गए रातिदेखिको वर्षाका कारण सुदूरपश्चिमका तराईका जिल्लामा बाढी आएको छ।
कञ्चनपुरमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने केही वस्ती डुवानमा परेका छन्।
कञ्चनपुरको लालझाडी गाउँपालिका १ का साधुसीं राना दोदा नदी तर्ने क्रममा बेलुका साढे ६ बजेतिर बेपत्ता भएका कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए।
उनले भने ‘बेलुका साढे ६ बजेतिर नदीमा एकजना बगेको खबर आएपछि प्रहरीको टोली इन्सेप्टरको कमाण्डमा गएको छ। वेपत्ता भएकाको खोजी जारी छ, नदीमा पानीको बहाव बढेकाले असहज भएको छ।’
कञ्चनपुरकै मध्यवर्ती क्षेत्रतिर सोमबार विहानदेखि परेको हावाहुरी र असिनासहितको पानीले केही वस्तीहरु डुवानमा परेका छन्।
शुक्लाफाटा नगरपालिकाको वडा नं १० को प्रगतिटोल लगातका वस्ती डुवानमा परेको र केहीका घरभित्र पानी पसेको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष लाल बहादुर ऐरले विहानैदेखि पानी परिरहेकोले वडाका केही वस्ती डुबानमा परेको बताए।
केही दिनदेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षा हुने गरेको छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औंल्याएको छ।