ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलले पदयात्रा पर्यटन मजदुरलाई राहत वितरण गरेको छ। लकडाउनका कारण समस्यामा परेका ८६ जना पदयात्रा मजदुरलाई राहत वितरण गरेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताए।
फागुन, चैत, वैशाख पदयात्राका लागि उपयुक्त समय हो। यही समयमा कोरोना भाइरस रोकथामका लागि लकडाउन भएपछि पदयात्रा मजदुर समस्यामा परेका थिए।
‘हामीले हाम्रा एजेन्सीमार्फत समस्यामा परेका मजदुरको नामावली संकलन गर्यौं,’ भुजेलले भने, ‘अति विपन्न र समस्यामा परेका मजदुरका लागि केही राहत वितरण गर्यौं।’
उनका अनुसार, एक जना मजदुरलाई १५ किलो चामल, २ किलो दाल, १ किलो चना, १ पोका नुन, १ लिटर तेल, १ पोका मस्यौरा र २ वटा सावुन वितरण भएको छ।
प्रति मजदुर १३ सय ९० रुपैयाँ बराबरको खाद्यान्न प्याकेज बनाएर वितरण गरेको उनले बताए। टानले पोखरा महानगर वडा नं. ६ लेकसाइडलाई राहतका लागि ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। यस्तै, मजदुरलाई राहत वितरण गर्न पोखरा महानगरपालिकालाई पनि ५० हजार रुपैयाँ प्रदान गर्ने अध्यक्ष भुजेलले बताए।
पोखरामा मात्र अहिले १ सय ६७ वटा ट्रकिङ एजेन्सी छन्। यी एजेन्सीहरुमा गाइड तथा पोर्टर गरी १ हजार ५ सय जना मजदुरले काम गर्न लाइसेन्स लिएका छन्। लकडाउनले अति समस्यामा पारेका मजदुरलाई मात्र राहत वितरण गरेको भन्दै अध्यक्ष भुजेलले छुटेका मजदुरलाई पनि राहत वितरण गर्ने बताए।
टान पश्चिमाञ्चलले राहतका लागि ५ सय ५६ जनाको नामावली टान केन्द्रीय कार्यालयमा पठाएको छ। सो कार्यालयले भने अहिलेसम्म पदयात्रा मजदुरलाई कुनै राहत दिएको छैन। टिम्स कार्डबाट उठ्ने रकमबाट छुट्याएको मजदुर कल्याणकारी कोषबाट उनीहरुलाई राहत प्रदान गर्न आफूले माग गरेको भुजेलले बताए।
सन् २००९ देखि नेपालमा पदयात्री सुचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड प्रदान गर्न थालेको थियो। गाइड, पोर्टर लिएर जाने विदेशी पर्यटकले टिम्स कार्डबापत १ हजार रुपैयाँ र व्यक्तिगत रुपमा जानेले २ हजार रुपैयाँ टिम्स कार्ड बापत भुक्तानी गर्नुपर्छ।
टिम्स कार्डबाट उठेको रकम नेपाल पर्यटन बोर्ड र टानले संकलन गरेको रकमबाट ३० प्रतिशत नेपाल पर्यटन बोर्ड, ३० प्रतिशत टान, ३० प्रतिशत बोर्ड र टानको संयुक्त खातामा राख्ने र बाँकी १० प्रतिशत मजदुर कल्याणकारी कोषमा राख्ने सम्झौता भएको थियो। उक्त रकम सम्झौता अनुसार राखिएपनि खर्च भने हुन नसकेको अध्यक्ष भुजेलले बताए।
‘मजदुर कल्याणकारी कोषको रकम यतिबेला मजदुरलाई राहत दिन खर्च होस्,’ टान पश्चिमाञ्चल अध्यक्ष भुजेलले भने, ‘टानको केन्द्रीय कार्यालयले पनि मजदुरलाई राहत देओस् भनेर हामीले सुरुआत गरेका हौं।’