सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केही स्थायी कमिटी सदस्यहरू बिहीबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन्।
नेकपाले आज ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक बुधबार साँझ दुई अध्यक्षले छलफल गरेर अकस्मात स्थगित गरेपछि उनीहरू आज धुम्बाराहीमा भेला भएका हुन्।
‘बैठकको माग गरेका सबैजसो स्थायी कमिटी सदस्यहरू धुम्बाराही आउनुभएको छ,’ एक स्थायी कमिटी सदस्यका स्वकीय सचिवले सेतोपाटीसँग भने।
यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।
वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो।
स्थायी कमिटी पेस गर्ने एजेन्डा र प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको थियो।
एजेन्डा र प्रस्ताव पास गर्न बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक बोलाउन अनिच्छुक देखिएपछि बैठक रोकिएको हो।
बैठक रोकिएपछि बुधबार नै केही स्थायी समिति सदस्यहरूले बैठकबाट भाग्न नमिल्ने बताएका थिए।
प्रचण्ड-नेपालनिकट स्थायी समिति सदस्यको आरोपः प्रधानमन्त्री बैठकबाट भाग्न खोज्नुभयो
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन्।
वैशाख २५ गते ११ बजेका लागि तय भइसकेको बैठक स्थगित हुनुको कारण प्रधानमन्त्री ओली नै रहेको उनीहरूको ठहर छ।
वरिष्ठ नेता नेपालनिकट स्थायी समिति सदस्य वेदुराम भुषालले प्रधानमन्त्री डराएकै कारण बैठक स्थगित गरिएको बताए।
'उहाँ (प्रधानमन्त्री ओली) बैठकको सामना गर्न पर्छ भनेर डराएकै त होला नि। अरू त के हुन्छ र? बैठकबाट भागेर कति दिन भाग्ने हो, कहाँ जाने हो,' भुषालले भने, 'बैठकबाट भाग्ने भनेको त पार्टीबाट भाग्ने हो। उहाँले मात्रै हो बैठक सारेको, किनकि उहाँ आफैं सचिवालय बैठक छाडेर हिँड्नुभएको हो।'
बैठकको अध्यक्षता गरेकै व्यक्ति हिँडेपछि अरूलाई केही भन्ने ठाउँ नरहेको समेत उनले बताए।
'बैठक चलाउन नसक्ने, सचिवालय बैठक छाडेर हिँड्ने, अनि स्थायी समिति बैठक बोलाउन नमान्ने भनेको त बोलाउन नचाहेको भन्दा पनि बैठक चलाउन नसकेको भन्ने हुन्छ,' उनले भने, 'प्रधानमन्त्रीको यो गतिविधिले नकरात्मक सन्देश गएको छ।'
प्रचण्डनिकट स्थायी समिति सदस्य मातृका यादवले पनि प्रधानमन्त्रीले बैठकको सामना गर्न नचाहेको आरोप लगाए।
'पार्टी एकता सुदृढ गर्न र अहिले जनतामा उठेका सवालको जवाफ दिन पनि बैठक अनिवार्य थियो। त्यसले समग्र पार्टी र सरकारलाई फाइदा हुन्थ्यो,' यादवले भने, 'यसले राम्रो गरेको छैन। पार्टी र सरकार सबैका लागि ठीक भएन। बैठक सारेर समस्या समाधान हुँदैन। बैठकमा स्पष्ट पार्नुपर्थ्यो, त्यो भएन।'
आफूले बुझेअनुसार प्रधानमन्त्रीकै चाहनाले गडबढ भएको र स्थायी समिति बैठक समेत सारेको उनले बताए। प्रधानमन्त्री सचिवालय बैठकमै नबसेको उनको भनाइ छ।
वरिष्ठ नेता नेपालनिकट अर्का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बैठकको विकल्प बैठक मात्रै भएको बताए।
'बैठक त डाक्नै पर्यो नि। बैठक भोलि सर्ला, तर पर्सि भए पनि राख्नपर्यो। बैठक पनि सारेर हुन्छ,' उनले भने,'बैठक बस्नैपर्छ, त्यसको उपाय नै छैन। किनभने बैठकको कुरा बैठकले नै समाधान गर्छ।'
बैठक किन सारिएको भनेर आफूलाई थाहा नभए पनि प्रधानमन्त्रीले तनाव भएको कुरा देखाएर सारेको जानकारी आफूले पाएको यादवले बताए।
'मलाई तनाव छ, तिमीहरू साराले गाली गर्न बैठक बोलाएका हौ भनेर प्रधानमन्त्रीका भनाइ सचिवालयका सदस्यहरूले भनेको सुनेको हो मैले,' उनले भने, 'गाली गरे पनि, प्रशंसा गरे पनि सुन्नै पर्यो। कि त पदमा बस्नै भएन। पदमा बसेपछि गाली पनि आउँछ, ताली पनि आउँछ।'
प्रचण्डनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने पार्टीमा सल्लाह नपुगेको भन्दै प्रधानमन्त्री ओलीले बैठक सारेको जानकारी आफूले पाएको बताए।
'उहाँले दुई-तीन दिनपछि राखौं भन्नुभयो अरे। उहाँले अहिले सल्लाह पनि पुग्या छैन भनेको मैले थाहा पाएँ,' उनले भने, 'बैठक किन सारियो भन्ने कुरा हामीले भन्नै पर्दैन, सबैलाई थाहा छ।'
प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई 'तपाईंसँग पनि कुरा बाँकी छ, त्यही भएर बैठक सारौं' भनेको जानकारी आफूले पाएको समेत उनले बताए।
'बैठक त राख्नुपर्छ। सायद बैठकमा गर्नुपर्ने सामना पछाडि धकेल्न खोज्नुभएको होला,' उनले भने, 'पार्टीभित्र संघर्ष जारी छ। अवतरण भइसकेको छैन। मिल्न पर्छ, सच्याउन पर्छ भने पनि यो मूर्त रूपमा आउन सकेको छैन। कसरी ल्याउने भनेर उहाँले सोच्नुभएको होला।'
प्रधानमन्त्री ओलीनिकट स्थायी समित सदस्य रघुवीर महासेठले भने स्थायी समिति बैठकको तयारी नपुगेको बताए।
'तयारी नपुगेरै बैठक स्थगित गरिएको हो। निकट भविष्यमै हुन्छ होला,' उनले दावी गरे, 'प्रधानमन्त्रीले सार्न खोज्नुभएको होइन, तयारी नपुगेको हो। दुई अध्यक्षमा जति पर्याप्त छलफल हुनुपर्थ्यो त्यो छलफल हुन नसकेर हो।'