नापी कार्यालय कास्कीबाट पाइने सबै सेवा अब मोबाइल एपबाट लिन सकिने भएको छ।
कार्यालयले बनाएको मोबाइल एपबाटै सेवाका लागि टोकन लिन सकिनेछ। टोकन लिँदा सेवाग्राहीले चाहेकै समयमा काम हुने कास्कीका नापी प्रमुख खिमलाल गौतमले बताए।
एपको शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले सार्वजनिक गरिन्।
उनका अनुसार कार्यालयबाट जग्गाको हालसाविक भिडाउने, नक्सा प्रिन्ट, नक्सा ट्रेश उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकिकरण लगायतका सेवा उपलब्ध हुन्छ।
यी सेवाहरु पनि मोबाइल एपबाटै लिन सकिने गौतमले बताए। एप डाउनलोड गर्न एन्ड्रोइड मोबाइलको प्लेस्टोरबाट एसओकेपी सर्च गरेर मोबाइलमा इन्स्टल गर्न सकिन्छ ।
‘नापी कार्यालय अपारदर्शी भयो। भ्रष्टाचार भयो भन्ने आरोप छ,’ उनले भने, ‘सहज र सुलभ सेवा दिन एप ल्याएका छौं, अब विचौलियाको भर पर्न पर्दैन।’
विचौलिया र लेखापढी व्यवसायीले कर्मचारीलाई घुस दिनुपर्छ भनेर पैसा लिने र कर्मचारीको बदनाम गराएको उनले गुनासो गरे।
एप सार्वजनिक पश्चात मन्त्री अर्यालले छिटो छरितो सेवा दिन र सुशासनका लागि प्रविधिको प्रयोग बढाएको बताइन्। उनले देशभरका १०८ वटा मालपोत कार्यालय र ९० वटा नापी कार्यालयमा अनलाईन सेवा शुरु गरेको समेत दाबी गरिन्।
‘हाम्रो सेवाका बारेमा केही प्रश्न उठे, हामीले जवाफ व्यवहारबाट दिनुपर्छ,’ उनले भनिन्, ‘मुखले जवाफ दिएर भएन, औंला ठड्याउनेलाई यही जवाफ हो।’ अबको जग्गा प्रशासन पारदर्शी र सुशासन हुनुपर्ने उनले बताइन्।
सोही अवसरमा मन्त्री अर्यालले नापी विभागले आयोजना गरेको नापी नक्सा कार्य सञ्चालनका लागि सिप विकास सम्बन्धी गोष्ठीको समापन गरिन्। कार्यक्रममा बोल्दै उनले सेवा प्रवाहको तौर तरिका परिवर्तन गर्न कर्मचारीलाई निर्देशन दिइन्।
विभिन्न ३३ वटा नापी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सतर्क र सावधानी अपनाउन आग्रह गरिन्। ‘जबर्जस्ती दाग लगाइदिएर दोषी भइदैन,’ उनले भनिन्, ‘जोगिनुहोला।’
नागरिकका सेवा दिन ढिलासुस्ती मान्य नहुने उनले बताइन्। ‘हुने काममा ढिलाई नगर्नुहोला, कानुनले नदिने काम नगर्नुहोला,’ उनले भनिन्, ‘राजनीतिक नेतृत्वबाट नहुने काम गर्न दबाब आउँदैन।’ मन्त्री अर्यालले सेवा प्रवाहका क्रममा नफस्न र व्यक्तिगत लाभको पछि नलाग्न समेत कर्मचारीलाई आग्रह गरिन्।