जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। ८ लाख रुपैयाँ घुससहित माघ १० गते पक्राउ परेका अध्यक्ष केसीलाई बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
उनीसँगै जुनीचाँदे गाउँपालिकास्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरिएको छ। गाउँपालिका वडा नम्बर ५ स्थित विभिन्न उपभोक्ता समितिको बिल भुक्तानी गराइदिए वापत अध्यक्ष केसीले घुस मागेका थिए। पछि घुस बुझ्न जाँदा प्रधानाध्यापक बस्नेत पनि सँगै गएका थिए।
अध्यक्ष केसीसँगै पक्राउ परेका शिक्षक बस्नेत जुनीचाँदे गाउँपालिका उपाध्याक्ष शिवा आचार्यका श्रीमान् हुन्।
उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले केसी र उनीसँगै घुस रकम बुझ्न गएका बस्नेतलाई ८ लाख रुपैयाँसहित रंगेहात फक्राउ गरेको थियो।
अनुसन्धानको सिलसिलामा अध्यक्ष केसी र बस्नेतले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस माग गरी दुवैजनाले बाँडेको पुष्टि भएको अख्तियारले विज्ञप्तीमार्फत जनाएको छ।
दुवै जनालाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ३ को उपदफा (१) बमोजिम ८ लाख रुपैयाँ वीगो कायम गरी सजाय माग दावीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
वडा अध्यक्ष पनि मुछिए, केसीलाई दुई मुद्दा
जुनीचाँदे गाउँपालिकाका अध्यक्ष केसीलाई भ्रष्टाचारसम्बन्धी दुईवटा मुद्दा दायर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नै उपभोक्ता समितिबाट धम्की दिएर घुस लिएको उजुरी दर्ता गरेको छ।
यो मुद्दामा उनीसँगै जुनीचाँदे गाउँपालिका–५ का वडा अध्यक्ष राजबहादुर शाही समेत मुछिएका छन्। विभिन्न समयमा दुईजना मिलेर २५ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रमाणित गर्दै आयोगले विशेष अदालतमा दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो।
अध्यक्ष कृष्णबहादुर केसी र वडा अध्यक्षलाई २५ लाख ५० हजार वीगो कायम गरी भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।