नेपाली कांग्रेसभित्र भिन्न गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले आन्तरिक बैठक डाकेको छ।
१४ औं महाधिवेशनको तयारीमा पार्टी जुटेपछि रणनीति तय गर्न भन्दै सिटौलाले सोमबार भेला बोलाएका हुन्। सिटौला समूहका एक नेताका अनुसार बत्तिसपुतलीमा दिउँसो १२ बजे बैठक बस्नेछ।
सिटौलाले बैठकमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी, शिव हुमागाईं, प्रदीप पौडेल, गगन थापा लगायतलाई बोलाएका छन्।
सिटौला समूहमा रहेका हुमागाईंलाई हालै सभापति शेरबहादुर देउवाले एक विभागको संयोजक दिएपछि उनी देउवा समूहमा गएको चर्चा थियो। आफू निकटका केन्द्रीय सदस्यहरू देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट भएको चर्चाबीच सिटौलाले बैठक राखेका हुन्।
चार वर्षअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा सिटौला सभापति उम्मेदवार बनेका थिए। पछि उनले सभापतिमा देउवालाई सहयोग गरे। सिटौला समूहबाट त्यसबेला महामन्त्रीमा थापा उठेका थिए। तर थापाले चुनाव जितेनन्, उनी शशांक कोइरालासँग पराजित भएका थिए।
सिटौलाले महाधिवेशनपछि पनि भिन्न गुट चलाइआएका छन्। आजको भेलाबाट उनले आउँदो महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्ने रणनीति सार्वजनिक गर्न सक्ने ती केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए।