गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली भाग्यमानी भएको बताएका छन्।
आइतबारदेखि सुरू भएको गण्डकी प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरूङले भने, ‘आज पनि सायद केपी ओली भाग्यमानी छन्, झन्डै मरिसकेको मान्छे बाँचेर आज हराएको सीमा फिर्ता ल्याउनु पर्ने रहेछ। त्यो अवसर उहाँलाई मिल्यो।’
नेपालले आफ्नो देशको पक्षमा केही गर्न लाग्यो कि भारतले नाकाबन्दी लगाउने गरेको उनले चर्चा गरे।
भारतले भने अनुसारको संविधान नबनाउँदा २०७२ सालमा नाकाबन्दी लगाएको दाबी गर्दै उनले त्यतिबेला तराईका दलहरू भारतको निर्देशनमा चलेको आरोप लगाए।
‘०७२ सालमा किन नाकाबन्दी लगाएको हामीलाई थाहा छैन,’ उनले भने, ‘हाम्रा ३ ठूला दल भारतले भनेको मान्नुभन्दा संविधान बनाउनु ठूलो भनेर संविधान बनाए त्यसपछि नाकाबन्दी लगाए।’
तराईका पार्टीलाई देखाएर भारतले संविधान बन्न नदिन चाहेको उनको भनाइ छ।
मुख्यमन्त्री गुरूङले यसअघि धेरै जना प्रधानमन्त्री भए पनि कसैले सीमाको मुद्दा अघि नबढाएको बताए।
‘नेपालमा कति जना प्रधानमन्त्री भए, मुख्तियार भीमसेन थापा पछि गन्नुस् त,’ उनले भने, ‘गिरिजाप्रसाद कति पटक भए, शेरबहादुर, प्रचण्ड, माधव नेपाल, झलनाथ, बाबुराम। राष्ट्रियताको मुद्दामा बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने त केपी ओली हो नि।’
प्रधानमन्त्री ओलीको विरोध गर्नेहरुले आफ्नो पालामा केही पनि नगरेको उनले दाबी गरे।
‘बाटो बनाउँदै गर्दा के हेरेथिस् भन्नेहरू आफूले केही नगर्ने, अरूले गर्दा कुरा काट्ने, यो हुँदैन,’ उनले भने।
मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री ओली नेपालको सपुत भएको दाबी गरे। ‘नेपालको एउटा सपुत हो केपी ओली भनेको,’ उनले भने, ‘इतिहासको जटिलतामा उहाँले आँट गर्नुभयो, सार्वभौम, समानता र न्यायको आधारमा, विदेश नीतिमा यो एउटा ‘डक्ट्रिन’ हो।’
यो डक्ट्रिन दक्षिण एसियाका अरू साना मुलुकलाई पनि काम लाग्ने गुरूङको तर्क छ।
सरकारले नयाँ नक्सा जारी गरेर ३३५ वर्ग किमी भूभाग नेपालको सीमाभित्र पारेपछि लामो कूटनीतिक लडाइँ सुरू भएको उनले बताए।
यतिबेला आफ्नो माटोको सुरक्षा, स्वाधीनता र स्वतन्त्रताका लागि कोही पनि कांग्रेस, कम्युनिष्ट, राजावादी नभई सबै नेपाली भएको उनले बताए। स्वाधिनताका लागि अभुतपूर्व एकता कायम भएको गुरूङको भनाइ छ।
यसअघि बैठकमा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भारतले लिपुलेक हुँदै मानसरोबर जाने बाटो बनाउँदै गरेको कुरा प्रधानमन्त्रीले थाहा पाइनँ भनेर बोलेकोमा खेद व्यक्त गरेका थिए। उनले भारतले जारी गरेको राजनीतिक नक्साले नेपालको राष्ट्रियतामा प्रहार भएको बताए।
सरकारले नक्सा जारी गरेपछि सबै दल, नागरिक समाज र आम नागरिकले स्वागत गरेको उनले बताए। संघीय संसदमा प्रधानमन्त्री ओलीले व्यक्त गरेको प्रतिवद्धताको स्वागत गर्दै उनले नेपाली काँग्रेस गण्डकी प्रदेश त्यसको साथमा रहने बताए।
यस्तै, राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्णबहादुर थापाले नेपालमा लेन्डुप दोर्जे जन्मने होकी भनेर आशंका व्यक्त गरे। कालापानीबाट भारतीय सेना हट्नुपर्छ भनेर सरकारले नक्सा जारी गरेको भन्दै उनले यसको आफ्नो दलले स्वागत गर्ने बताए।
समाजवादी जनता पार्टीका नेता हरिशरण आचार्यले पृथ्वीनाराण शाहले अर्काको भूमि कब्जा गरे पनि जनताको भावना समेट्न नसकेको बताए।
कोरोना रोकथाममा जोड
बैठकमा मुख्यमन्त्री गुरूङले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले गरेका कामबारे जानकारी गराए। सरकारले लकडाउन घोषणा गर्नुअघि नै गण्डकी प्रदेशले कोरोनाभाइरस रोकथामका लागि योजना बनाइसकेको दाबी गर्दै गुरूङले लकडाउन भएपछि प्रदेशलाई पनि रोकथाम र नियन्त्रणमा सहज भएको बताए।
प्रदेशमा विकास निर्माणका योजना वैशाखदेखि सुचारू गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरूङले थपे, ‘उद्योग र विकास निर्माणका काम विश्व स्वास्थ्य संगठनले भनेको मापदण्ड मानेर सुचारू गरेका छौं।’
गत वर्ष वैशाखसम्म ८ प्रतिशतमात्र पुँजीगत खर्च भएको जानकारी दिँदै उनले यस वर्ष फागुनसम्म २७ प्रतिशत खर्च गर्न सकेको बताए। उक्त खर्च सन्तोषजनक भएको उनको भनाइ छ।
‘हामीसँग काम गर्ने ४ महिना बाँकी नै थियो,’ गुरूङले भने, ‘लकडाउनका कारण बाँकी काम गर्न सकिएन।’
प्रदेशले लकडाउनमा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन आपूर्ति व्यवस्थापन समिति बनाएर काम गरेको उनले बताए।
कोरोनाभाइरस रोकथामका लागि मनाङ र मुस्ताङमा ३ बेडको र बाँकी जिल्ला अस्पतालमा ५ बेडको आइसियु स्थापना गरेको उनले जानकारी दिए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई १४-१४ दिनको फरकमा आलोपालो गर्ने गरी व्यवस्था मिलाएको समेत उनको भनाइ छ।
‘हामीले असारसम्म १० हजार नेपाली फर्कने गण्डकीमा आउने अनुमान गरेका छौं,’ उनले भने, ‘उनीहरूलाई राख्न क्वारेनटाइन बनाएका छौं र पिसिआर टेष्ट गर्न अर्को मेसिन मगाएका छौं।’
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आर्थिक क्षतिबाट जोगिन बृहत राहत कार्यक्रम ल्याउन माग गरे।
‘श्रमिक, बेरोजगार, पर्यटन व्यवसायी, उद्योगी, व्यवसायीलाई तत्काल बृहत राहत प्याकेज ल्याउनुपर्छ,’ उनले भने, ‘उनीहरू लकडाउनले सबैभन्दा मर्कामा परेका छन्।’
राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्णबहादुर थापाले लकडाउनका कारण मजदुर र बेरोजगारलाई गुजारा चलाउन मुस्किल परेको बताए। उनीहरूलाई सम्बोधन गर्न उनले प्रदेश सरकारसँग माग गरे। थापाले भारतको सीमानामा रोकिएका नेपाली ल्याउनुपर्ने बताए। एकल महिला र अपाङ्गलाई दिने भत्ता कटौती रोक्न नहुने उनले बताए।
जनता समाजवादी पार्टीका हरिशरण आचार्यले सरकार भ्रष्टाचारमा तल्लिन भएको आरोप लगाए। उनले सरकारका कारण लोकतन्त्र नै खतरामा परेको भन्दै कोरोनाका बेलामा समेत भ्रष्टाचार बढेको बताए।