नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई केन्द्रीय सदस्य बनाएको छ।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएकाहरूलाई समेटेर सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय सदस्य मनोनित गरेका हुन्।
‘तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जनालाई कांग्रेस केन्द्रीय समितिको सदस्यमा समायोजन गर्ने निर्णय भएअनुसार सभापतिले आज मनोनित गर्नु भएको हो,’ पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।
गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य दिने निर्णय भएको पाँच महिनापछि सभापति देउवाले आज केन्द्रीय सदस्य बनाएका हुन्।
कैलालीका रामजनम चौधरी, सिराहाका नसिर सिद्धिकी, झापाका भारतेन्दुकुमार मल्लीक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित, बर्दियाकै मंगलप्रसाद थारु, दाङका योगेन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपाने, सुनसरीकी सुमित्रा थरुनी, सुनसरीकै कल्पना चौधरी र मोरङका पवनकुमार सारडा केन्द्रीय सदस्य भएका हुन्।
गत वर्ष कात्तिक २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले राजनीतिक निर्णयका आधारमा गच्छदारलाई उपसभापति मनोनित गरेको थियो।
उक्त निर्णय विधानविपरीत भन्दै त्यसबेला विरोधसमेत भएको थियो। कांग्रेसको पुरानो विधानमा एक जना मात्रै उपसभापति रहने व्यवस्था थियो। देउवाले विमलेन्द्र निधिलाई त्यसअघि नै उपसभापति बनाइसकेका थिए।
२०७४ सालको चुनावअघि गच्छदारले पार्टी कांग्रेसमा मिलाएका थिए। त्यही वर्ष फागुन २१ गते गच्छदार संसदीय दलको उपनेता चयन भएका थिए।
गत वर्ष कात्तिकमा गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेकै दिन कांग्रेसले औपचारिक रूपमा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको घोषणा गरेको थियो। कांग्रेसमा पार्टी समाहित गरेको झण्डै एक वर्षपछि औपचारिक एकताको घोषणा भएको थियो।
गच्छदारले २०६४ सालमा पहिलो संविधानसभा चुनाव हुनु पहिले कांग्रेस छाडेर गएका थिए। दश वर्षपछि २०७४ असोज ३० गते नेता/कार्यकर्तासहित गच्छदार पुरानै घर फर्किएका थिए।
पछिल्लो समय गच्छदार पार्टीमा सक्रिय देखिएका छैनन्। ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसदबाट उनी निलम्बनमा परेका छन्। पार्टी समाहित गरेपछि गच्छदार सभापति देउवा निकट छन्।
देउवाले पछिल्लो समय पार्टीमा विभाग, आमन्त्रित केन्द्रीय सदस्य र जेष्ठ नागरिक मञ्च गठन गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल असंतुष्ट छन्। १४ औं महाधिवेशन घोषणा भइसकेको बेला देउवाले एकपछि अर्को पदमा मनोनित गरेर नेता/कार्यकर्ता आफूतर्फ आकर्षित गर्न खोजेको आरोप पौडेल पक्षको छ।
कांग्रेसको महाधिवेशन अर्को वर्ष फागुन ७ देखि १० सम्म काठमाडौंमा हुनेछ। महाधिवेशनका लागि क्रियाशील सदस्यता र नवीकरणका कार्यहरू केही जिल्लामा सुरू भइसकेको छ। महाधिवेशन तयारीमा जुट्नुपर्ने बेला सभापति देउवाले २० विभाग संयोजक तोकेर महाधिवेशन नै प्रभावित पार्न खोजेको भन्दै पौडेल पक्षले महाधिवेशन बाहेकका भेलामा नजाने बताएको छ।