नेपालमा कोरोनाभाइरसले मानिसको ज्यान जान थालेपछि काठमाडौं उपत्यकाका भित्री सडक र गल्लीहरूमा अहिले एम्बुलेन्स नै छिर्न नमिल्ने गरी तारबार गरिएको छ।
स्थानीयले मनपरी तरिकाले गरेका तारबारले अत्यावश्यक काम परेर बाहिर निस्कनलाई सास्ती भएको छ। अत्यावश्यक सेवामा काम गर्नेहरूलाई घर-कार्यालय आउजाउमा समस्या भएको छ।
गृह मन्त्रालयले भने यसरी तारबार लगाउनु कानुन विपरित भएको भन्दै कारबाही गरिने जनाएको छ।
तपाईंको घरछेउका सडक वा गल्लीमा तारबार लगाएर बाटो छेकिएको छ, कोरोनाबाट सावधानी अपनाउने भन्दै टोलका नेतृत्वकर्ताले बाँस तेर्साएर तगारो लगाएका छन् भने तपाईंले प्रहरीलाई खबर गर्न सक्नुपर्छ।
गृह मन्त्रालयले कुनै पनि बहानामा सडक वा बाटो बन्द गर्न नपाइने प्रष्ट पारेको छ।
स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको हो।
गृहका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले कुनै पनि बहानामा सडक वा बाटो बन्द गर्न नपाइने बताए।
‘कसैले बाटो बन्द गरेको छ भने प्रहरीलाई खबर गर्न सक्नुहुन्छ। प्रहरीले थप कामकारबाही अगाडि बढाउँछ। बाटो अवरोध गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ,’ उपसचिव अधिकारीले सेतोपाटीसँग भने।
जिल्लाहरूमा पनि बाटो बन्द गर्ने गरेको भन्दै गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई त्यस्तो हटाउन र अटेरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ।
‘यस्तो कठीन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रहेर अहोरात्र काममा खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, केही स्थानीय व्यक्तिहरूबाट स्वास्थ्य सुरक्षामा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा बाधा पुर्याउनेलगायत अमानवीय कार्य भइरहेकोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृहका सहसचिव केदारनाथ शर्माले भने, ‘विश्वव्यापी महामारीविरूद्ध लड्नका लागि हामी सबैले सामुहिक प्रयास गर्नुपर्नेमा एकआपसमा नै निषेधको बाटो अपनाउनु राम्रो होइन।’
सडक अवरोध गर्नेलाई संक्रामक रोग ऐनअनुसार कारवाही गर्ने गृह मन्त्रालयको भनाइ छ।
‘नेपाल सरकारको निर्णयले संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न नेपाल सरकारले नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याआउने जुनसुकै व्यक्तिलाई कानुन बमोजिम सजाय हुने जानकारी गराइन्छ,’ सहसचिव शर्माले विज्ञप्ति निकालेर थप प्रष्टाएका छन्।
गृहले स्वास्थ्यकर्मीको मनोबल गिराउने खालका गतिविधि गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गर्नेलाई कानुनअनुसार हदैसम्मको सजाय हुने पनि गृहले चेतावनी दिएको हो।