प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेको तेस्रो वरीयताको अध्यक्ष पद नेता माधवकुमार नेपालले अस्वीकार गर्ने भएका छन्।
वरिष्ठ नेता नेपालले आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई आफूले पदभन्दा पनि विधि र प्रक्रिया खोजेको भन्दै यस्ता प्रस्तावले पार्टीलाई हित नगर्ने समेत बताएका छन्।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए।
‘माधव नेपालले तेस्रो वरीयताको अध्यक्ष अस्वीकार गर्छु भन्नुभएको छ। उहाँले मेरो लडाइँ पार्टीलाई विधि विधान, पद्दति र अनुशासनमा लैजाने हो भनेर समेत भन्नुभएको छ’ नेकपा स्थायी समिति सदस्य रघुजी पन्तले सेतोपाटीसँग भने, ‘पार्टी नीति तथा कार्यक्रम अनुसार चलाउनुपर्छ। को अध्यक्ष, को प्रधानमन्त्री बन्ने भन्ने गौण हो। यो झारा टार्न र अलमल्याउन ल्याएको प्रस्ताव हो। म यसको पक्षमा छैन भनेर उहाँले मसँग भन्नुभएको छ।’
स्थायी समिति सदस्य पन्तले चलाखीपूर्ण तरिकाले प्रधानमन्त्रीले क्षेप्यास्त्र फ्याँकेको भन्दै सो योजनाले काम गर्नेमा आफू विश्वस्त नरहेको समेत बताए।
उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राम्रो भए पनि कार्यान्वयन गर्न धेरै कठिन रहेको उनको बुझाई छ।
‘उहाँलाई प्रधानमन्त्री कहिले बनाउने हो। लकडाउनपछि हो कि, कोरोना नियन्त्रणपछि हो, अनि कोरोना कहिले नियन्त्रण हुन्छ’ उनले भने, ‘निर्वाचन क्षेत्र खाली गराउनेदेखि उपनिर्वाचन गराउँदासम्म कति समय लाग्छ। अनि जित्ने ज्ञारेन्टी के छ? त्यसैले डेढ दुई वर्ष टार्छ भनेरै यो प्रस्ताव आएको हो।’
अर्का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्रीको प्रस्तावको कुनै अर्थ नरहेको बताएका छन्।
‘उहाँहरुले त्यहाँ हिसाब किताब गरेर अर्थ छैन। २० गतेको बैठकले स्थायी समितिको एजेण्डा र मिति तय गर्नुपर्छ। सबैका कुरा सुनेर स्थायी कमिटीको बैठकबाट औपचारिक निर्णय गर्नपर्छ’ उनले भने, ‘पार्टीको लोकतान्त्रीकरणको कुरा गर्ने तर विधि र विधानलाई भने ख्याल गरिएको छैन।’
मान्छेलाई कहाँ कहाँ भेटेर के के दिन्छु भनेर पार्टी नचल्ने उनले बताए। पार्टी सञ्चालनको तौरतरिकाले सरकार परिवर्तनमा पनि प्रभाव पार्ने भन्दै उनले एकपटक निर्वाचन भएपछि पाँच वर्ष जे पनि गर्न पाइन्छ भन्नु गलत रहेको तर्क गरे।
प्रधानमन्त्री ओलीले त्यस्तो प्रस्ताव ल्याउनुको कारण राजनीति बुझ्ने सबैलाई थाहा भएको उनको भनाई छ। उनले सचिवालयले समस्या समाधान गर्न नसकेकाले स्थायी समितिबाट सबै कुराको टुंगो लगाउनुपर्ने समेत बताए।
‘उहाँहरु सचिवालयमा अल्झिर धेरै बस्नुभयो। नेताहरुका बीचमा घण्टौं कुरा हुन्छ। कहिले चार घण्टा, तीन घण्टा बस्याछ। के कुराकानी हुन्छ अनि समाधान खोइ?’ उनले भने, ‘पार्टी असरल्ल छ। बस्यो, भेट्यो व्यक्तिगत हिसावकिताव गर्ने बाहेक केही भएन।’
अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीको प्रस्ताव निकास निकाल्ने गरी नआएको बताए।
‘उहाँ (बामदेव गौतम) सांसद नै हुनुहुन्न। प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभाको सांसद चाहिन्छ। यो अलमल्याउने काम हो’ उनले भने, ‘यो रनभुल्ल पारिदिने मुख हेराहेरको प्रस्ताव हो। हिजो यसरी नै नेताहरु उठेका छन्। अब पर्सि बस्छन्।’
तत्कालका लागि अलमल्याउन प्रस्ताव ल्याइएको भन्दै पौडेलले कोरोना महामारीका विरुद्ध देशलाई नै एक बनाउने बेलामा अन्यौलता ल्याउने काम भएको बताए। उनले स्थायी कमिटी बैठक बसेर सबै समस्याको समाधान गर्नुपर्ने समेत बताए।
स्थायी समिति सदस्य हरिबोल गजुरेलले सचिवालय सदस्यहरुले हल गर्न नसकेकाले अब स्थायी समितिको विकल्प नरहेको बताए। अहिलेको समस्या समाधानका लागि स्थायी कमिटीले निकास नदिए केन्द्रीय कमिटीको बैठक समेत बोलाउनुपर्ने उनको धारणा छ।
‘प्रधानमन्त्रीले विभिन्न तरिकाले आफ्नो योजना बनाइरहनुभएको छ। पछिल्लो प्रस्ताव यसकै निरन्तरता हो’ उनले भने, ‘सबै जटिलतालाई स्थायी कमिटीमै छलफल गर्नुपर्छ।’
स्थायी समिति बैठक बोलाएर त्यसकै निर्णय अनुसार चल्नुपर्छ भन्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम एक ठाउँमा थिए। प्रधानमन्त्रीको प्रस्तावसँगै अब गौतमले के गर्ने हुन भन्नेमा प्रचण्ड र नेपाल रहेका छन्।
प्रधानमन्त्रीको प्रस्ताव अलमल्याउने किसिमले आएको भन्नेमा गौतम प्रष्ट रहेको प्रचण्ड निकट स्रोतको दावी छ। गौतमलाई प्रधानमन्त्रीले लोभ देखाएकाले उनी स्पष्ट हुन दुई सातासम्म लाग्न सक्ने नेपाल पक्षको बुझाई छ।