नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले बाहिर चर्चामा आएजस्तो वार्ताका लागि कुनै कार्यदल नबनेको बताएका छन्।
सोमबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली निकटका नेता र वरिष्ठ नेता माधव नेपालसहित उनी निकटका नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको थियो।
छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वरिष्ठ नेता माधव नेपालका तर्फबाट उनीसहित स्थायी समिति सदस्य भीम रावल,सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।
'हिजोको भेटघाट जसरी प्रचार गराइयो, वार्ता टोली बनाएर भन्ने त्यो केही पनि होइन। उहाँहरू माधव नेपाललाई भेट्न जानुभएको थियो। भेट्न जाँदा हामीलाई पनि माधव नेपालले बोलाउनुभयो,'स्थायी समिति सदस्य रावलले भने,'उहाँहरूले पनि ठोस प्रस्ताव केही ल्याउनुभएको थिएन। राम्रो गरौं,सहमति गरौं,कमजोरी कहाँ छन् हेरौं यस्तै भन्नुभयो।'
कमजोरी हटाउने राम्रो गर्ने सबै कुरा संस्थागत हुनुपर्छ भन्नेमा आफूहरूले जोड दिएको भन्दै रावलले सचिवालय तुरून्तै बोलाइयोस् अनि स्थायी कमिटी बोलाइयोस् भनेर भनेको बताए।
उनले केन्द्रीय कमिटी बैठक बोलाएर त्यहाँबाट निष्कर्ष निकाल्न सकिने र विधान अनुसार चल्नुपर्नै आफूहरूको धारणा रहेको समेत उनले जानकारी दिए।
यो पनि पढ्नुस्: