कोरोना जितेकी प्रसिद्धिको अनुभव:
कोरोना भाइरसलाई जितेर घर फर्किएकी काठमाडौंकी प्रसिद्धि श्रेष्ठ अझै परिवारमा हेलमेल भएकी छैनन्।
२७ दिन अस्तापलको बन्द कोठामा बिताएकी प्रसिद्धि कोरोना भाइरसको परीक्षणमा नेगेटिभ रिजल्ट आएपछि घर फर्कीएकी हुन्। तर उनले अहिलेसम्म परिवारमा बुबाआमा सँगै बसेर खाना खाएकी छैनन्।
त्यसो त डाक्टरहरूले पनि उनलाई दुई सातासम्म आइसोलेसनमा बस्न सुझाएका छन्।
'संक्रमणको डर त छैन तर नियमअनुसार म अहिले घरमा आइसोलेसनमा छु', प्रसिद्धिले भनिन्, 'मेरो परीक्षणमा नेगेटिभ आएको साता दिनपछि फेरि म परीक्षण गर्नेछु। त्यसपछि पनि म सात दिन आइसोलेसनमा बस्नेछु।'
गत चैत ४ गते अघि फ्रान्सबाट फर्किए पनि उनले आमालाई अँगालो मार्न पाएकी छैनन्।
'म आएदेखि नै आमालाई अँगालो मार्छु भनेर बसिराखेको छु', प्रसिद्धिले भनिन्, 'बुबा आमासँग सँगै खाना खान, सँगै बस्न र कुकरसँग खेल्न पनि पाएको छैन।'
प्रसिद्धिलाई अब आफ्नो रगतबाट अरूको उद्दार गर्ने चाहाना छ।
'मेरो प्लाज्मा दिएर क्रिटिकल बिरामीलाई उपचारमा मद्दत गर्न चाहान्छु', प्रसिद्धिले भनिन्।
कोरोना जितेकी प्रसिद्धिसँग कोरोनासँग जुधेको अनुभवबारे गरिएको भिडिओ कुराकानी-