लकडाउनको तेस्रो दिन बिहीबार साँझ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुकमा भिडिओमार्फत् कोरोना भाइरस संक्रमणबारे आफ्ना भनाइ राखे।
११ मिनेट लामो उक्त भिडिओ सन्देशमा पौडेलले व्यक्त गरेको एउटा अभिव्यक्ति भने अहिले विवादमा छ।
नेता पौडेलले कोरोना भाइरस महामारीका बेला आमसहमति जुटाएर नागरिकका समस्या समाधान गर्नुपर्ने बताएका छन्।
उनले यस्तो बेला आमसहमति आवश्यक हुने जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नआउने तर्क प्रस्तुत गरेका छन्।
‘सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस्। यस्तो बेलामा आवश्यक पर्यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ, दुनियाँमा यस्तो पनि प्रचलन छ,’ पौडेलले भिडिओमा भनेका छन्।
बरिष्ठ नेता पौडेलले यस्तो अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी कांग्रेसकै धारणा यही हो कि भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट नै गरेर यही सरकारलाई सहयोग गर्ने र सरकारको क्षमता हेर्ने बेला अहिले रहेको बताएका छन्।
यस्तै चर्चाबीच सेतोपाटीले शुक्रबार नेता पौडेललाई टेलिफोन गरी देशमा दुई तिहाइको सरकार छ, तपाईंलाई किन राष्ट्रिय सहमतिको सरकार चाहिएको भन्ने प्रश्न गरेको थियो?
जवाफ दिनुभन्दा पहिला उनी एकछिन हाँसे।
‘संकटका बेला दुनियाँमा यस्तो पनि चलन छ भनेर भन्न खोजेको हुँ। सरकारमा जान कुनै हतार भएर मैले त्यस्तो भनेको होइन।’
पौडेलको पार्टी कांग्रेस प्रतिपक्षमा छ। पौडेल आफैं तनहुँबाट चुनाव हारेका नेता हुन्।
‘मलाई सरकारमा जान हतार भएर भनेको होइन नि,’ उनले दोहोर्याए।
नेता पौडेलले लकडाउनका बेला आफू पनि घरमै बसिरहेको बताए।
‘फुर्सद छ, घरमै बसिरहेको छु। आराम गरेको छु। पुस्तक पढ्ने, अनलाइनमा समाचार पढ्ने गरेको छु,’ पौडेलले भने, ‘सकेसम्म बाहिर निस्केको छैन। बेलाबेला खुट्टा तन्काउन आँगनसम्म पुग्छु। लकडाउनमा घरमै बस्ने हो।’
उनले नेता/कार्यकर्ता र शुभेच्छुकसँग टेलिफोनमै कुराकानी गरेको र अहिलेका लागि भेटघाट बन्द गरेको बताए।
नेता पौडेलले सरकारबाट घोषणा भएको लकडाउनको स्वागत गर्दै स्वास्थ्य र रोगको संक्रमणबाट बच्न उपर्युक्त निर्णय भएको बताए। सरकारले चैत १८ सम्म लकडाउन घोषणा गरेको छ।
कोरोनाले देशको सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा समेत प्रभाव पारेको उनको भनाइ छ।
नागरिकको सुरक्षासँगै स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलगायतको सुरक्षा चुनौतीपूर्ण बनेको उनले बताए। ‘स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिईको अभाव छ भन्ने सुनेको छु,’ उनले भने, ‘स्वास्थ्य क्षेत्र सुरक्षित हुन आवश्यक छ, सरकारले व्यवस्थापन मिलाओस्।’
उनले विदेशमा रहेका नेपालीको अवस्थाबारे पनि सरकारले चासो दिनुपर्ने बताए। ‘विदेशमा ५० लाख हाराहारी जनता छन् उनीहरूको पनि खोजि गर्नुपर्छ,’ पौडेलले भने।
उनले काम गरि दैनिक जीवनयापन चलाउने श्रमिकका लागि पनि सरकारले राहत दिनुपर्नेमा जोड दिए।
‘काम गरेर खाने मान्छेका लागि न काम न मामको अवस्था सिर्जना भएको छ,’ पौडेलले भनेका छन्, ‘उनीहरूको जीविकोपार्जनका बारेमा हामीले अहिलेदेखि नै सोच्न जरूरी छ।’
पौडेलले भारतमा २१ दिन लकडाउन गरिएको प्रसंग निकाल्दै नेपालमा पनि उक्त अवस्थाबारे थप सोच्नुपर्ने बताएका छन्। उनले लकडाउन नेपालमा पनि बढाउनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।