प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ।
बुधबार सभामुख सापकोटाले प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल गर्न बैठक राखेका थिए।
अध्यक्ष तिमिल्सिनाले उक्त बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाए। उनी आफू त उपस्थित भएनन् राष्ट्रिय सभाअन्तर्गतका समिति सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिए।
‘अध्यक्षज्यूले सरसल्लाह भएन भन्नुभयो,’ राष्ट्रिय सभाको दीगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले भनिन्, 'अन्य कारण थाहा भएन।'
अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापतिहरू नआउने भएपछि सभामुख सापकोटाले आजको बैठक स्थगित गरेका छन्। अध्यक्ष तिमिल्सिना निकट एक सभापतिका अनुसार सापकोटालाई उनले मंगलबार नै नआउने जानकारी गराएका थिए। 'संयुक्त बैठक अध्यक्षज्यूले रद्द गर्न भन्नुु भएको थियो। किन उहाँले बिहान फेरि बैठकका लागि पहल गर्नुभयो भन्ने प्रश्न अध्यक्षज्यूको छ', ती सभापतिले भने।
सापकोटा र अध्यक्षबीच किन छ मनमुटाव?
संघीय संसदको 'कार्यवाहक' महासचिव गोपालनाथ योगीलाई तोकिएको विषयमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन्।
चैत २ गते सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई 'संघीय संसदको महासचिव भई कामकाज गर्न तोकेको' पत्र दिएका थिए। उक्त पत्रमा 'राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यबाहक तोकिएको' भन्ने उल्लेख थियो।
आफूसँग परामर्श नगरी, पत्रमा गरेको भनेकामा तिमिल्सिनाले सभामुख सापकोटासँग आपत्ति जनाएका हुन्। योगीलाई कार्यबाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए।
'सभामुख सापकोटासँगको भेटमा अध्यक्षज्यूले आफूसँग परामर्श नगरी योगीलाई कार्यबाहक तोकिएकोमा आपत्ति जनाउनुभयो,' अध्यक्ष तिमिल्सिना निकट स्रोतले भन्यो।
स्रोतका अनुसार, अध्यक्ष तिमिल्सिनाले महासचिवको योग्यतामा उल्लेख भएको उमेरको विषय र कानुनी प्रश्न हेर्नमात्रै भनेका थिए।
योगी प्रतिनिधिसभाको सचिव बन्दा पूर्व माओवादीले सिफारिस गरेको थियो।
संघीय संसदको महासचिव र सचिवको नियुक्ति तथा योग्यता सम्बन्धी कानूनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ।
योगीको उमेर ४५ पुग्न अझै १५ महिना बाँकी छ। पूर्व एमालेको सिफारिसमा राष्ट्रिय सभा सचिव बनेका राजेन्द्र फुयाँल पनि ४५ वर्ष पुगेका छैनन्। उनी अहिले ४१ वर्षका मात्र छन्।
आफ्नो सिफारिसमा नियुक्त सचिवको योग्यतामा उमेर बाधक बनेपछि पूर्व एमाले वृतमा बाहिरबाट महासचिव नियुक्त गर्नुपर्ने मत बलियो रूपमा उठेको छ।
स्रोतका अनुसार संघीय संसदको महासचिव बन्ने दौडमा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी समेत छन्। कानुनमा स्नातकोत्तर गरेका अधिकारीलाई महासचिव बनाउन राष्ट्रपतिले समेत नेताहरूसँग परामर्श थालेको स्रोतले बतायो।
संघीय संसद सचिवालयका दुई सचिव भरतराज गौतम र ध्रुव घिमिरे पनि महासचिवको दौडमा छन्। मनोहरप्रसाद भट्टराईले महासचिवबाट अवकाश पाएपछि अहिले उक्त पद रिक्त रहेको छ।
प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल र अधिवक्ता टिकाराम भट्टराईको समेत महासचिवको रूपमा चर्चा छ। स्रोतका अनुसार भट्टराईले सभामुखमा अग्नि सापकोटालाई चयनको विरोध गरेकाले उनको सम्भावना छैन। दाहालको नाम चर्चामा भएपनि उनी प्रत्यक्ष लबिङमा जुटेका छैनन्।
संघीय संसद सचिवालयका दुई सचिवले भने बाहिरबाट महासचिव ल्याइए असहयोग गर्ने प्रष्ट सन्देश प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई दिएका छन्।
'यदि २५ वर्ष काम गरेका कर्मचारीलाई महासचिव नबनाउने हो भने कर्मचारीहरूले के आधारमा काम गर्छन्,' सचिवालयका सचिवहरूले सभामुख र अध्यक्षसँग गरेको कुराकानी उदृत गर्दै स्रोतले भन्यो, 'उहाँहरूले बाहिरबाट ल्याइए असहयोग गर्ने बताउनु भएको छ।'
सत्तारूढ नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादको असर संघीय संसदको महासचिव नियुक्तिमा समेत परेको छ।
पूर्व माओवादी पक्षले योगीलाई १५ महिना कार्यबाहक तोकेर पछि महासचिवमा नियुक्ति गर्ने तयारी गरिरहेको छ। पूर्व एमाले पक्षधर भने महासचिवमा पूर्व माओवादीलाई रोक्न जुटेको छ।
अध्यक्ष तिमिल्सिनाले सापकोटासमक्ष १५ महिनासम्म कार्यबाहकले संसद सचिवालय चलाउन नहुने कुरा स्पष्ट शब्दमा राखेको स्रोतको भनाइ छ। उनले पार्टीका दुई अध्यक्ष र राष्ट्रपतिसँग समेत परामर्श गर्नुपर्ने मत सापकोटासँग राखेका छन्।
'महासचिव नियुक्ति प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले गर्ने हो। त्यसमा राष्ट्रपतिको पनि केही छ कि बुझ्नुपर्छ,' सापकोटासँग तिमिल्सिनाको कुराकानी उदृत गर्दै स्रोतले भन्यो, 'मैले मात्र निर्णय गर्ने हो भन्ने नठान्नुस्। हस्ताक्षर तपाईंले गर्ने हो। तर राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधि सभा सभुमख भनेको बराबरी हो।'
सापकोटाले कार्यवाहक चयन गर्दा सोधखोज नगरेकोमा नेकपा संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङ समेत असन्तुष्ट छन्।
उनले ४५ वर्ष उमेर पुगेको व्यक्ति संसदको महासचिव हुन योग्य हुने अवस्था हुँदाहुँदै योगीलाई कार्यवाहक तोकिएकोमा विरोध जनाएका छन्।
पूर्व माओवादी खेमाले संविधानसभा निर्वाचनअघि मनोहरप्रसाद भट्टराईलाई झण्डै दुई वर्ष सुवास नेम्वाङले कार्यवाहक महासचिव बनाएको नजिर देखाएको छ।
'त्यतिबेला पनि निमत्त वा कार्यवाहक भनेर सुवास नेम्वाङले नियुक्ति नदिएर महासचिवका रूपमा कामकाज गर्ने भनेर दिनु भएको थियो,' सभामुख सापकोटा निकट एक नेताले सेतोपाटीसँग भने, 'अहिले उहाँले विरोध जनाउनुको अर्थ छैन।'
महासचिवका रूपमा कामकाज गर्न नेम्वाङले भट्टराईलाई तोकेका बेला संसदको कार्यसूचीमा 'कार्यवाहक महासचिव' उल्लेख गरेका थिए। त्यही नजिरका आधारमा पछिल्ला दुई राष्ट्रिय सभा बैठकको कार्यसूचीमा योगीलाई कार्यवाहक महासचिव भनेर उल्लेख गरिएको छ।
नेम्वाङले भने विगतको नजिरको दुरूपयोग भएको बताएका छन्।
'एक जनाले एउटा पसलबाट रेडियो चोरेछ। पन्ध्र दिनसम्म कोही खोज्न आएनछ। त्यसपछि पनि उसले मोबाइल चोरेछ। यसपटक प्रहरीले पक्रिएछ,' नेम्वाङले भने, 'चोरले पहिला चोर्दा कारबाही नभएको नजिर देखाएर अहिले कारबाही गर्न मिल्दैन भनेछ।'
विगतमा दुई सदन नरहेको,प्रतिनिधि सभा र राष्ट्रियसभामा सचिव नरहेको र संसद सचिवालय तर्फ पनि एकमात्र सचिव रहेको अवस्थाको नजिर अहिले प्रयोग गर्न नमिल्ने तर्क नेम्वाङको छ।
सभामुख पद पूर्व माओवादीले पाएका कारण महासचिव छाड्न नहुने मत पूर्व एमालेमा छ। पूर्व माओवादीतर्फ भने अहिले सभामुख भएका बेला समेत महासचिव छाड्न नहुने मत छ।
संविधानमा महासचिव नियुक्ति गर्दा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले गर्ने उल्लेख गरिएको छ।