नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले केन्द्रीय सदस्य उमाकान्त चौधरीले अनुशासन समिति सदस्यबाट दिएको राजीनामा फिर्ता भइसकेको बताएका छन्।
सोमबार आफ्नो समूहका नेतासँग बत्तीसपुतलीमा बैठक गर्दै सिटौलाले केही अप्ठ्यारा देखिएपछि चौधरीले राजीनामा बुझाए पनि फिर्ता गरिदिएको बताएका हुन्।
‘उहाँको राजीनामाको कुरा क्लियर गरिदिनुपर्यो। अनुशासन समिति ५ जनाको छ। उमाकान्तजीलाई हाम्रो तर्फबाट प्रतिनिधित्व गराएका छौं,’ सिटौलाले भने, ‘समितिमा बसेर काम गर्दै जाँदा उहाँलाई कठिनाइ पनि छ। समस्या पनि छ। उहाँका केही कुराहरू थिए। त्यसैले सभापतिलाई दिने राजीनामा मलाई नै दिनुभयो।’
चौधरीले फागुन २८ गते आफूलाई राजीनामा दिए पनि उक्त राजीनामा सभापतिलाई भने पेश नगरेको उनले बताए।
‘उहाँले राजीनामा दिनुभयो, म झापातिर लागें। उहाँ पनि बाहिर जानुभयो,’ सिटौलाले भने, ‘हिजो कुराकानी भयो, अब त्यो राजीनामा फिर्ता गरिदिन्छु।’
चौधरीले राजीनामा फिर्ता गरेको जानकारी आफूले सभापति शेरबहादुर देउवालाई दिइसकेको पनि उनले बताए।
‘उहाँले मलाई राजीनामा पत्र दिनुभएको थियो। त्यो पत्र सभापतिजीलाई दिएको पनि छैन। हिजो सभापतिजीलाई राजीनामा फिर्ता गरेको जानकारी गराइदिइसकेको छु,’ उनले भने।