नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल तीनै जनाले एमसिसी परियोजनाबारे पार्टीमा छलफल गरेर मात्र अगाडि बढ्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय सदस्य, एमसिसी कार्यदल सदस्य तथा एमसिसीबारे अध्ययन गरेका नेताहरूको छलफलमा उनीहरूले पार्टीमा यसबारे व्यापक छलफल गरिने बताएका हुन्।
'एमसिसीबारे पार्टीमा अझै छलफल हुन्छ। छलफल नगरी अगाडि जाँदैन भनेर प्रचण्डजीले त्यहाँ सुनाउनुभएको थियो,' बैठकमा सहभागी एक नेताले सेतोपाटीसँग भने, 'प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले पनि छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने बताउनुभएको छ।'
नेताहरूले सम्झौता गर्दा छलफल नगर्ने गलत परिपाटी बसेकाले यो सम्झौताबारे छलफल गर्नुपर्ने धारणा आएको ती नेताले बताए।
एमसिसीबारे अध्ययन गर्न गठित कार्यदलका संयोजक एवं वरिष्ठ नेता झलनाथ खनालले एमसिसी इन्डो-प्यासिफिक रणनीति (आइपिएस) कै अंग रहेकाले यथास्थितिमा पारित गर्न नहुने धारणा राखेका थिए। खनालसँगै अर्का वरिष्ठ नेता नेपालले समेत पार्टीमा छलफल जरुरी रहेको बताए।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने सम्झौता भइसकेकाले त्यसको विश्वसनियताका लागि पनि अगाडि बढाउनुपर्ने बताएका थिए। स्थायी समिति सदस्य भीम रावलले सम्झौता गरिसकेपछि मात्रै बाहिर आएकाले त्यसो भन्न नमिल्ने जवाफ दिए।
एउटा देशमा रहेका परियोजना पारित गर्न अर्को देशको अनुमति लिनुपर्ने अनि नेपालको कानुन लागू नहुने लगायत सर्तले सम्झौता एकपक्षीय रहेको भनेर स्थायी समिति सदस्य रावलले प्रश्न उठाएको स्रोतले बतायो।
बैठकमा एमसिसीका कार्यकारी अधिकृत खड्कबहादुर विष्टले एमसिसीअन्तर्गत हुने कार्यक्रमबारे जानकारी गराएका थिए।
बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटबारे जानकारी गराए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बजेट तयार भइसकेपछि भएको छलफलको कुनै अर्थ नहुने भन्दै असन्तुष्टि जनाएका थिए।
'अर्थमन्त्रीले बजेटको समान्य जानकारी दिनुभयो। राजस्वका चुनौतीबारे कुरा राख्नुभयो,' बैठकमा उपस्थित एक नेताले भने, 'नारायणकाजीले बजेट तयार भइसक्यो, आज छलफल गरेर के अर्थ छ भनेर भन्नुभएको थियो। उहाँले बजेटका सिद्धान्त र यसका चुनौती के-के हुन् भनेर छलफल गरेको भए पो अर्थ हुन्थ्यो भन्नुभयो।'
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अनौपचारिक भएकाले कुनै निर्णय नभएको सेतोपाटीलाई बताए।
'यो बैठक निर्णय हुने गरी बसेको होइन। हामी अनौपचारिक रूपले बसेका हौं,' उनले भने, 'प्रधानमन्त्रीले पनि मेरो स्वास्थ्य ठिक छैन, म आराम गर्छु भन्नुभएको थियो।'
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण बैठकमा सहभागी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सेतोपाटीलाई बताए।
'प्रधानमन्त्रीले आराम गर्नुभएकाले बैठकमा नजानुभएको हो,' थापाले भने, 'दुई अध्यक्षको सहमतिमै प्रचण्डले बैठकको अध्यक्षता गर्नुभएको हो।'
प्रधानमन्त्री ओलीले एमसिसीलाई आफूले अगाडि बढाइसकेकाले आफ्ना तर्फबाट बोल्नुपर्ने केही नरहेको भन्दै बैठकमा सहभागी नभएको श्रोतको दाबी छ।
एमसिसीबारे छलफल गर्न कम्तिमा स्थायी समिति बैठक बोलाउन सुझाव दिएको सहभागी स्थायी समिति सदस्य लिलामणी पोखरेलले बताए। 'आजको बैठक एकदमै अनौपचारिक हो, गम्भीर कुरा भएन। यो ब्रिफिङ जस्तो मात्रै हो,' पोखरेलले भने
नेकपाभित्रको आन्तरिक विवादले एमसिसी परियोजना संसदबाट अनुमोदन हुन सकेको छैन। नेकपा वरिष्ठ नेता खनाल नेतृत्वको कार्यदलले एमसिसी परियोजना यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव दिएको छ। प्रधानमन्त्री ओली भने संसदको यही अधिवेशनबाट एमसिसी पारित गर्ने योजनामा छन्।
यसपटकको नीति तथा कार्यक्रममा समेत एमसिसी अन्तर्गतका आयोजना समावेश गरिएको छ।