जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले आफूमाथि अभद्र व्यवहार भएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी छिन्।
कार्यपालिकाको वैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उपाध्यक्ष रोकायाले उजुरी दिएकी हुन्।
अधिकृत बुढाले आफूलाई हैसियत नभएकी, अनपढ, नक्कली उपाध्यक्ष लगायतका शब्द प्रयोग गरी अभद्र व्यवहार गरेको उपाध्यक्ष रोकायाको जाहेरीमा उल्लेख छ।
वैशाख १२ गते बसेको गाउँ कार्यपालिकाको वैठकमा आफूले उपाध्यक्षको हैसियतले धारणा राख्दै गर्दा एक्कासी अधिकृत बुढाले अभद्र व्यवहार गरेको उनले सेतोपाटीलाई बताइन्।
‘वैठक चलिरहेको थियो, वैठकमा राहत वितरण, सामाजिक सुरक्षा भत्ता र लकडाउनका कारण भएको समस्यासँग सम्बन्धित विषयमा छलफल केन्द्रित थियो,’ उपाध्यक्ष रोकायाले भनिन्, ‘यही विषयमा मैले बोल्दै गर्दा एक्कासी प्रशासकीय अधिकृतले मप्रति लक्षित गर्दै अनपढ, नक्कली उपाध्यक्ष, हैसियत नभएको जस्ता शब्द प्रयोग गर्नुभयो।’
उपाध्यक्ष रोकायाले सोमबार पेश गरेको जाहेरी मंगलबार बिहान दर्ता भएको छ। दर्ता नम्बर ५५ मा आफ्नो जाहेरी दर्ता भएको उपाध्यक्ष रोकायाले जानकारी दिइन्।
प्रशासकीय अधिकृतसँगै नेकपा जुम्लाका जिल्ला सदस्य अम्मरबहादुर शाहीले समेत आफूमाथि दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ। शाही कार्यपालिका वैठकमा बस्न नपाउने भए पनि वैठक चलिरहेकै बेला भित्र आएर आफूमाथि दुव्र्यबहार गरेको उनले बताइन्।
प्रशासकीय अकिृत बुढा र शाहीले आफूमाथि अश्लिल शब्द समेत प्रयोग गरेको उनले बताइन्। प्रशासनले कानुनबमोजिम कारबाही गर्न नसकेको खण्डमा आफू अदालत जाने उपाधयक्ष रोकायाको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जाहेरी दर्तापछि अनुसन्धान कार्य सुरु भइसकेको जानकारी दिए।