कर्णाली प्रदेश सरकारले भारत लगायत अन्य विभिन्न ठाउँबाट आएका मानिसलाई आरडिटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) गरेको प्रमाण पत्रको आधारमा मात्र प्रदेश भित्रिन दिने निर्णय गरेको छ।
विभिन्न ठाउँबाट कर्णाली आउनुपर्ने व्यक्तिको बारेमा व्यवस्थापन गर्न शुक्रबार भएको छलफलमा यस्तो निर्णय गरिएको हो।
छलफलका क्रममा प्रदेशको सीमासम्म आएका नागरिकको आरडिटी गरेको प्रमाणको आधारमा प्रदेशमा भित्रिन दिने र आरडिटी नगरेकाहरुको हकमा सामाजिक विकास मन्त्रालयले तत्काल सम्बन्धित नाकामै आरडिटी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
शुक्रबारको छलफलमा सुरक्षा तथा स्वास्थ्य प्रमुखहरुको सुझावका आधारमा यस्तो निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै प्रदेश भित्रिने बबई लगायतका नाकाबाट कर्णाली भित्रिने नागरिकको व्यवस्थापनका लागि नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरले छुट्टै रिसेप्सन क्षेत्र स्थापना गर्ने प्रक्रिया अघि बढाउने भएको छ।
छलफलका क्रममा क्वारेन्टिन तथा सुरक्षा प्रवन्धको व्यवस्था आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने, तोकिएका सवारी साधान तथा स्वास्थ्य सामग्री लगायतका सवारी साधानबाहेक निर्माण सामग्री र खाद्यान्न ओसारपसार गर्ने मालवाहक गाडीलाई प्रदेशका नाकामा कम्तिमा २४ घण्टा राखेर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको छ।