समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव ‘अपहरण'बाट मुक्त हुन सफल भएको सो पार्टीले दावी गरेको छ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य र सञ्चार बिभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल टुइटरमा सांसद यादवसँग चिया खाँदै गरेको फोटो समेत राख्दै यस्तो बताएका हुन्।।
फोटोसँगै उनले लेखेका छन्, 'हिजो बेलुका कसरी अपहरण भयो, प्रशासनबाट के के दुःख भोग्नुपर्यो, प्रमले राती फोनमा के भन्नुभयो, विहान होटलबाट कसरी भागे भनेर सांसद यादव आफुलाई सुनाउँदै।’
उनले आजै वरिष्ठ नेता अशोक रई अपहरित सांसदहरुलाई उद्धार र अभिभावकत्व प्रदान गर्न होटल मेरियट गएको समेत उनले बताएका छन्।
सांसद यादव पार्टी फुटाउने समुहबाट अलग भएपछि समाजवादी पार्टी तत्काल फुटाउन सम्बभ नहुने देखिएको छ। पार्टी फुटाउन संसदीय दलमा ४० प्रतिशत सांसदहरु आवश्यक पर्छ। सांसद यादवले हस्ताक्षर नगरेपछि ४० प्रतिशत पुग्दैन।
यसैबिच बिहान पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पार्टी फुटाउन नेतृत्व गर्ने सांसदहरु रेणु यादव र ईस्तियाक राईसँग कुरा गरेको र स्थिति सम्हाल्ने प्रयास भैरहेको पनि पाण्डेले बताएका छन्।
सासंद यादवलाई बुधबार जनकपुरबाट 'अपहरण' गरेको आरोप लगाएको थियो। तर, समाजवादी पार्टी फुटाउन चाहने सांसद रेणु यादव नेतृत्वको समूहले भने पार्टी फुटाउनको उनको पनि सहमति रहेकोले उनी काठमाडौं आएको दाबी गरेको थियो।
सासंद यादव सित सात जना सांसदहरूले पार्टी फुटाउने निर्णय गरेपछि मध्यरातमा राजप र समाजवादी पार्टीले हतारहतारमा पार्टी एकिकरण गर्दै नयाँ पार्टी गठन गरेको घोषणा गरेका थिए।
चालिस प्रतिशत सासंद पुर्याएर पार्टी फुटाउन नदिनका लागि उनीहरूले दुबै पार्टी एक बनाएका हुन्।
पार्टी फुटाउन चाहने रेणु यादवसहितका सासंदलाई सरकारले नागपोखरी स्थित मेरियट होटलमा राखेको आरोप समाजवादी पार्टीले लगाएको छ।