नेकपामा पछिल्ला केही दिनदेखि जारी संकटको निकास भेटिने अझैसम्म कुनै संकेत देखिएको छैन।
प्रधानमन्त्री केपी ओलीले संकट समाधानका लागि कुनै ठोस पहल गर्ने वा पार्टीलाई मिलाएर लैजान ठोस प्रस्ताव ल्याउने काम गरेका छैनन्। वरिष्ठ नेता माधव नेपालनिकट श्रोतले प्रधानमन्त्री ओलीले पार्टीलाई मिलाएर अघि बढाउन कुनै प्रस्ताव नराखेको बताएको छ।
प्रधानमन्त्री निकट स्रोतले पनि त्यसको पुष्टि गरेको छ।
'अब प्रधानमन्त्रीका तर्फबाट जति पनि प्रस्ताव जान्छन्, त्यो कार्यदलबाटै जान्छ,' प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने, 'अहिले प्रधानमन्त्रीबाट कुनै पनि प्रस्ताव गएको छैन।'
बालुवाटार श्रोतका अनुसार वरिष्ठ नेता नेपाललाई कुनै पनि प्रस्ताव गर्नु अगाडि उनको ठोस प्रतिबद्धता पनि खोजिनेछ।
सोमबार बिहान प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको थियो। भेटघाटमा ओलीले नेपालसँग कुनै प्रतिबद्धता जनाएनन्। बरू नेपाल र पुष्पकमल दाहाल प्रचण्डले आफ्नाविरूद्ध जोडबल गरे त्यसको 'सामना' गर्ने बताए।
भेटघाटपछि दुवै नेताले आफूनिकट नेताहरूलाई एकपटक सँगै बसेर छलफल गर्न अह्राएका थिए। सो समूहमा ओलीका तर्फबाट सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली थिए। वरिष्ठ नेता नेपालका तर्फबाट स्थायी समिति सदस्यहरू रघुजी पन्त, सुरेन्द्र पाण्डे र भीम रावल थिए।
दुवै पक्षबीच चार घन्टाभन्दा बढी समय छलफल भएको थियो।
छलफलपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको अहिलेको अवस्थाबारे अनौपचारिक छलफल गरेको सेतोपाटीलाई बताए।
'यो कुनै निर्णय गर्ने मेकानिजम होइन। हामीले अहिलेको अवस्थाबारे छलफल गरेका हौं,' उनले भने, 'सबै विषयमा छलफल गरेर कसरी जाने, समस्या कसरी समाधान गर्ने र समस्याका कस्ता रूपहरू छन् भनेर छलफल गरेका हौं।'
नेपाल पक्षतर्फबाट वार्तामा सहभागी स्थायी समिति सदस्य रघुजी पन्तले पनि प्रधानमन्त्रीतर्फबाट सहभागी टोलीले कुनै प्रस्ताव नल्याएको बताए।
'हाम्रो अनौपचारिक कुराकानी भयो। उहाँहरूले कुनै औपचारिक प्रस्ताव ल्याउनुभएन,' पन्तले भने, 'पार्टीमा एकताको वातावरण बनाऔं भनेर मात्रै भनियो। ठोस कुरा केही आएन।'
नेपाल निवासमा दुई पक्षको छलफल चलिरहँदा प्रचण्ड निवास खुमलटारमा भने प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेट भएको थियो। उनीहरूबीच झन्डै दुई घन्टा छलफल भएको थियो।
'मेरो प्रचण्डसँग भेट भएको थियो। सचिवालय र स्थायी कमिटी बैठक अविलम्ब बोलाउन पहलकदमी गर्नुस् भनेर मैले भनेको छु,' प्रचण्डसँगको भेटबारे खनालले भने, 'समस्याको समाधान संस्थागत रूपले पार्टी कमिटीबाट गर्नुपर्छ भन्ने सुझाव मैले दिएँ। उहाँले म चाँडै बैठक बोलाउन पहल गर्छु भन्नुभएको छ।'
खनालले कोटेश्वर भेलाबारे पनि प्रतिक्रिया दिँदै कोठामा बसेर 'चोचोमोचो' मिलाउँदैमा सहमति नहुने बताए।
'कोठा-चोटामा बसेर चोचोमोचो मिलाएर समस्या समाधान हुँदैन। नीतिगत, विधिगत र संस्थागत रूपले पार्टी कमिटी बैठक बोलाएर छलफल गरेर मात्र समाधान हुन्छ,' उनले भने, 'स्थायी कमिटी बिना केही हुँदैन। प्रधानमन्त्रीले अहिलेसम्म को-कोसँग कुरा गर्नुभयो थाहा छैन। तर मसँग केही भएको छैन।'
आजै प्रचण्डलाई भेट्न पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए। स्थायी कमिटी बैठक बोलाएर त्यहीँबाट समस्या समाधान हुनुपर्छ भन्नेमा उपाध्यक्ष गौतम स्पष्ट रहेको गौतमनिकट श्रोतले सेतोपाटीलाई बतायो।
प्रचण्डले पनि आफूनिकट समिति सदस्यहरूसँग छलफल गरेका थिए।
समितिका एक सदस्यले प्रधानमन्त्री ओली समस्या समाधान गर्नेतर्फ लाग्नुभन्दा पनि प्रचण्ड-नेपालबीचको एकता भाँड्न लागि परेका आरोप लगाए।
'प्रधानमन्त्रीले माधव नेपाललाई पूर्व एमाले एक ठाउँ उभिनुपर्छ भन्नुभएको रहेछ। अध्यक्षलाई पनि दुई अध्यक्ष मिल्नुपर्छ भनेर प्रस्ताव आइरहेका छन्,' प्रचण्डनिकट ती सदस्यले भने, 'उहाँको योजना दुवैतिर लोभ देखाएर आफू बलियो भइरहने जस्तो देखिएको छ।'
वरिष्ठ नेता नेपाल पनि स्थायी कमिटी बैठकबाटै सबै छिनोफानो गर्नुपर्नेमा स्पष्ट रहेको उनको दावी छ।
प्रधानमन्त्री ओली भने प्रचण्डलाई जसरी पनि एक्ल्याउने र नेपाललाई साथ लिने योजनामा रहेको पूर्व माओवादी पक्षको आरोप छ।
सहमतिको कुनै सम्भावना नदेखिए पनि प्रधानमन्त्री ओलीले मंगलबार पार्टी सचिवालय बैठक डाक्ने भएका छन्। अब मंगलबार त्यही छलफलले अगाडिको बाटो तय गर्नेछ।
पार्टीका २० जना स्थायी समिति सदस्यले बैठक माग गर्दै दुवै अध्यक्षलाई पत्र लेखेका छन्।