बुधबार मध्यरातमा राजपा र समाजवादी पार्टी पार्टी मिलेर एक भएको पार्टी निर्वाचन आयोगमा दर्ता हुने प्रक्रिया सुरू भएको छ।
नयाँ गठन भएको जनता समाजवादी पार्टी दर्ताका लागि उपेन्द्र यादव, राजेन्द्र महतोलगायत नेताहरू अहिले कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका छन्।
उनीहरूले नयाँ पार्टी दर्ताको निवेदन दिइसकेका छन्।
नयाँ पार्टीका नेता वीरेन्द्रकुमार ठाकुरले दल दर्ताको प्रक्रिया सुरू भइसकेको र साँझसम्म सबै कुरा टुंगिने बताए।
‘उहाँहरूले कागजात माग्नुभएको छ, हामी ती ल्याउँदैछौं,’ ठाकुरले भने,‘आजै सभामुखलाई पनि जानकारी दिन्छौं।’
यसअघि तत्कालीन समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत सांसदले समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने निर्णय गरेका थिए। तर बिहीबार बिहानसम्म उनीहरू आयोग कार्यालय पुगेका छैनन्।