गण्डकी प्रदेश सभाको बजेट अधिवेशन पोखरा सभागृहमा हुने भएको छ।
प्रदेश सभा भवन साँघुरो भएकाले सभागृहमा प्रदेश सभा बैठक बस्ने निर्णय गरेको गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए।
प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ ११ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बजेट अधिवेशन बोलाउने निर्णय भएको बस्नेतले जानकारी दिए।
गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। पोखरा महानगरका अनुसार सभागृहमा १ हजार ३ सय जना अटाउन सक्ने सिट क्षमता छ।
कोरोना भाइरस रोकथाम सम्वन्धी प्रोटोकल अनुसार बैठकमा सांसदहरु डेढ मिटर दुरीमा बस्ने गरी व्यवस्था मिलाउन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभा बैठक बस्नका लागि आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, विधायन समितिका सभापति मोहन रेग्मी लगायत प्रदेश सभा सचिवालयको टोलीले पोखरा सभागृहको अवलोकन गरेको थियो।
अवलोकन पश्चात मुख्यमन्त्री गुरुङले सभागृहमै प्रदेश सभा बैठक बस्न मिल्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सांसदहरुबीच डेढ मिटरको दुरी रहने गरी कुर्ची र माइकको व्यवस्था मिलाउने, पर्यवेक्षक र पत्रकार बस्नका लागि छुट्टै स्थान बनाउने गरी तयारी थालिएको प्रदेश सभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए।
‘जति सकिन्छ त्यति नै गर्ने हो’ न्यौपानेले सेतोपाटीलाई भने, ‘प्रदेश सभाको बजेट अधिवेशन चलाउन सभागृहमै व्यवस्थापन गर्ने निर्णय गरिएको छ।’ उनका अनुसार माइकिङ, रेकर्डिङ लगायत व्यवस्थापन सभागृहमै हुनेछ।
यसअघि सभागृहमा पोखरा महानगरको नगरसभा बैठक बस्ने गरेको थियो। पोखरामा आयोजना हुने सार्वजनिक कार्यक्रम समेत यही सभागृहमा हुँदै आएको थियो। पोखरा महानगरको स्वामित्वमा रहेको सभागृहमा प्रदेश सभा बैठक चलाउन न्युनतम पूर्वाधार मात्र बनाउने प्रदेश सभा सचिवालयका निमित्त न्यौपानेले बताए।
बजेट अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटका सिद्धान्त एवं प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट पेश गर्नेछ। यसका अलवा यही बजेट अधिवेशनबाट विभिन्न ४ वटा विधेयक समेत पारित गर्ने प्रदेश सरकारको योजना छ।
विधायन समितिका सभापति मोहन रेग्मीका अनुसार बजेट अधिवेशनबाट यसअघि नै संसद सचिवालयमा दर्ता भएको स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्वन्धी विधेयक र प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने योजना छ।
यस्तै, विधायन समितिबाट पास भएर प्रदेश सभा सचिवालयमा पठाएको वातावरण संरक्षण सम्वन्धी विधेयक र प्रदेश सभा सचिवालय सम्वन्धी विधेयक पनि बजेट अधिवेशनबाटै पारित गर्ने योजना रहेको छ।
अहिले विधायन समितिमा छलफलमा रहेको प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा संचालन सम्वन्धी विधेयक र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना तथा संचालन गर्न बनेको विधेयक पनि बजेट अधिवेशनबाटै पारित हुने रेग्मीले दाबी गरे।
गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन चैत ६ गते स्थगित भएको थियो। कोरोना भाइरस रोकथामका लागि चैत ११ गतेदेखि लकडाउन भएपछि सूचना टाँसेर अधिवेशन अन्त्य भएको थियो।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशमा रहेका ११ वटै जिल्ला अस्पताललाई गाडी दिने निर्णय गरेको छ। स्वास्थ्य प्रयोजनका लागि गाडी सुविधा उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए।
बैठकले साना तथा घरेलु उद्यमीका निम्ति मेसिन एवं उपकरण हस्तान्तरण सम्वन्धी कार्यविधि पारित गरेको छ। यस्तै, तनहुँमा २ वटा शवदाह गर्ने विद्युतीय मेसिन राख्ने निर्णय गरेको छ। उक्त मेसिन भारतबाट खरिद गरेर ल्याउन भन्सार र राजश्व छुटका साथै ढुवानीमा सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको मन्त्री बस्नेतले सेतोपाटीलाई बताए।