राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति नै पार्टी एकता घोषणा गर्ने तयारी भएको छ।
पार्टी एकताबारे छलफल चलिरहेकाले घोषणा आजै हुने सम्भावना रहेको राजपा महासचिव केशव झाले सेतोपाटीलाई बताए।
'अहिले पनि दुई पार्टीको बैठक चलिरहेको छ। हामी आजै एकता घोषणा गर्ने तयारीमा छौं,' झाले भने, 'एकता हुने गरी नै छलफल चलिरहेको छ। हेरौं के हुन्छ।'
दुई पार्टीले लकडाउनकै बेलामा भए पनि पार्टी एकता गर्न प्रयास गरिरहेका छन्।
प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले एकता प्रक्रियालाई तीव्रता दिएका छन्।
'प्रधानमन्त्रीले अरु दललाई फुटाउने गरी जसरी अप्रिय निर्णय लिनुभएको छ। उहाँले साना दलको अस्तित्व मेटाउने गरी जुन प्रतिक्रिया दिएको हामीले सुनेका छौं, यसले एउटै विचार राख्ने पार्टीहरूलाई सबै तागत लगाएर मिल्न पर्ने बनाएको छ,' समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले सेतोपाटीसँग भने, 'हामीले औपचारिक-अनौपचारिक छलफल गरिरहेका छौं। दुवै पक्ष गम्भीर छौं।'
दुई पार्टीको एकता प्रक्रिया चाँडै टुंगिने देखिएको छ। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि मंगलबार सेतोपाटीसँग कुराकानी गर्दै छिट्टै राजपा र समाजवादी एक हुने बताएका थिए।