प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्ने भन्दै सक्रियता देखाएका छन्।
देउवाले पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेका हुन्।
आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन गरी कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका तयारी र अब चाल्नु पर्ने कदमबारे छलफल गरेको देउवाको सचिवालयले जानकारी दिएको छ।
‘कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले काम गर्न सभापतिज्यूले पूर्वप्रधानमन्त्रीहरूसँग कुराकानी गर्नुभएको हो,’ देउवाको सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरू र मन्त्रिपरिषदका पूर्वअध्यक्षसँग कुराकानी गरेर कोरोना संक्रमण संकटबारे कुराकानी गरेको जानकारी दिए।
‘सरकारले गर्ने प्रयत्न गरिराखेको छ। यस्तो बेला पदमा नभए पनि पूर्वप्रधानमन्त्रीहरूको भूमिका कुनै न कुनै रूपमा राष्ट्रलाई अभिप्रेरित गर्ने गरी साझा सन्देश दिने भन्ने पनि हो,’ शर्माले सेतोपाटीसँग भने।
सभापति देउवाको आग्रहलाई सबैले सकरात्मक रूपले नै लिएको र संकटका बेला सबै एक भएर मिलेर जानुपर्नेमा जोड दिएको शर्माको भनाइ छ।
देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड, वरिष्ठ नेता खनाल र नेपालसँग सरकारका कमीकमजोरी छन् भने सच्याएर जानुपर्ने पनि बताएका थिए।
‘अहिलेको संकट भनेको सिंगो नेपाल र नेपालीमाथिको संकट हो। यो दल उ दलभन्दा पनि मानव जातिमाथि संकट छ। सरकारले जति प्रयत्न गरेको छ यसलाई अझै गम्भीर रूपमा लिएर जानुपर्छ भन्ने सभापतिज्यूको भनाइ रह्यो,’ प्रवक्ता शर्माले भने।
संकटलाई पार लगाउन साझा ढंगले सोच्ने, रणनीति बनाउने र ऐक्यवद्धता जनाउने सन्दर्भमा सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग कुराकानी गरेको शर्माले जानकारी दिए।
सभापति देउवाले दैनिकजसो विज्ञप्ति निकालेर कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै परीक्षणको दायरा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। दैनिक ज्यालादारीलाई राहत उपलब्ध गराउन, डेरी गरी बस्ने विद्यार्थी र २० लाखभन्दा कम ऋण लिएर व्यवसाय गरेकालाई तीन महिना ब्याज मिनाह गर्न पनि देउवाले सरकारसँग माग गरेका थिए।
नेपालमा अहिलेसम्म ९ जना कोरोनाभाइरस संक्रमित देखिएका छन्। तीमध्ये एक जना निको भएर घर फर्किसके भने अरू काठमाडौं र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्।