नेपाली कांग्रेसमा असन्तुष्ट पक्षको भेला आज पनि बस्यो।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बुधबार बसेको सो बैठकले पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गर्ने प्रशिक्षण कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको छ।
उपसभापति विमलेन्द्र निधि संयोजक रहेको प्रतिष्ठानले आजै पार्टी केन्द्रीय कार्यालयमा जिल्लाका उपसभापतिलाई प्रशिक्षण राखेको थियो।
प्रशिक्षण सुरू हुनुपूर्व सिंह निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, सरिता प्रसाईंलगायत उपस्थित रहेको भेलामा काठमाडौंमा उपलब्ध जिल्ला सभापति, उपसभापति सहभागी थिए।
आफू पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति र उपसभापतिलाई वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले निर्देशनसमेत दिए। उनीहरूले सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनै लाग्दा भटाभट केन्द्रीय सदस्य, विभागहरूमा संयोजक मनोनित गरेकोमा असन्तुष्टि जनाए।
‘पार्टीको महाधिवेशन समयमा नहोस् भन्ने, भातृ तथा शुभेच्छुक संघसंस्थाको चुनाव पनि हुन नदिने र आफैं सभापति लड्ने योजनाका साथ सभापतिजी हुनुहुन्छ,’ भेलामा पौडेलले भने, ‘हामीसँग परामर्शविनै सभापतिजी मनलाग्दी गरिरहनुभएको छ। महाधिवेशनलाई अल्मल्याउने यस्ता खेलहरू मान्य छैन।’
भेलाले उपसभापति निधिले डाकेको प्रशिक्षणमा आफ्ना पक्षका जिल्ला उपसभापति नपठाउने निर्णय पनि गरेको छ। बैठकले गरेका निर्णयबारे जानकारी दिँदै पूर्वमहामन्त्री सिंहले भने, ‘जिल्ला उपसभापतिहरूसँग राय दिने र हामीले आफ्ना कुरा राख्न भेला डाकिएको हो। अहिले प्रशिक्षण राखेर महाधिवेशनलाई प्रभावित गर्न खोजिरहेको भन्ने निष्कर्षमा हामी पुगेका छौं।’
सभापति देउवाले अहिले विभाग गठन गरेकोमा पौडेल समूहले भिन्न मत राखेको छ। चार वर्षसम्म विभाग खाली राख्ने र महाधिवेशन तोकेपछि आचारसंहिता मिचेर विभाग गठन गर्नुलाई देउवाले आफ्नो भोट बढाउने रणनीति लिएको आरोप पौडेल पक्षको छ।
‘हरेक कुराको काम गर्ने समय हुन्छ। समय घर्केपछि सभापतिजीले विभाग गठन गर्नुभयो,’ सिंहले भने, ‘गठन भएका विभागले काम गर्न नपाउँदै महाधिवेशन आइसक्छ। अन्तिम समयमा विभाग गठन गर्नुको कुनै अर्थ छैन।‘
महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने तय भइसकेका बेला आचारसंहिता मिचेर विभागहरू गठन गर्न नहुने कार्यकर्ताको भनाइ रहेको सिंहले तर्क गरे। ‘महाधिवेशनको तिथि मिति तोकिसकेको र निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रत्यक्ष र परोक्ष रूपमा प्रभावित गर्ने काम भएको छ। अब यसो गर्न हुन्न भन्ने कार्यकर्ताको भनाइ छ,’ सिंहले भने।
वडादेखि केन्द्रसम्म अधिवेशनका लागि मिति तोकेपछि व्यवस्थित रूपमा महाधिवेशन गर्नेतर्फ नेतृत्वको ध्यान हुनुपर्ने सिंहले बताए। ‘समग्र रूपमा ध्यान १४ औं महाधिवेशनमा केन्द्रित हुनुपर्छ। सभापतिजीका पछिल्ला निर्णयले निश्पक्ष तवरले महाधिवेशन हुन्न कि भन्ने शंका उत्पन्न भएको छ,’ उनले भने।
उनले पार्टी विधानअनुसार समायोजनका काम पनि सक्नुपर्नेमा जोड दिए। ७७ जिल्लामध्ये ३५ जिल्लामा मात्रै कांग्रेसले संघीय विधानअनुसार संरचना बनाएको छ। फागुन १५ भित्र सबै जिल्लामा समायोजनका काम गर्न केन्द्रीय समितिले निर्देशन दिएपछि जिल्लाका कार्यसमितिले उक्त निर्देशन मानेका छैनन्।
पौडेल समूहले मंगलबार पनि भेला राखेको थियो। महामन्त्री कोइराला निवास महाराजगञ्जमा बसेको भेलामा जिल्ला सभापतिहरू पनि उपस्थित थिए। उनीहरूले सभापति देउवा एकलौटी हिसावले अगाडि बढेको भन्दै महाधिवेशनबाहेकका पार्टीले डाकेका बैठकमा नजाने निर्णय गरेका छन्।
पौडेल मंगलबार विराटनगर थिए। उनले त्यहाँ पनि नेतृत्व एकलौटी ढंगले अगाडि बढिरहेकोमा विरोध गरेका थिए। सोमबार हेटौंडा र शनिबार वीरगञ्जमा पौडेल पक्षले नेता, कार्यकर्ता भेट गरेका थिए। उक्त भेलामा पौडेलले सभापति देउवाको आलोचना गरेका थिए। ‘पैसा र पदको लोभ देखाएर सभापतिजीले हाम्रा मान्छे राखेर एकलौटी विभाग गठन गरिरहनुभएको छ,’ पौडेलले भनेका थिए।
गत पुस ११ को केन्द्रीय समितिले २८ बाट बढाएर विभाग संख्या ४७ बनाउने निर्णय गरेको थियो। पछि पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको सहमतिमा उक्त निर्णय सर्वसम्मत केन्द्रीय समितिबाटै अनुमोदन भएको थियो।
गत साता सभापति देउवाले विभाग गठन गर्ने योजना पौडेललाई टेलिफोन गरेर सुनाएका थिए। विभागमा रहने संयोजकको नामसमेत देउवाले पौडेलसँग मागे पनि पौडेलले अहिले विभाग गठन गर्न नहुने भन्दै नाम पठाएनन्।
पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्रका विवाद संवादबाटै हल गरिने जानकारी दिए। ‘विभाग गठन गर्ने अधिकार विधानले सभापतिलाई दिएको छ। ढिलो विभाग गठन गरेकोमा सभापतिको आलोचना स्वभाविक हुन्छ तर विधानविपरीत भन्न मिल्दैन,’ शर्माले भने।
सभापतिले एकलौटी विभाग गठन नगरेको उनको भनाइ छ। ‘४७ मध्ये २० विभाग संयोजक तोकिएका छन्। सबै गठन गरेको भए पो एकलौटी भन्न मिल्छ,’ उनले भने।
उनले विवाद हल गर्न संवाद आवश्यक रहेको बताए। ‘संवादबाट सहमति, सहमतिबाटै महाधिवेशनमा जाने हो,’ उनले भने। विधानअनुसार १० जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउन मिल्ने र राजनीतिक निर्णय अनुसार अन्य पार्टीबाट कांग्रेसमा आएकालाई जिम्मेवारी दिन सकिने उनले तर्क गरे।
‘विजयकुमार गच्छदारलाई पनि राजनीतिक निर्णयबाट उपसभापति बनाएको हो,’ शर्माले भने, ‘राप्रपा छाडेर आउनुभएका डोल्पाका कर्ण बुढा र राजपा महामन्त्री छाडेर आउनुभएका जंगीलाल रायलाई जिम्मेवारी दिनु विधानविपरीत होइन।’
सभापति देउवाले विभाग गठन गर्नुलाई उनले एकलौटी भन्न नमिल्ने तर्क गरे। ‘१३ औं महाधिवेशनमा अन्य समूहमा रहेका साथीहरूलाई पनि विभागमा जिम्मेवारी दिइएको छ,’ उनले भने। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका काभ्रेका शिवप्रसाद हुमागाईंलाई देउवाले श्रमिक तथा ट्रेड युनियन विभाग संयोजक बनाएका छन्।
यस्तै पौडेल पक्षका तनहुँका नेता गोविन्द भट्टराईलाई देउवाले गत शनिबार नेपाली जनसम्पर्क समिति विभागको संयोजक बनाएका थिए। यस्ता विभाग गठनले महाधिवेशनलाई प्रभावित नपार्ने शर्माले दाबी गरे।
‘महाधिवेशनलाई विभाग गठनले कुनै प्रभाव पार्दैन,’ शर्माले भने, ‘निर्वाचन आचारसंहिता मिचिएको पनि होइन।’
पौडेलले आफूपक्षका भेला चाक्सीबारीमा गरिरहेका बेला सभापति देउवा भने धनगढीमा पत्रकार सम्मेलन गर्दै थिए। उनले विभाग गठनपछि पार्टीभित्र विवाद बढेको सन्दर्भमा भने, ‘सल्लाह गरौं भन्दाभन्दै यतिका वर्ष वित्यो, त्यही भएर विभाग गठन गरिदिएँ।’
उनले आफूले इमान्दारिताका साथ पार्टीमा काम गरिरहेको पनि दाबी गरे। तोकिएको समयमै महाधिवेशन गर्ने भएकोले कुनै शंका नगर्न देउवाले आग्रह गरे। ‘निर्धारित समयमै महाधिवशेन हुन्छ। यता उता कुरै छैन,’ सभापति देउवाले भने।