नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापतिले विधानअनुसार नै विभागहरू गठन गरेको बताएका छन्।
शनिबार र सोमबार गरी सभापति शेरबहादुर देउवाले २० विभाग प्रमुख तोकेका थिए।
बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले विभाग गठनमा नाम दिएको थिएन। पौडेलले १४ औं महाधिवेशन व्यवस्थित ढंगले गर्ने तयारीमा जुट्नुपर्ने बेला विभाग गठन गरिएकोमा असंतुष्टि जनाउँदै आएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले भने, ‘विभाग गठनमा महाधिवेशनको आचारसंहिता उलंघन भएको छैन। यो विधानअनुसार नै गठन गरिएको हो। संगठनात्मक कुरा हो।’
कांग्रेसले १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने घोषणा गरिसकेको छ।