नेपाली कांग्रेसका असंतुष्ट पक्षको भेला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको छ।
सभापति देउवाले एकलौटी ढंगले २० वटा विभाग र केही केन्द्रीय सदस्य मनोनित गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असंतुष्ट छ।
१४ औं महाधिवेशन अर्को वर्ष फागुनमा गर्ने निर्णय भएर क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरू सुरू भइसकेका बेला देउवाले भटाभट मनोनित गरेपछि महाधिवेशन प्रभावित हुन सक्ने भन्दै पौडेल पक्ष सशंकित छ।
काठमाडौंमा रहेका केन्द्रीय सदस्य र जिल्ला सभापति र उपसभापतिहरूको भेला बुधबार सिंह निवासमा बसेको हो। उक्त भेलामा बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायत उपस्थित छन्।
सिंहका सहयोगी यूपी लामिछानेका अनुसार आवश्यक रणनीति तय गर्न भेला बसेको हो।
मंगलबार पनि देउवाइतर समुहका नेताको बैठक महामन्त्री कोइराला निवासमा बसेको थियो। उक्त भेलामा महाधिवेशन बाहेकका बैठकमा सहभागिता जनाउन नहुने आवाज उठेको थियो।
कांग्रेसमा ४७ विभागमध्ये देउवाले २० विभाग संयोजक तोकिसकेका छन्। पौडेल पक्षसँग विभागका संयोजकको नाम माग्दा नदिएपछि विभाग गठन गर्नुपरेको देउवा पक्षका नेताहरू बताउँछन्।
कांग्रेस विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। तर सभापति देउवाले नियमित कार्यकाल सकिनै लाग्दा भटाभट विभाग गठन गरेपछि विवाद भएको हो।