कोरोना संक्रमितसँग सम्पर्क भएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने भन्नेबारे सरकारको नीति ढुलमुले देखिएको छ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितसँग सम्पर्क भएका सबैको ट्रेसिङ गरेको र उनीहरू कसैमा पनि कोरोनाको लक्षण नदेखिएको जानकारी दिएको छ।
‘सबैको कन्ट्याक्ट ट्रेसिङ भइसकेको छ। उहाँहरूसँग नियमित सम्पर्कमा छौं र कसैलाई पनि लक्षण देखिएको छैन,’ पत्रकार सम्मेलनमा मन्त्रालयका सल्लाहकार डा. खेमबहादुर कार्कीले भने।
उनको कुराले सम्पर्कमा आएकाहरूमा लक्षण देखिए मात्र परीक्षण गर्ने सरकारको रणनीति भएको जनाउँछ।
पहिलो संक्रमित युवतीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएको कुरासँग कार्कीको भनाई मेल खाँदैन। ढकालले सबै यात्रुको खोजी गर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने भनेका थिए।
विज्ञहरूले संक्रमितसँग सम्पर्क भएकाहरूमा कोरोना सर्न सक्ने उच्च जोखिम हुने बताउँदै आएका छन्। चीन, अमेरिका लगायतका मुलुकमा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने मात्र होइन परीक्षण पनि गरिन्छ।
संक्रमितसँग हिमचिम भएका व्यक्तिमा लक्षण नदेखिए पनि कोरोना भाइरस सरेको हुन सक्ने प्रवल संभावना हुन्छ भनेरै त्यसो गरिएको हो। उनीहरूलाई लक्षण देखिनु अगावै अरूलाई सर्न सक्ने सम्भावना झन् बढी हुन्छ। त्यसैले पनि विज्ञहरूले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि क्वारेन्टाइनमा राख्न र परीक्षण गर्न आवश्यक रहेको बताएका हुन्।
यस्तो जोखिममा संक्रमितका परिवार बढी हुन्छन्। हामीकहाँ भने फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना भेटिएपछि आइसोलेसनमा राखेको सरकारले उनको परिवारलाई क्वारेन्टाइन बस्नु भन्ने सुझाव दिएर घर पठाइदियो। युवतीसँगै कतारबाट एउटै जहाजमा आएका अर्का यात्रुले ‘मलाई कोरोनाको परीक्षण गरिदेउ’ भन्दा समेत गरिएन।
अर्कोतिर युवतीसँगै कतारबाटै जहाजमा आएका ६ जना यात्रुहरू चितवनस्थित भरतपुर कोरोना अस्पताल गएपछि उनीहरूको परीक्षण गर्न नमुना काठमाडौं पठाइएको छ। ‘उहाँहरूले छरछिमेक पनि डराएको भनेपछि लक्षण नदेखिए पनि हामीले परीक्षण गर्न पठाएका हौं,’ अस्पतालका प्रमुख डा. भोजराज अधिकारीले सेतोपाटीसँग भने।
यसले संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्ने कि नगर्ने भन्नेबारे सरकारी नीति ढुलमुले भएको देखाउँछ। जनस्वास्थ्य विज्ञ समिरमणी दिक्षितले संक्रमितसँग सम्पर्क भएकालाई परीक्षण गर्ने नीति प्रष्ट हुनुपर्ने बताउँछन्।
‘कहिले संक्रमितसँगै आएकालाई पनि जाँचै नगरी घर पठाउँछ। कहिले जाँच्न पठाउँछ। यसले सरकारी नीति प्रष्ट नभएको देखिन्छ,’ उनले भने ‘कोरोना देखिएपछि मात्र उपचार गरौं भन्ने लाइन सरकारको देखिन्छ। यसले कोरोना संक्रमणलाई झन् जटिल बनाउने छ।’
कोभिड– १९ का लक्षण देखिएपछि मात्र परीक्षण गर्दा कति मानिसलाई यो सरिसकेको छ भन्ने अनुमान गर्न गाह्रो हुँदै जाने उनको भनाई छ।
क्वारेन्टाइनमा कसलाई राख्ने कसलाई नराख्ने भन्नेबारेपनि सरकारको नीति स्पष्ट छैन।
अहिले विदेशबाट आएका ९६ जनालाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएको छ। तर संक्रमितसँग आएका धेरैलाई होम क्वारेन्टाइनमा बस्नु भनेर सुझाव दिएको छ। तर होम क्वारेण्टाइनमा बस्दा सरकाले नै जारी गरेको मापदण्ड पुरा गर्न धेरैलाई गाह्रो हुने देखिन्छ।
बिहीबार सरकारले होम क्वारेन्टाइनमा बस्नेहरूले परिवारबाट दूरी कायम गर्ने, छुटटै बस्ने, खाना खाने र छुट्टै शौचालय प्रयोग गर्ने भनिएको छ।
दोस्रो संक्रमित युवासँगै युएईबाट एउटै जहाजमा आएकी एक युवती ललितपुरमा छन् भन्ने थाहा पाएपछि प्रहरी र वडाले उनलाई सम्पर्क गर्यो र होम क्वारेन्टाइनमै बस्न भनेर फर्काइयो।
ती युवती एउटा कोठामा परिवारका अरू दुईजना सदस्यसँग बस्दै आएकी छिन्। उनलाई मापदण्ड अनुसार क्वारेन्टाइन बस्न निकै हम्मे हुने दीक्षित बताउँछन्।
‘धेरैको घरमा एउटै शौचालय हुन्छ। कतिपय त भाडामा एउटै कोठामा परिवारसहित बस्ने पनि हुन्छन्। त्यस्तो अवस्थामा क्वारेण्टाइनको मापदण्ड पुरा गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘यसले परिवार र समुदायका अरू मानिसमा जोखिम बढाउँछ। सरकारले यस्तो समस्या आउन नदिन उनीहरूलाई तत्काल छुट्टै क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने व्यवस्था गर्नुपर्छ।’
बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले होम क्वारेन्टाइमा बस्न समस्या हुनेहरूलाई सरकारले राख्ने बताएका थिए। तर सम्पर्कमा आएकाहरूलाई समेत सरकारले चासो भने देखिएको छैन।