महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध आएको अपहरण तथा शरिर बन्धकसम्बन्धी जाहेरी लिन आनाकानी गरेको छ।
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव आइतबार दिउँसो आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन परिसर कार्यालय टेकु गएका थिए।
यादवसँगै नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिँह भण्डारी पनि अहिले प्रहरी परिसरभित्रै छन्।
परिसरको मुद्दा शाखाका प्रमुख डिएसपी कृष्ण चन्दले सांसद यादवको घटना महोत्तरीमा भएको भन्दै उतै जाहेरी दिन भनिरहेका छन्।
उनले कार्यालय प्रमुख पनि नभएको बताएका छन्।
काठमाडौं प्रहरीमा एसएसपी श्याम ज्ञवालीको सरूवा भएको छ। उनले पदभार सम्हालिसकेका छैनन्।
समाजवादी पार्टीका नेताहरूले भने खनालसहित तीन जना व्यक्ति काठमाडौंबाट गएको र सांसद यादव पनि अहिले काठमाडौंमै भएकाले यही जाहेरी लिनुपर्ने तर्क गरेका छन्।
लकडाउनका बेलामा महोत्तरी जान असम्भव भएकाले यहीँ जाहेरी लिनुपर्ने उनीहरूको माग छ।
जाहेरी दिन प्रहरी परिसरमै पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्- यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्याएका थिए। पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन्।
समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए।