प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार राति सकिएको बैठकले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य गगन थापाले बताए।
सरकारले यसअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक नक्सा जारी गरिसकेको छ। उक्त नक्सालाई निशान छापमा समावेश गर्न संविधान संशोधन गर्न लागिएको हो।
‘सरकारद्वारा प्रस्तुत संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने।
प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्। अब संविधान संशोधनका लागि सरकारलाई आवश्यक पर्ने दुई तिहाइ मत पुग्ने देखिएको छ।
सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरिसकेको छ। प्रतिनिधिसभा संसद सचिवालयका अनुसार आइतबारको बैठकमा सम्भवत संविधान संशोधन प्रस्ताव टेबुल हुनेछ।