयो र विधानमा केही हेरफेर गरियो। नयाँ विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग पूर्णता दिइसक्नुपर्ने उल्लेख छ।
२०७२ फागुन २० गते कांग्रेसको १३ औं महाधिवेशन भएको थियो। देउवाले नियमित कार्यकाल सकिनु तीन दिन पहिले र सभापति भएको चार वर्षपछि विभाग गठन गरेका हुन्।
१४ औं महाधिवेशन गर्न देउवाले २०७७ फागुन १९ सम्म अहिलेकै कार्यसमितिको म्याद थप गरिसकेका छन्।
संघीय विधानअनुसार समायोजन सकिएका जिल्लामा शुक्रबारदेखि नयाँ सदस्यता वितरण तथा पुराना सदस्यता नवीकरणका काम सुरू भइसकेका छन्। ७७ मध्ये ३२ जिल्लामा कांग्रेसले पार्टी विधानअनुसार संगठन निर्माण गरेको छ। फागुन १५ सम्म समायोजन सक्न केन्द्रीय समितिले निर्देशन दिए पनि अहिलेसम्म सकिएको छैन।
देउवाले दाङका कृष्णकिशोर घिमिरे, धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन्। आफूहरूसँग परामर्शविना विभाग र केन्द्रीय सदस्य मनोनित गरेकोमा पौडेल पक्ष नेतृत्वसँग असंतुष्ट छ।
कांग्रेसभित्र देखिएको झगडा यो पहिलो भने होइन। भागबन्डा मिल्दा विधानका कुरा नउठाउने नेताहरू भाग मिलेन भने विधानका कुरा उठाउँछन्। मंसिर २६ गते केन्द्रीय समितिमा एक वर्ष कार्यकाल थप गर्ने, नेविसंघ गठन, तरूण दल म्याद थप, विभाग संख्या २८ बाट ४७ पुर्याउनेजस्ता प्रस्ताव ल्याउँदा पौडेल र सिटौलाले देउवाको विरोध गरे।
पुस तेस्रो साता केन्द्रीय कार्यालयमा जिल्ला सभापति भेला गरेर महाधिवेशन कार्यतालिकालगायत निर्णय सच्याउन दवाव दिए। पुस ११ गते पौडेल र सिटौला समुह अनुपस्थित बैठकबाट ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्नेलगायत कार्यतालिका देउवाले केन्द्रीय समितिबाटै ल्याएका थिए।
माघ १३ गते बसेको केन्द्रीय कार्यसमितिले महाधिवेशन कार्यतालिका केही हेरफेर गरेर अरू निर्णय हुबहु अनुमोदन गरेको थियो। पुसदेखि केन्द्रीय समिति बैठक नगएका पौडेल र सिटौला पनि यो बैठकमा सहभागी रहेका थिए।
बैठक बस्नुअघि देउवा निवास बुढानिलकण्ठमा जिल्ला अधिवेशनलगायत कार्यतालिका हेरफेर गरी ०७७ दशैंलगतै गर्न पौडेल-सिटौला सहमत भए। यतिमात्र होइन नेविसंघ तदर्थ समितिमा भागबन्डाका आधारमा ९ जना महामन्त्री राख्ने निर्णय भयो। एक महिनादेखि विधान कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका पौडेल विधान मिचेरै नेविसंघ गठनमा सहमत भए जवकी नेविसंघमा दुई महामन्त्री मात्रै राख्न मिल्छ।
वीरगञ्ज रहेका बरिष्ठ नेता पौडेलले सभापति देउवाले विभाग गठन गरेकोमा असंतुष्टि जनाएका छन्। १४ औं महाधिवेशन तोकिइसकेको बेला आफूतर्फ नेता आकर्षित गर्न अहिले विभाग गठन गरिएको उनको तर्क छ।
पौडेल समुहले प्रदेश २ को वीरगञ्जमा आफू पक्षका नेता/कार्यकर्ता शनिबार भेला गरेका थिए। आइतबार बागमती प्रदेशको हेटौंडामा पूर्वसभापतिहरूको बैठक राखिएको छ। जहाँ बरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महतलगायत नेता उपस्थित छन्।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले सभापति देउवा धेरै उदार रहेको बताउँदै पार्टीमा समान अबसर नदिएकोमा भने विरोध गरेका छन्। ‘सभापति देउवा धेरै दानी र उदार हुनुहुन्छ। चारपटक प्रधानमन्त्री भई छानीछानी मन्त्री, सांसद र राजदूत बाँडिसकेका नेतालाई खालि बस्दा खल्लो हुन्छ नै,’ विभाग गठनपछि भण्डारीले भनेका छन्, ‘ठूला नेताले विधान मान्नु पर्दछ भनेर कतै लेखिएको छैन! गुटको समायोजन न हो।’
तर देउवा समुहका एक केन्द्रीय सदस्यले सभापतिले सहमतिअनुसार नै पार्टी चलाउन खोजे पनि एकपछि अर्को बाहनामा असहयोग हुने गरेको बताए। ‘सहमतिका लागि चार वर्षसम्म विभाग गठन हुन सकेन। अब कति कुर्ने? नाम माग्दा बरिष्ठ नेताले नदिएपछि केही विभाग गठन गरिएको हो,’ ती केन्द्रीय सदस्यले भने।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि सहमतिमै विभाग गठन गर्न सभापतिले चाहेको उल्लेख गरेका छन्।