राष्ट्रिय सभाका एकतिहाइ सांसदका लागि मंगलबार भिन्न दिन रह्यो।
गोला थुतेर दुई बर्षे कार्यकाल पाएका सत्ता-प्रतिपक्षी सांसदले बैठक बस्नुअघि सामुहिक फोटो खिचाए। लगत्तै बैठक बस्यो।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यकाल सकिन लागेका सांसदलाई कार्यअनुभव सुनाउन ५ मिनेट समय दिए।
सांसदहरूले पालैपालो आफ्ना अनुभव सुनाए।
बोल्ने पालो प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डेको आयो। उनले ‘कहिल्यै पनि आफूलाई विपक्षी दलको नेता हुँ भन्ने अनुभव नभएको’ बताए।
नेकपा, कांग्रेस, समाजवादी र राजपाका गरी १९ सांसदको कार्यकाल मंगलबार सकिएको हो। कार्यकाल सकिनेमा नेकपा सांसदसमेत रहेका अर्थ र सञ्चार मन्त्री युवराज खतिवडा पनि एक हुन्।
खतिवडा दुई बर्षे कार्यकालको अन्तिम दिन बसेको संसद बैठकमा उपस्थित भए तर बोलेनन्। १७ जना सांसदले आफ्ना अनुभव सुनाउँदै गर्दा खतिवडा भने राजीनामाको तयारी गर्दै थिए। खतिवडाले मंगलबार नै त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्रीलाई भेट पनि गरे।
खतिवडाले मंगलबार अपरान्ह अर्थमन्त्री र सञ्चारमन्त्रीबाट राजीनामा दिए। उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ। रिक्त भएका दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्नेछन्।
कार्यकाल सकिएका अरू सांसदले संसदमा अनुभव सुनाए पनि खतिवडाले किन सुनाएनन् त? खतिवडा फेरि राष्ट्रियसभामा मनोनित हुने पर्खाइमा छन्। उनले सम्बोधन नगर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।
नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सिफारिस गरेको छ। तर प्रधानमन्त्री ओलीको चाहना खतिवडालाई नै निरन्तरता दिने छ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना राष्ट्रिय सभा सदस्य मनोनित गर्न बाँकी छ। उक्त पदमा गौतम वा खतिवडा कसलाई दिने भन्नेमा नेकपाभित्र विवाद छ।
तर खतिवडा पुन: राष्ट्रिय सभा सदस्य मनोनित भएनन् भने पनि आगामी छ महिनासम्म मन्त्री हुन उनलाई संविधान बाधक बन्ने छैन।
राष्ट्रियसभामा नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुइ, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनित खतिवडा गरी १९ को कार्यकाल सकिएको हो।
एक तिहाइ सांसदलाई बिदाइ गर्दै अध्यक्ष तिमिल्सिनाले योगदानको चर्चा पनि गरे।
उनीहरू २०७४ माघ २४ मा भएको निर्वाचनबाट सदस्य भएका थिए। २०७४ फागुन २१ देखि राष्ट्रिय सभाको बैठक सुरू भएको थियो। दुई बर्षमा एक सय ५२ दिनमा एक सय ७४ वटा बैठक बसेको तिमिल्सिनाले जानकारी गराए।
‘चार वटा अधिवेशन सकिएर पाँचौं अधिवेशन चालु छ। १५२ दिनमा १७४ बैठक बसेका छन्, ६५ विधेयक पारित भएको छ,’ उनले भने, ‘सात विशेष प्रस्ताव छलफल गरी सरकारलाई मार्गनिर्देशन गरिएको छ।’
उनले बिदाइ भएर गएका सांसदलाई उच्च राजनीतिक सफलताका लागि शुभकामना पनि दिए। अर्को बैठक बुधबार दिउँसो सवा १२ बजे बस्ने गरी स्थगित भएको छ।
निर्वाचनबाट आएका १८ जना नयाँ सांसदको सपथ पनि बुधबार नै हुँदैछ।
एक जना सांसद भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्न बाँकी छ। उक्त पदमा नेकपाका उपाध्यक्ष गौतम वा आज राजीनामा दिएका अर्थमन्त्री खतिवडा को आउँछन् अहिले नै टुंगो लागिसकेको छैन।