पछिल्लो समय नेपालका राजनीतिक दलहरू सामुहिक नेतृत्वमा जान थालेका छन्।
झन्डै २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो।
एकता पछि पार्टीमा दुई अध्यक्ष किन भन्ने प्रश्नमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले ठूला जहाज दुई पाइलटले उडाउने जवाफ दिए। नेकपालाई बोइङ, एयरबसका विशाल जहाजसँग तुलना गर्दै आफूहरूले त्यस्तो पार्टी चलाउन लागेको उनको आशय थियो।
तर पछिल्लो समय अरू साना दलले पनि बहुनेतृत्वमा जाने चलन पछ्याएका छन्।
केही समयअघिमात्र नयाँ शक्ति पार्टी र समाजवादी फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीमा अहिले बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष छन्। राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्ष मण्डलबाट बेला बेलामा अध्यक्ष फेरिइरहन्छन्।
अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब सामूहिक नेतृत्वमा चल्ने भएको छ।
पार्टीमा तीन अध्यक्ष रहने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच बुधबार एकता भएको हो।
अब पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी चलाउने छन्।
यो पनि:
खल्तीबाट गीता निकालेर कमल थापाले भने- म कहिल्यै पनि पार्टी फुटाउने छैन
गत शनिबार राति राणाले नेतृत्व गरेको राप्रपा संयुक्त र थापाले नेतृत्व गरेको राप्रपाबीच पार्टी एकता गर्ने दश बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो।
त्यसको चार दिनपछि बुधबार काठमाडौं सभागृहमा आयोजित एकता सभामा राणा र थापाले सहमति पत्र आदान प्रदान गरेका हुन्।
एकीकरण घोषणा सभा हेर्न नेता/कार्यकर्ताको बाक्लो उपस्थिति थियो।
जब नेताहरू मञ्चमा बोल्न थाले तब कार्यकर्ताले गीता पुस्तक छोएर अब पार्टी फुटाउँदिन भन्न अध्यक्षहरूलाई आग्रह गरिरहे। गीता नछोएसम्म हो-हल्ला जारी राखे।
एकीकरण सहमतिपत्र आदानप्रदान गर्दा नै गीता छोएर कसम खान कार्यकर्ताले आग्रह गरे पनि सुरूमा अध्यक्षहरूले खासै चासो दिएका थिएनन्।
जब अध्यक्ष थापा बोले तब उनले खल्तीबाट गीताको सानो पुस्तक निकाल्दै भने- म कहिल्यै पार्टी फुटाइदिनँ। थापाले यसोभन्दा कार्यकर्ताले ताली बजाएर स्वागत गरे।
आफ्नो भाषण बिट मार्दै गर्दा अध्यक्ष थापाले गीताको पुस्तक अरू अध्यक्षहरूलाई पनि चाहिन सक्ने भन्दै पोडियममा छाडेर गए।
लगत्तै बोलेका अर्का अध्यक्ष लोहनीले पनि गीता छोए। उनले भागवत गीता भन्ने शब्द उच्चारण गरेपछि कार्यकर्ताले ताली बजाएर हुटिङ गरेका थिए।
‘भागवत गीता भन्नेबित्तिकै किन हल्ला?,’ भाषण गर्दागर्दै लोहनीले कार्यकर्तालाई सोधे, ‘चिन्ता नगर्नुस्, यो पार्टीलाई एक बनाएर लैजान्छौं। यहाँ गीता पनि रहेछ, वचन नै ठूलो कुरा हो। हामी धर्म र कर्ममा विश्वास गरेर जान्छौं।’
यसपछि बोल्ने पालो आयो अर्का अध्यक्ष राणाको। उनले पनि गीता नछोइ धरै पाएननन्। सरकार, अहिलेको व्यवस्थाप्रति आक्रामक देखिएका राणाले हिन्दु राष्ट्र पुन: फर्काएरै छाड्ने, आफूहरूले दुई तिहाइ ल्याउनेसम्मको भाषण गरे।
भाषण बिट मार्दै जब उनी बस्ने ठाउँतिर जान लागेका थिए- कार्यकर्ताले हुटिङ गरे। अध्यक्ष राणाले गीता पुस्तक छुन बिर्सेछन्। ‘ए, ए’ भन्दै उनले गीता छोए र भने राप्रपा एक भएर जान्छ।
राप्रपा फुटेको दुई वर्षपछि फेरि मिलेको हो। सामुहिक नेतृत्वअनुसार अघि बढ्ने, पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाका रूपमा राजसंस्था स्वीकार गर्नेलगायत एजेन्डा मिलेपछि दुई राप्रपा एक भएको हो।
राप्रपामा चुनाव चिन्ह हलो कि गाई भन्ने टुंगो लाग्न बाँकी छ। अबको छ महिनाभित्र चुनाव चिन्हबारे निर्णयमा पुग्ने उनीहरूबीच सहमति छ। चुनाव चिन्हबारे राप्रपाभित्र विवाद नयाँ भने होइन। २०७४ सालमा स्थानीय तह निर्वाचन हार्नुमा चुनाव चिन्ह पनि एक कारण भनियो।
त्यसबेला अध्यक्ष राणा पक्षले हलो चुनाव चिन्ह नलिएकोले पराजित भएको दाबी गरेका थिए। यही विवाद बढ्दै गएपछि २०७४ साउन २२ गते राणाले नयाँ दल खोले- राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक। राणालाई त्यसबेला सुनिलबहादुर थापा, दीपक बोहरा र विक्रम पाण्डेलगायतले साथ दिएका थिए।
राणा अलग हुनुमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टी जाने/नजाने विवाद पनि अर्को हो। थापाले सरकारमा जानुपर्ने बताएको र राणा सरकारमा जान नहुने पक्षमा उभिएका थिए। यो विवाद चर्केपछि २०७३ मंसीर ६ मा मिलेको राप्रपा वर्षदिन नपुग्दै फुटेको थियो।
२०७३ मै लोहनीले पनि पार्टी फुटाएका थिए। उनले राप्रपा राष्ट्रवादी पार्टी बनाए तर धेरै टिकाउन सकेनन्। राणा नेतृत्वको पार्टीसँग एकता गर्दै उनी राप्रपा संयुक्तमा क्रियाशील रहेका थिए।
तर राप्रपाको त्यो फुट पहिलो भने थिएन। त्यसअघि २०६२ सालमा कमल थापाले राप्रपा फुटाएका थिए। राजा ज्ञानेन्द्रले २०६९ माघ १९ गतेको शाही कदम समर्थन या विरोध गर्ने भन्ने विवाद चर्केपछि थापाले पार्टी फुटाएका थिए। त्यसपछि थापाले गाई चुनाव चिन्ह लिएका हुन्।
त्यसअघि नै राप्रपा फुटाएर राष्ट्रिय जनशक्ति पार्टी बनाएका सूर्यबहादुर थापा नेतृत्वको समूह पनि २०७० सालमा राणा नेतृत्वमै मिलेको थियो। २०४९ सालमा गठन भएको राप्रपाले यसबीचमा दुई जनालाई प्रधानमन्त्री र पटकपटक सरकारमा आफ्ना पार्टीका नेतालाई मन्त्री बनाएको छ।
चुनाव आउन तीन वर्ष बाँकी रहेका बेला राप्रपा किन मिले भन्ने खुलेको छैन। अध्यक्ष राणाको भनाइ अनुसार अबको चुनावमा दुई तिहाइ ल्याउने र पुन: हिन्दु राष्ट्र कायम गराउन एकता भएको हो।
‘हामीले दुई पटक प्रधानमन्त्री बनायौं। त्योभन्दा ठूलो उद्देश्य लिएर हामी एक भएका छौं,’ उनले भने, ‘सानो आँट गरेका छैनौं। दुइतिहाइ बहुमततिर अघि बढ्नुपर्छ। पुन: हिन्दु राष्ट्र बनाउनु पर्छ।’
उनले अहिलेकोभन्दा इमान्दार र दक्ष शासन आफूहरूले दिन सक्ने पनि दाबी गरे।
‘इमान्दार र दक्ष शासन दिन्छौं भनेर अगाडि बढेका छौं। यो मुलुकको काँचुली फेर्ने यज्ञमा तपाईंहरूको सक्रिय सहभागिता चाहिन्छ,’ उनले भने।
अर्का अध्यक्ष लोहनीले संस्थापक नेताहरू सूर्यबहादुर थापा, राजेश्वर देवकोटा, हेमबहादुर मल्ललगायतलाई स्मरण गर्दै यो पार्टीलाई एक बनाएर लैजाने बताए। ‘हामी धर्म र कर्ममा विश्वास गरेर अघि जान्छौं,’ उनले भने।
दुई अध्यक्षभन्दा अगाडि बढेर अर्का अध्यक्ष थापाले राप्रपा अब कांग्रेस वा कम्युनिष्टको विकल्प भएको बताए। उनले आफूहरूले वैचारिक रूपमा पनि तेस्रो धारको नेतृत्व गरेको दाबी गरे।
यो पनि:
सूर्यबहादुरका छोरा सुनिलले गरे राप्रपा एकीकरण बहिष्कार
राप्रपा एकीकरणमा जे देखियो (फोटोफिचर)
राप्रपा एकीकरण घोषणासभामा माग: गीताको पुस्तक छोएर अब फुट्दैनौं भन्नुपर्यो