सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गर्ने र सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर भएको छ।
आइतबार सरकारी वकिल कार्यालयले उनीविरूद्ध विद्युतीय अपराधअन्तर्गतको मुद्दा दायर गरेको हो।
पूर्वसचिव उपाध्यायले मुस्लिम समुदायका जमातीबारे भ्रम फैलाएको भन्दै नजिम बुल्लाह अन्सारीले केही दिनअघि गृह मन्त्रालयमा दिएको उजुरी माथि अनुसन्धान गरी मुद्दा चलाइएको सरकारी वकिल कार्यालयले जनाएको छ।
आइतबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
'उहाँविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाउन भन्दै अभियोगपत्र पेश भएको थियो। केहीबेर अघि दर्ता भएको छ,' उनले भने।
सामाजिक सञ्जालमा धार्मिक आस्थामा चोट पर्याउने र सामाजिक सद्भाव खलबल्याउने खालका अभिव्यक्ति दिएको भन्दै मुद्दा दायर गरिएको काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल हरि रेग्मीले जानकारी दिए।
'उहाँले मुस्लिम समुदायले कोरोना फैलाएकोजस्ता आरोप लगाउँदै सामाजिक सञ्जालमा लेख्नुभएको रहेछ। मुस्लिम समुदायलाई भड्काउने, सामाजिक सद्भाव खलबल्याउने र धार्मिक आस्थामा चोट पुर्याउने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकाले साइबर अपराध आकर्षित भएको हो,' उनले भने, 'विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसारको कसुर गरेको भन्दै मुद्दा चलाएका हौं।'
कोरोना कसलाई लाग्छ भन्ने थाहा नहुने, कुनै व्यक्तिले जानेर नसार्ने भएकाले पनि निश्चित समुदायले कोरोना सारे भनेर उपाध्यायले दिएको अभिव्यक्तिले सामाजिक सद्भावमा खलल पार्ने रेग्मीले बताए।
उक्त दफाअनुसार उनलाई पाँच वर्षसम्म कैद वा १लाख रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनुपर्ने माग सरकारी वकिल कार्यालयको छ।
उक्त दफामा इन्टरनेट लगायतका सञ्चारमाध्यामको प्रयोग गरेर जातजाती वा सम्प्रदायबीचको सम्बन्ध खलल पार्न नपाइने भनिएको छ।
'कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ।
उपाध्यायले मुस्लिम समुदायलाई अपमानित गर्ने गरी मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जथाभाबी बोलेको अभियोगपत्रमा उल्लेख छ।
'अनुसन्धान गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध पनि जथाभावी बोलेको पाइएको छ, हामीले अभियोगपत्रमा यी सबै कुरा समेटेका छौं,' उनले भने।
गत बुधवार राति उपाध्यायलाई प्रहरीले पक्राउ गरेको थियो।