कोरना संक्रमणको जोखिम कारागारमा ज्यादा रहेकाले कैदीबन्दीलाई मिल्नेसम्मका छुट दिन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
जरिवाना तिर्न नसकेर कैद भुक्तान गरेकालाई जरिवाना मिनाहा गरिदिन, अन्य कैदमा पनि कानुनबमोजिमका छुट र मिनाहा गरिदिन माग गर्दै केन्द्रीय कारागारमा रहेका सात कैदीबन्दीले रिट दिएका हुन्।
गोपाल सिवाकोटी 'चिन्तन' सहितका कैदीबन्दीले दिएको रिटमा बाँच्न पाउने अधिकार, स्वच्छ वातावार र स्वास्थ्यको अधिकार रक्षा गर्न माग गरिएको छ।
'विश्वमा कायम रहेको दण्डको आधुनिक सुधारात्मक सिद्धान्त र प्रणालीलाई मध्यनजर गरी खासगरी प्यारोल र कैदकट्टाका सम्बन्धमा हाल कायम विभिन्न कसूरहरूको नकारात्मक सूचीको खारेजीका निमित्त आवश्यक कानूनी व्यवस्था गर्नु गराउनु भनी परमादेश जारी गरी पाउँ,' उनीहरूको रिटमा भनिएको छ।
कारागार व्यवस्था विभागले भने कोरोना संक्रमण रोक्न गरिएको लकडाउनपछि मुलकभरका कारागारबाट ४०० कैदीबन्दीलाई छुट दिइएको बताएको छ। अहिले मुलुकभरीका कारागारमा झण्डै २५ हजार कैदीबन्दी छन्।