सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई नवलपरासी (बर्दघाट पश्चिम) मा सभापति मनोनित गरेपछि नेपाली कांग्रेसभित्र गुटगट विवाद फेरि चर्केको छ।
महामन्त्री शशांक कोइराला निकट कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसेर देउवाले आफू निकट विष्णुप्रसाद पौडेललाई पठाएका हुन्।
चार दिनअघि फागुन २५ गते पौडेलको पदस्थापना भइसकेको छ। अनुशासन समिति सदस्यसमेत रहेका देउवानिकट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पौडेललाई सभापतिमा पदस्थापना गर्न पुगेका थिए। कँडेल नवलपरासीबाट निर्वाचित सांसद पनि हुन्।
केन्द्रमा हुने गुटगत झगडाको प्रभाव जिल्लामा पनि देखिएको छ। महामन्त्री कोइराला र कँडेल नवलपरासीको पार्टी राजनीतिमा अर्थ राख्ने नेता हुन्। कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट १३ औं महाधिवेशनमा महामन्त्री र कँडेल देउवा समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
सभापति देउवाले नियमित चार वर्षे कार्यकालका अन्तिम दिनमा भटाभट विभागदेखि केन्द्रीय सदस्यसम्म मनोनित गरेका थिए।
आफूहरूसँग परामर्शविनै सभापतिले एकलौटी विभाग गठन गरेको आरोप पौडेल पक्षको छ। कार्यकाल सकिनै लाग्दा देउवाले २० विभाग गठन गर्नु, जिल्ला सभापति मनोनित गर्नुलाई १४ औं महाधिवेशन प्रभाव पार्ने खेलको रूपमा पौडेल पक्षले बुझेको छ।
देश संघीय संरचनामा जानु पहिले नवलपरासी कांग्रेस सभापति विष्णु लामिछाने थिए। पछि नवलपुर र नवलपरासी दुइटा जिल्ला बन्यो। त्यसपछि लामिछाने नवलपरासी (बर्दघाट पूर्व) नवलपुरका सभापति भए। उपसभापति अर्जुन पोखरेललाई बर्दघाट पश्चिम नवलपरासीमा कार्यवाहक सभापतिको जिम्मेवारी दिइयो।
संघीय विधानअनुसार अन्तरिम संरचना समायोजन अन्तर्गत भन्दै देउवाले नवलपरासीमा आफू निकट पौडेललाई सभापतिको जिम्मेवारी सुम्पेर पत्र थमाएपछि विवाद भएको हो।
‘देउवाजीले १४ औं महाधिवेशनमा सहयोग हुने अपेक्षासहित शशांकजी निकटका नेता हटाएर आफूनिकट नेतालाई जिल्ला सभापति बनाए,’ एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘महाधिवेशन आउन एक वर्ष पनि बाँकी नहुँदा सभापतिजीले महामन्त्रीलाई चिढ्याउनुभयो। देउवाले कति मसिनो गरी आउँदो महाधिवेशनको तयारी थालिसके भन्ने यसले प्रष्टाउँछ।’
तर शशांकसहित वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति देउवाको यो कदमको विरूद्धमा छन्। तीन दिनदेखि पौडेल पक्षका नेता यही विषयमा भिन्न ठाउँमा गुटगट छलफल गरिरहेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेर जिल्ला सभापतिमा पुन: पोखरेललाई नै पुनर्बहाली गर्न सभापति देउवालाई पत्र लेख्ने निर्णय उनीहरूले गरेका थिए।
शशांकनिकट स्रोतका अनुसार आज केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलगायत नेताहरू अब कसरी अघि बढ्ने भन्ने छलफलमा व्यस्त रहेका थिए।
‘पोखरेललाई नै सभापति बनाउनुपर्ने लिखित पत्र लेख्ने र बुझाउने जिम्मेवारी महामन्त्री कोइरालाजीलाई वरिष्ठ नेताले दिनुभएको हो,’ शशांकनिटक स्रोत भन्छ, ‘पत्र लेख्नुअघि सभापति र महामन्त्रीबीच भेटघाटकै तयारी छ।’
कार्यवाहक सभापति पोखरेललाई हटाएर पौडेललाई जिम्मेवारी दिनु विधानविपरीत भन्ने महामन्त्रीसहित पौडेल पक्षको दाबी छ।
विधानको धारा ५० को ८ अनुसार कार्यवाहक जिल्ला सभापति हटाउन नमिल्ने पौडेल पक्षले बताएको हो।
उक्त धारामा सभापतिको मृत्यु वा राजीनामापछि रिक्त भए उपसभापति कार्यवाहक हुने उल्लेख छ।
तर सभापति देउवा समूहले जिल्ला सभापति मनोनित विधानअनुसार नै भएको बताएको छ। एक भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने विधानलाई समाएर देउवाले आफूनिकट पौडेललाई जिल्ला सभापति बनाएका हुन्।
‘कार्यवाहक सभापति पोखरेलजी महाधिवेशन प्रतिनिधि हुनुहुन्न,’ देउवानिकट एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘विधानमा सभापति हुन महाधिवेशन प्रतिनिधि भएको हुनुपर्नेछ लेखिएकै छ। विधान कार्यान्वयन गर्न जिल्लामा लामो समयदेखि काम गर्दै आउनुभएका पौडेलजीलाई सभापति मनोनित गर्नु परेको हो।’
नवलपरासीमा संघीय निर्वाचन क्षेत्र दुइटा छ।