गत बिहीबार सिंहदरबारमा कुराकानीकै क्रममा एक मन्त्री भन्दै थिए, 'अब सबभन्दा जोखिम त सुदूरपश्चिममा हुने भयो। भारतबाट त्यत्रो मान्छे आए। गाउँगाउँ पुगिसके। समुदायमा घुलमिल भइसके।'
मन्त्रीको यो भनाइले अन्य प्रदेशभन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस जोखिम बढी छ भन्ने संकेत गर्छ।
शुक्रबार मात्र धनगढीस्थित सेती अस्पतालमा उपचाररत एकजना युवामा कोरोना संक्रमण भेटिएको छ। युएईबाट आएका उनी गत चैत ११ गते अस्पताल भर्ना भएका थिए।
यस्तै छिमेकी देश भारतमा संक्रमण बढ्दै गएपछि ठूलो संख्यामा नेपाली घर फर्केका छन्। अन्य प्रदेशभन्दा भारतसँग धेरै आवतजावत हुने सुदूरपश्चिम प्रदेशमा करिब डेढ लाख मान्छे नेपाल आएका छन्।
प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले दिएको तथ्यांक अनुसार फागुन २३ गतेबाट चैत १० गतेसम्म १ लाख ४३ हजार मान्छे भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला आएका छन्।
'यो हामीले जाँच गराएर छिर्न दिएको तथ्यांक हो। कति त्यसै पनि छिरे,' उनले भने।
विदेशबाट आउने सबै यात्रु अनिवार्य क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा बस्नुपर्छ। सरकारले सकेको खण्डमा क्वारेन्टाइनमै राख्नु बेस हुन्छ। यस्तो गर्दा सरकारले व्यक्तिको चौबिसै घन्टा निगरानी राख्नसक्छ।
तर मन्त्री सुवेदीले प्रदेशभर जम्मा ६ सय ६९ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको बताउँछन्। उनले सबभन्दा कमजोर पक्ष स्वास्थ्य पूर्वाधार रहेको औंल्याए।
उनले पहिले त प्रदेशस्तरमै नमूना परीक्षण प्रयोगशाला हुनुपर्ने माग गरे। पहाडी जिल्लाबाट नमूना संकलन गरेर ल्याउन समस्या रहेको उनी बताउँछन्।
'बैतडी, दार्चुलाबाट नमूना धनगढी ल्याउँदै १२ घन्टा बढी लाग्छ। फेरि यहाँबाट काठमाडौं पठाउन अर्को समस्या छ,' उनले भने।
उनले यसबारे केन्द्र सरकारसमक्ष कुरा राखे पनि आश्वसन मात्र पाएको बताए।
'हिजोमात्र मुख्यमन्त्रीले केन्द्रको उच्चस्तरीय समितिलाई प्रयोगशालाको कुरा राख्नुभयो। उहाँहरूले हुन्छ भन्नुभएको छ, अब हेरौं,' उनले भने।
मन्त्री सुवेदीले शुक्रबारसम्म जम्मा २७ जनाको मात्र परीक्षण भएको जनाए।
'एक जनाको पोजेटिभ, १३ जनाको नगेटिभ र बाँकीको नतिजा आएको छैन,' उनले भने।
नमूना परीक्षण गर्न सहज र छरितो भए संक्रमितको छिटो उपचार हुने र उनको सम्पर्कमा आएकालाई खोज्न सहज हुने मन्त्री सुवेदीको विश्वास छ।
केन्द्र सरकारले प्रयोगशाला नेपालगञ्जमा राख्ने कुरा गरेको छ। आफूहरूले धनगढीमा समेत राख्न अनुरोध गरेको उनले बताए।
अहिले देशभरमा नमूना परीक्षण गर्ने सुविधा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ। सरकारले सातै प्रदेशमा यस्ता प्रयोगशाला विस्तार गर्ने भने पनि चीनबाट पिसिआर मेसिन आएपछि मात्र त्यो सुविधा रहन सक्छ।
मन्त्री सुवेदीले प्रदेशमा स्वास्थ्य पूर्वाधार पनि कम रहेको कुरा उठाए। उनका अनुसार प्रदेशभर जम्मा २१ वटा आइसियू र १० वटा भेन्टिलेटरसहितका बेड छन्। भोलि भारतबाट आएकाहरूबाट जोखिम बढ्यो भने यो पूर्वाधारले थेग्न नसक्ने उनी बताउँछन्।
त्यसैले तत्काल आइसियू र भेन्टिलेटर क्षमता बढाउनुपर्ने उनको माग छ। विदेशबाट आउने संख्या प्रदेशमा धेरै भएकाले अन्यको तुलनामा सुदूरपश्चिम धेरै जोखिममा रहेको उनको भनाइ छ।
'भारतबाट आएकाहरू कसैलाई संक्रमण देखिए त्यो निकै खतरा हुन्छ,' मन्त्री सुवेदीले भने, 'उहाँहरू गाउँगाउँ गइसक्नुभएको छ। घुलमिल भइसकेको छ। त्यसैले त्यो स्थिति सकेसम्म नहोस्।'
अहिले मानिसहरू घरमा बसेको/नबसेको निगरानी राख्न सबै वडालाई निर्देशन दिइएको छ।
'यसै पनि सुदूपश्चिम सबैकुरामा पछाडि छ। यस्तो संकटमा जुध्न झन् गाह्रो छ,' उनले भने।