नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। ज्यान गुमाएका ४ मध्ये तीन जनालाई कोरोना लागेको त उनीहरूले ज्यान गुमाएपछि मात्र थाहा भयो।
सोमबार संक्रमण पुष्टि भएका बाराका एक वृद्धको मृत्यु भएको ८ दिनपछि थाहा भयो-उनलाई कोरोना भएको रैछ।
बारा करैयामाई गाँउपालिका-७ का ७५ वर्षीय ती वृद्ध जेठ २ गते वीरगन्जस्थित नेसनल अस्पतालमा भर्ना भएका थिए।
उनलाई परिवारले एम्बुलेन्समा अस्पताल पुर्याएका थिए।
मृतकका जेठा छोरोले सोमबार सेतोपाटीसँग भने, ‘बुवा लडेर चोट लागेपछि ज्वरोले थलिनुभयो। त्यसपछि मैले नै एम्बुलेन्समा अस्पताल लगेको थिएँ।’
त्यसअघि बुवामा कुनै स्वास्थ्य समस्या नरहेको उनले बताए।
'बुवा सय केजीको अग्लो कदको हुनुहुन्थ्यो तर पनि मधुमेह प्रेसर केही थिएन। तीन केजी मासु खानुहुन्थ्यो। उहाँ आफैं स्वास्थ्य प्राविधिकबाट रिटार्यड व्यक्ति हो,' उनले भने।
अस्पताल पुगेपछि डाक्टरहरूले बिरामीको ट्राभल हिस्ट्री लिन थाले। उनले बुवा कतै बाहिर नगएको र संक्रमितको सम्पर्कमा नपुगेको सुनाए। त्यतिञ्जेल उनका बुवा कुराकानी गरिरहेका थिए।
त्यसपछि ती वृद्धलाई भेन्टिलेटरमा राखियो। उनमा ज्वरो समेत आएकाले तत्काल स्वाब झिकेर कोरोना परीक्षणको लागि नारायणी अस्पतालमा रहेको प्रयोगशालामा पठाइयो।
जेठ ४ गते अस्पतालले वृद्धको मृत्यु भएको खबर उनका जेठा छोरालाई सुनायो।
एकातिर दुई दिन बितिसक्दा पनि उनको कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, अर्कातिर अस्पतालले शव आफन्तलाई जिम्मा लगाइदियो।
कोरोनाबाट मृत्यु भएका व्यक्तिबाट अरूमा संक्रमण नफैलियोस् भनेर अन्तिम संस्कार कसरी गर्ने भनेर सरकारले कार्यविधि नै बनाएको छ। त्यसरी अन्तिम संस्कार गर्दा सुरक्षाका केही मापदण्डहरू अपनाउनु पर्छ।
अस्पतालले नै कोरोना संक्रमण हुन सक्ने सम्भावनाको ख्याल नै नगरी शव दिएपछि जेठा छोराले बुवाको अन्तिम संस्कार गाउँमै गर्ने निर्णय गरे। बुवाको शवलाई गाउँ नै ल्याए र हिन्दु संस्कारअनुसार जलाए।
आफ्ना बुवाको दाहसंस्कारमा ५० जना जति मान्छे सहभागी भएको उनले जानकारी दिए।
‘संक्रमण पुष्टि भएको थाहा पाए हामी बुवाको शव घर ल्याउँदैनथ्यौं,’ उनले भने,‘तर अस्पतालले त हामीलाई केही नभएजसरी शव जिम्मा लगाइदियो।’
नेसनल अस्पतालका सञ्चालक बसुरूद्दिन अन्सारीले मृतकमा कोरोनाको शंका नलागेकाले रिपोर्ट नआउँदै परिवारलाई शव जिम्मा लगाएको बताए। 'उहाँको हिस्ट्री देखिएन त्यसैले शंका नलागेका कारण शव परिवारलाई बुझाएका हौं,' उनले सेतोपाटीसँग भने।
रिपोर्ट आउन ढिला भएकाले पनि शव परिवारलाई बुझाउनु परेको उनको तर्क छ।
'हामीले स्वाब २ गते नै पठाएका हौं। तर १० दिनपछि नतिजा आउँछ। खै मैले त केही बुझेको छैन,' उनले भने।
बिरामीको स्वाब जेठ २ गते बेलुका प्रयोगशाला आइपुगेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए।
'उहाँको स्वाब बेलुका आइपुग्यो। मेसिनमा अरू स्वाब प्रोसेसिङ भइरहेकाले तत्काल हाल्न सकिएन। ४ गते स्वाबलाई रन गर्यौं,' उनले भने, '५ गते नतिजा शंकास्पद आयो। फेरि क्रस चेक गर्यौं र त्यो पनि शंकास्पद आएपछि ७ गते काठमाडौं पठायौं।'
टेकुमा पनि क्रस जाँच गर्दा संक्रमण पोजेटिभ देखिएको हो।
कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराएको छैन।
नेसनल अस्पतालका सञ्चालक अन्सारीले अस्पतालबाट गल्ती भएको स्वीकार्दै प्रशासन र सरकारले गरेको निर्णय आफूले मान्ने बताए।
'अहिले तत्काल अस्पतालमा बिरामी नलिनु भन्ने निर्देशन आएको छ। हामीले सेवा बन्द गरेका छौं। बाँकी उहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यो हामी स्वीकार्छौं,' उनले भने।
अस्पतालले लापरवाही गरेकोबारे जिल्ला स्तरीय छलफलको तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। उनले अस्पताललाई अनुसन्धान गर्ने विषयबारे जिल्ला प्रहरी प्रमुखसहितको टोलीले निर्णय गर्ने बताए।
कोरोना संक्रमण पुष्टि भएपछि मृतकको घरमा पनि प्रहरी पुगेको छ।